२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

२२ वर्षपछि बल्ल बन्यो माओवादीले भत्काएको पुल

कालिकोटको खाँडाचक्र नगरपालिका–२ झाम्लामोडको डाँडादेखि शुभकालिका– २ छहरा जोड्ने झोलुंगे पुल बनेपछि यहाँका नागरिकलाई सहज भएको छ। पुल बनेपछि दैनिक एक घण्टाको दुरी घटेको स्थानीयको भनाइ छ। पुल नहुँदा सेरिघाटको पक्की पुल हुँदै मान्म पुग्ने गरेको जीवन मल्लले बताए। अहिले उनीहरू छोटो दुरीको पुलको बाटो हुँदै आवतजावत गर्ने गरेका छन्।

पोरीपाल्नीबाट डेढ घण्टा पैदल हिँड्नुपर्ने बाटो पुल बनेपछि एक घण्टामै पुगिने स्थानीय कल्पना मल्लले बताइन्। यहाँ पुल बनेपछि पोरीपाल्नी गाउँबाट कक्षा ९ र १० मा पढ्न मान्म आउने ३७ जना विद्यार्थीलाई पनि सहज भएको छ। तिलानदीको करिब तीन सय मिटर उचाइ र ६ सय मिटर लम्बाइ रहेको झाम्लामोड झोलुंगे पुल कालिकोटकै सबैभन्दा अग्लो दुरीमा बनेको पुल हो। यस पुलमा टिकटक बनाउनेको भीड लाग्ने गरेको खाडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए। उनले खोलानदी तर्न र डाँडाकाँडा जोड्न पुलले सहज बनाएको सुनाए।

२०५८ सालको संकटकालमा माओवादीले तिला नदीको सेरिघाट पुल रसायन प्रयोग गरी काटेर आवागमन ठप्प पारेपछि सडक निर्माण कार्य दलले २०६२ मा फलामे बेलिब्रिज बनाएको थियो। कर्णाली राजमार्गको बाटो हुँदै सेरिघाटको पुलबाट जान लामो दुरी पर्ने गुनासो आएपछि झाम्लामोड र पोरीपाल्नी जोड्न झोलुंगे पुल बनेको हो।

पुल बनेपछि बालबालिकालाई विद्यालय जान मात्र सहज भएको छैन, स्थानीयलाई घट्ट जान र खानेपानी भर्न पनि सहज भएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार तिला नदीमा झोलुंगे पुल बनेपछि शुभकालिका गाउँपालिकाका स्थानीयलाई कर्णाली राजमार्ग पुगेर सदरमुकाम मान्म आउजाउ गर्न पनि सहज भएको छ।

नदीको पुल काटिएपछि रेगिलपारि जाइकोटका बालबालिका नदीवारिको विद्यालय आउन नसक्दा दुई घण्टाको उकालो काटेर सेरिज्युला पुग्ने गर्थे। हिजोआज १० मिनेटमै कर्णाली मावि रेंगिल पुग्छन्। पुल बनेदेखि त टाढाको विद्यालय जानुपर्दैन। जाइकोटका नमराज विकले भने, ‘पहिले त उकालोओरालो हिँड्दै हातखुट्टा गल्थे। स्थानीयलाई पनि निकै सास्ती थियो।

२०५७ मंसिर १३ गते राति इलाका प्रहरी कार्यालय कोटबाडा आक्रमण गर्ने क्रममा सदरमुकाम मान्मबाट थप सेना र प्रहरी गाउँ आउन नसकून् भनेर माओवादीले रसायन प्रयोग गरी रेंगिल, लालीघाट, भात्तडीसहित कर्णाली नदीमाथिका झोलुंगे पुल काटेको थियो। पुल काटिएपछि स्थानीयले माओवादीको अनुमतिमा बाबियाको डोरीको तुइन बनाएर नदी वारपारको जोहो गरे। तुइन तर्ने क्रममा स्थानीय प्रभाजित रोकायासहित ५ जना कर्णाली नदीमा बेपत्ता भएका थिए। माओवादीले सदरमुकाम मान्मबाट गस्तीमा आउने सेनाले दुःख दिएको जनाउँदै तिला नदीमाथिका राराघाट, सेरिघाट र लासीको पुल पनि काटे।

पुल काटिएपछि सशस्त्र द्वन्द्वको बेला कर्णाली र तिला नदी वारपार गर्ने तुइन एक मात्र साधन बन्यो। नदी तर्न बाबियाको डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भए पनि शान्ति प्रक्रिया सुरु भएकपछि केही ठाउँमा सुधारिएको तुइन निर्माण गरियो।

बाबियाको डोरी चँुडिँदा कर्णाली नदीको भात्तडी, रेंगिल, लालीघाट, तिलानदीको कालापहारामा बनाइएका १२ जनाले ज्यान गुमाए। कर्णाली नदीको खुलालु सुधारिएको तुइनबाट खसेर एक जना बेपत्ता भए। जिल्लाभर बनाइएका फलामे सुधारिएका तुइनको लट्ठाले जिल्लाभरका ४४तजष्कचतथाष्खभब्ःए४ जनाको हातका औंला काटिएका छन्। अधिकतर बालबालिकाका औंला च्यापिएर काटिएको खुलालुका स्थानीय वसन्त विश्वकर्माले बताए।

दुर्गम क्षेत्र विकास समिति, स्थानीय विकास मन्त्रालयअन्तर्गत झोलुंगे पुल महाशाखा, हेल्भेटास, हुरेन्डेक, कादुरीलगायतको सहयोगमा कालीकोटमा शान्ति प्रक्रिया सुरु भएपछि मात्र ६८ वटा पुल बनेको कर्णाली प्रदेश प्रादेशिक सेवाप्रदायक संस्था हुरेन्डेक, सेवक जेभीका कार्यक्रम संयोजक प्रयागराज आचार्यले बताए।

कालीकोटमा हालसम्म ७८ वटा पुल निर्माण भइसकेका छन् भने १८ वटा पुल निर्माणाधीन अवस्थामा छन्। आगामी वर्षका लागि १२ वटा पुल प्रस्तावित छन्। कर्णालीको भूगोल, दुरी, पुलको लम्बाइअनुसार झोलुंगे पुल बनाउन २० देखि एक करोड रूपैयाँसम्म लाग्ने गरेको छ। डोल्पामा ढुवानी महँगो पर्ने भएकाले प्रतिपुल एक करोड रूपैयाँमा सम्पन्न भए पनि कालीकोटमा ४० लाखदेखि ७५ लाख रूपैयाँ झोलुंगे पुल निर्माणको लागत हुने गरेको छ।

हाल कालिकोटको खुलालु, भात्तडी, लालीघाट, जिते, लाफा, पान्तडी, पिली, भिग्मलगायत ठाउँमा तिला र कर्णाली नदीका पुरै तुइन विस्थापित भइसकेका छन् भने रहगाड, सान्नीगाड, फुगाड, तिपगाड, भर्तागाड, बालीगाड, झ्यागाडलगायत खोलामा पनि दर्जनौं झोलुंगे पुल बनेका छन्। कालिकोटमा सानाठूला गरी १९ सडक पुल निर्माण भएका छन्। पक्की पुलको लागत ५० करोड रूपैयाँ बढी छ।

कर्णाली राजमार्गको दैखोला, कालेखोला, सेरिघाट, माथिल्लो सेरिघाट, सिम्लागाड, चौखोला, टाकुल्ला, बाली, तल्लो र माथिल्लो खल्लागाड र छिडेनामा पक्की पुल निर्माण भएका छन्। कर्णाली राजमार्गसँग चिल्खाया जोड्न निर्मित भैंसेगौडा पक्की पुल गत वर्ष नै बाढीले बगाए पनि हालसम्म निर्माण सुरु हुन सकेको छैन। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए।

त्यस्तै, कर्णाली करिडोरअन्तर्गत खुलालुमा गत वर्ष पक्की पुल निर्माण सम्पन्न भएको छ भने करिडोरमा पर्ने विभिन्न सातवटा साना खोलामा पनि पुल बनेका छन्। गत असोजको वर्षाले क्षतिग्रस्त बनाएका शुभकालिकाको हाउडी, नरहरिनाथको रहगाड पुल अझै मर्मत हुन नसकेको स्थानीयको गुनासो छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App