१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हिँड्न समेत प्रतिबन्ध लगाइएका फुटपाथ खुला गरिए

चौतर्फी दबाब आएपछि स्थानीय प्रशासनले सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास वरपरका फुटपाथमा हिँड्न लगाएको प्रतिबन्ध हटाएको छ।

लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबारदेखि सिंहदरबार र संघीय संसद् भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको थियो।

सोमबार पीडितहरू संसद् भवन परिसर भित्र छिरेर नारा जुलुस गरेपछि सरकारले सुरक्षा संवेदनशीलता भन्दै यी क्षेत्रमा हिँड्न प्रतिबन्ध लगाएको हो। मंगलबार सिंहदरबार अगाडीका फुटपाथमा निषेधित क्षेत्र लेखिएको तुलहरू टाँगिएका थिए। यसैगरी नयाँबानेश्वरस्थित संसद् भवन फुटपाथमा समेत डोरी टाँगिएको थियो।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद शर्माले तत्कालका लागि मात्र त्यस्तो गरिएकाले हाल हटाइएको जानकारी दिए। ‘त्यो तत्कालको सुरक्षा अवस्था हेरेर गरिएको हो, अहिले हिँड्न नपाइने भन्ने छैन’, उनले नागरिकन्यूजसँग भने।

अधिकारीका अनुसार ती क्षेत्रमा सधैँका लागि सभा, प्रदर्शनलगायत  गर्नका लागि निषेधित छन्। ‘तर पैदल यात्रुहरू सजिलै हिँडडुल गर्न सक्नु हुन्छ, सर्वसाधारणलाई रोकिएको छैन’, उनले भने।

गत सोमबार प्रहरीले लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोडेको र संसद् भवन परिसरबाट पक्राउ गरेको थियो। उक्त घटनामा ४९ जना प्रदर्शनकारी पक्राउ परेका थिए। उनीहरू विरुद्ध प्रहरीले मुद्दा चलाइरहेको छ। पक्राउ पर्नेहरूमा ४८ जना महिला र एक जना पुरुष छन्।

पीडितहरू संसद् भवन परिसर भित्र छिरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यही दिन साँझ तीन वटै सुरक्षा निकाय प्रमुखहरूलाई गृह मन्त्रालयमा डाँकेर छलफल गरेका थिए। उनले सुरक्षा संवेदनशील क्षेत्रमा कसरी प्रदर्शनकारीहरू पुगेरु भन्दे सुरक्षा प्रमुखहरूलाई प्रश्न गरेका थिए।

यस घटनापछि गृह मन्त्रालयले त्यहाँ खटिने सुरक्षाकर्मीहरू सहित ३२ जनाको जिम्मेवारी समेत खोसेको थियो। जिम्मेवारी मात्र यो घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति समेत गठन गरिएको छ।

प्रकाशित: १७ फाल्गुन २०८० १७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App