१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

यस्ता छन् शिक्षा क्षेत्रमा ज्ञवालीका योगदान

कुशल प्रशासक, समाजसेवी, व्यावसायिक पत्रकारिताका प्रवद्र्धक र लेखकका रुपमा परिचित हेमराज ज्ञवाली शैक्षिक क्षेत्रमा फड्को मारोस् भन्ने चिन्तन लिने शैक्षिक धरोहरका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन।

समाजमा शिक्षाको चेतना र आम किसानको पहुँचमा शिक्षा नभएको समय ज्ञवालीले बर्दियाको शिक्षा क्षेत्रको विकासमा महत्वपूण योगदान दिएका थिए। त्यसबाट बाँसगढी नगरपालिकाका हजारौं छात्र र छात्राले लाभ लिइरहेका छन्।

पिता भुवनेश्वर र माता पूर्णकुमारीका कोखबाट गुल्मीको मानकोटमा विसं १९९५ चैत्र १७ गते ज्ञवालीको जन्म भएको हो। उनको निधन २०७५ असोज २७ गते भएको थियो।

पूर्व प्रशासक रहँदा ज्ञवालीले देशको आधा दर्जन बढी जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रुपमा काम गरे। याे उनको कुशल प्रशासक अर्को छवि हो।

भन्सार विभागको डाइरेक्टर पदबाट सरकारी सेवाको बिट मारेका ज्ञवाली शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्ने धेरै छन्। नेपाल रिपब्लिक मिडिया / कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष उनले बर्दियाको बाँसगढी क्षेत्रमा शिक्षा प्रबद्धन गरेका थिए। शिक्षा क्षेत्रमा लाइबेरी स्थापना देखि क्याम्पस र विद्यालयमा निजी लगानी गर्दा अन्यत्र भन्दा बाँसगढीमा शिक्षा क्षेत्र अब्बल भएको श्रेय ज्ञवालीलाई जान्छ।

उनले बासगढी नगरपालिका –८ लछुमनामा आमाहरुको नाममा विद्यालय संचालन गरेका थिए। स्वर्गीय आमाहरूका नाउँमा २०४४ सालमा संचालनमा ल्याएको पूर्णहीरा प्राथमिक विद्यालय मार्फत बासगढीको शिक्षा क्षेत्र फराकिलो बनेको छ।

विद्यालयको नाममा स्वर्गीय ज्ञवाली र भाइ दिनानाथ ज्ञवालीले विद्यालयको स्थापनाको लागि एक/एक बिघा जग्गा दान गरेका थिए। उक्त प्राथमिक विद्यालयले स्तरोन्नति हुँदै प्राविधिक शिक्षालय मार्फत दक्ष जनशक्ति तयार गरिरहेको छ।

प्राथमिक विद्यालय सुरुमा ६ कोठे भवनबाट सुरु भएको थियो। हाल सरकारी सहयोग र ज्ञवालीका कान्छा सुपुत्र विनोद ज्ञवालीको पहलमा पूर्वाधार बन्दा विद्यालय भौतिक पूर्वाधारले सम्पन्न भएको देखिन्छ।

शिक्षा क्षेत्रमा गरेको योगदानले हजारौँ छात्र र छात्रा शिक्षाको उज्यालोमा रहेको विद्यालयका प्रअ गोपाल सुबेदीले स्मरण गर्छन्। ‘स्वर्गीय आमाहरुको सम्झना विद्यालय स्थापना भयो’ उनी भन्छन्,‘त्यही शिक्षाको उज्यालो यस क्षेत्रका विद्यार्थीको घर-घर भित्र पसेको छ।’

ज्ञवाली परिवारबाट विद्यालयमा भइरहेको निरन्तर सहयोगले विद्यालयले गति लिन सहज भएको प्रअ सिग्देलको भनाई छ। यसअघि ज्ञवालीले शिक्षाको विकासको लागि सामुदायिक विद्यालयको नेतृत्व गरिसकेका थिए।

बासगढी नगरपालिका ककौरास्थित त्रिभुवन माध्यमिक विद्यालय २०४५ सालको समयमा संचालक समितिको अध्यक्ष पदमा रहेर काम गरेका थिए। तत्कालीन समय त्यस क्षेत्रमा एक मात्र सामुदायिक माध्यमिक विद्यालय थियो। अहिले त्यो विद्यालय यस क्षेत्रको पुरानो र अब्बल विद्यालय भनेर चिनिन्छ।

दक्ष जनशक्ति विद्यालयमा भित्राएर सम्पूर्ण कोर्षको उच्च शिक्षासम्म पढाई भइरहेको छ। उक्त विद्यालयमा अमेरिकी सहयोगमा रीडको सहायतामा सामुदायिक पुस्तकालय स्थापना भएको थियो।

उनले नेतृत्व गरिरहेको अवस्थामा अमेरिकी संस्था रीड नेपालको सहयोगमा पुस्तकालय स्थापना उनले गरेको प्रयास अतुलनीय भएको स्मरण गर्छन्। विद्यालयको उत्तर तर्फ स्थापना भएको पुस्तकालय चालु अवस्थामा छ। ४० वर्ष अघि कम्प्युटर र फोटोकपी सहितको पुस्तकालय पश्चिम तराईमा एक मात्र थियो।

त्यतिबेला लछुमनामा चल्ने क्याम्पस लछुमनामा भवन नभएकोले ककौरामा चलेको थियो।  लछुमनामा भवन बनाई क्याम्पस संचालन गर्नका लागि त्यति बेला ज्ञवालीले लगानी गरेका थिए।

क्याम्पसका सञ्चालनका लागि सरकारी सहयोग जुटाएको चर्चा गरिन्छ। यति बेला लछुमनामा प्राविधिक शिक्षा र क्याम्पस चल्तीमा छन्। क्याम्पसमा स्नातक तहसम्म पढाई भइरहेको छ।

व्यावसायिक, निष्पक्ष र प्रभावकारी पत्रकारिताको पक्षमा नियमित वकालत गरेका ज्ञवाली समाजसेवीका रुपमा पनि चिनिन्छन्। शिक्षा क्षेत्रमा उनको विशेष रुचि थियो।

आफ्नो गृह जिल्ला बर्दियामा विद्यालय स्थापना, सञ्चालन, शैक्षिक भौतिक पूर्वाधार निर्माणलगायतमा उनी सहभागी छन्। शैक्षिक क्षेत्रमा मात्र योगदान नभई धार्मिक क्षेत्रमा ज्ञवालीको योगदान छ। उनले लछुमनामा शिव मन्दिरको स्थापना गरेका थिए। मन्दिरका नियमित सञ्चालनका लागि जग्गाको व्यवस्थापन खटिएर योगदान पुराएको चर्चा गर्दे स्थानीय राम गोपाल चौधरीले स्मरण गर्छन्।

शुक्रबार शिवरात्रीका अवसरमा बाँसगढी नगरपालिका-८ लछुमनास्थित शिव मन्दिरपरिसरमा ज्ञवालीको सालिक स्थापना गरिएको छ। उक्त मन्दिर हेमराजका कान्छा सुपुत्र तथा नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवाली र स्थानीय समाजसेवीको संयुक्त सहयोगमा पुनर्निर्माण गरिएको हो।

प्रकाशित: २६ फाल्गुन २०८० १८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App