१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोही–किसान–सरकार वार्ताको तयारी

स्वर्गद्वारी आश्रमको मोही जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनरत किसानसँग सरकारले वार्ता गने भएको छ। सरकारले बनाएको वार्ता टोलीले आइतबार किसानसँग वार्ता गर्ने तयारी गरेको हो।

सरकारले बिहीबार भूमि व्यवस्थापन, सहरी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।

सदस्यमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङका मालपोत अधिकृत तथा गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एकएकजना प्रतिनिधि रहेका छन्। सरकारले गठन गरेको वार्ता समितिका संयोजक सापकोटा जिल्ला आएपछि वार्ता हुने दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।

वार्ता टोली शनिबार आइपुग्ने र आइतबार वार्ता सुरु हुने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए। यता आन्दोलनरत किसानहरूले भने आन्दोलन जारी राखेका छन्।

सरकारले आफूहरूलाई वार्ताका लागि औपचारिक जानकारी नगराएकाले आन्दोलन जारी राखिएको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङ देउखुरीका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए। ‘सरकारले हामीलाई औपचारिक रुपमा केही जानकारी दिएको छैन’, अध्यक्ष चौधरीले भने।

समाचारमा वार्ता समिति बनेको भनिए पनि आफूहरूलाई आधिकारिक जानकारी आइनपुगेको उनको भनाइ छ। वार्तामा बोलाएमा आफूहरू वार्तामा बस्न तयार रहेको समेत उनले बताए। तर वार्तासँगै आन्दोलन पनि जारी राखिने उनले बताए।

‘हामी आन्दोलन र वार्ता सँगसँगै अगाडि बढाउने छौं’, अध्यक्ष चौधरीले भने, ‘आन्दोलन नै रोकेर वार्तामा जाँदैनौं।’ स्वर्गद्वारी आश्रमका मोही किसानले ८ गतेदेखि आन्दोलन गरिरहेका छन्। आश्रमको जग्गामा एकल स्वामित्वको माग गर्दै उनीहरूले घोराहीमा आन्दोलन थालेका हुन्।

प्रकाशित: १८ फाल्गुन २०८० १८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App