१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखराको नयाँ मापदण्डः पाँचतला भन्दा अग्ला घर बनाउन पाइने, तर लिफ्ट राख्नैपर्ने

पोखरा सहर। पोखरामा पाँचतला भन्दा अग्ला घर बनाउँदा अबदेखि लिफ्ट अनिवार्य गरिएको छ। तस्बिरः नागरिक

पोखरा महानगरभित्र पाँचतला वा १७ मिटर भन्दा अग्ला घर बनाउँदा लिफ्ट अनिवार्य गरिएको छ। त्यसले गर्दा अब बन्ने सबै अग्ला भवनमा लिफ्ट जडान हुनेछन्।  

महानगरले गत शुक्रबार प्रकाशित गरेको राजपत्रमा पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० मा सर्वसाधारणको भीडभाड हुने देखि विद्यालय र अस्पतालसम्मका पाँचतला भन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य गरिएको हो। त्यसबाहेक अग्ला भवन बनाउँदा माटो परीक्षण पनि अनिवार्य गरिएको मापदण्डमा उल्लेख छ।  

महानगरका घरनक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले पाँचतला वा १७ मिटर भन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य गरिएको बताए। उनका अनुसार अघिल्लो मापदण्डमा पनि अग्ला भवनमा लिफ्ट हुनुपर्ने उल्लेख थियो। तर, पाँचतला भनेर तोकिएको भने यो पहिलो पटक रहेको उनले बताए। ‘पाँचतला भन्दा भग्ला भवनमा उक्लिन पनि सहज हुँदैन। त्यसैले अग्ला भवनमा लिफ्ट चाहिने भनिएको हो,’ उनले भने, ‘मान्छेको बढी आउजाउ र भीडभाड हुने भवनमा लिफ्ट चाहिन्छ।’

पौडेलका अनुसार सर्बसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङहोम, होटल, रिसोर्ट आदि भवन बनाउँदा माटो परिक्षण गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ। अग्ला भवन बनाउँदा संरचनात्मक योजना प्रतिवेदन पेश गर्नुपर्ने पनि मापदण्डमा उल्लेख गरिएको पौडेलले बताए।  

त्यसैगरि तीनहजार वर्ग फिट भन्दा बढी पिँधको क्षेत्रफल भएका भवनको भौगर्भिक परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने गरि नयाँ मापदण्डमा तोकिएको छ । पाँचतला भन्दा अग्ला सबै प्रकारका भवन निर्माण गर्दा उक्त स्थानको भौगर्भिक परिक्षण लगायतका प्राबिधिक पक्षको बिस्तृत अध्ययन गरि प्राबिधिक समितिको सिफारिसमा महानगरपालिकाको पूर्व स्वीकृती लिएर मात्र निर्माण गर्नुपर्ने पनि मापदण्डमा तोकिएको छ।  

पोखरामा यसअघि साढे ३ तला भन्दा अग्ला घर बनाउन नपाइने मापदण्डलाई परिमार्जन गर्दै पाँचतलासम्मको घर बनाउन पाइने मापदण्ड लागु गरिएको छ। इन्जिनियर पौडेलका अनुसार यसअघिको मापदण्डले साढे ३ तलासम्मको मात्र उचाई तोकेकोमा अब भने जग्गाको क्षेत्रफल अनुसार अग्ला भवन पनि बनाउने पाइने गरि खुला गरिएको छ।  

‘यसअघि उचाईलाई आधार बनाएर मापदण्ड बनाइएको थियो। तर, अब भने क्षेत्रफल बढी भएमा घर पनि अग्लो बनाउन पाइनेछ,’ उनले भने, ‘पाँचतला भन्दा अग्ला घर पनि बनाउन पाइन्छ। तर, ग्राउण्ड कभरेज हेरिन्छ। अहिले पोखरामा पाँचतला भन्दा अग्ला घर पनि बनेका छन । ती सबै जग्गाको ग्राउन्ड कभरेजले सम्भव भएको हो।’ पोखरामा पछिल्लो समय पाँचतला भन्दा अग्ला होटल, अपार्टमेन्ट लगायतका बनिसकेका छन।  

त्यसैगरि व्यापारिक र आवासीय भवन बनाउँदा अधिकतम् ग्राउन्ड कभरेज (जमिनमा भवनले ओगटेको क्षेत्रफल) ७० प्रतिशत र भूँइक्षेत्रको अनुपात (फार) ३.५ हुनुपर्ने उल्लेख छ। त्यसैगरि संयुक्त आवास, भवन, अपार्टमेन्ट, होटल बनाउँदा अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत र फार ४ हुनुपर्ने उल्लेख छ। व्यावपारिक तथा संस्थागत भवन (सुपरमार्केट)को अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत र फार ३ हुनुपर्ने, शैक्षिक संस्था र अस्पताल, नर्सिङहोम र पोलिक्लिनिकको अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत र फार २.५ हुनुपर्ने नयाँ मापदण्डमा तोकिएको छ।  

यसअघि तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्व समितिले पहिलोपटक २०३१ सालमा पोखराको घर तथा भवन मापदण्ड तय गरेको थियो। उक्त मापदण्ड पुनरवलोकन हुनुपर्ने भन्दै बेलाबेला गुनासो आउन थालेपछि २०५७ मा अध्ययन भएको थियो। तर, त्यो अध्ययनले पनि पाठककै नेतृत्वमा तोकिएको मापदण्डले निरन्तरता दिएको थियो । त्यही अनुसार साढे ३ तलासम्मको भवन बनाउन पोखरा महानगरले यसअघि स्वीकृति दिँदै आएको थियो। पछिल्लो समय पोखरा महानगरपालिकाले २०७५ असोजमा इन्जिनियर प्राडा भरतराज पहारीको संयोजकत्वमा भवन मापदण्ड पुनरवलोकन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनको आधारमा नयाँ मापदण्ड लागु गरेको महानगरले बताएको छ।  

महानगरले अहिलेसम्म साढे ३ तलासम्मका अग्ला भवन मात्र बनाउन पाउने गरि मापदण्ड तोकेको भएपनि त्यसभन्दा अग्ला घर बनिसकेका छ। महानगरको अनुमानमा पोखरामा मापदण्ड विपरित ५ हजार भन्दा बढी भवन बनिसकेका छन। १० तलाको भवनमात्रै १९ वटा बनेको महानगरको भनाई छ। निर्माण सम्पन्न भएपनि महानगरले निर्माण सम्पन्नको कागज पनि नदिने र कारवाही पनि नगर्ने गर्दा त्यसको विरोध हुँदै आएको थियो। सोहि कारण पोखरेली अगुवाहरुले भवन मापदण्ड पुनरवलोकन गरेर राजश्व लिई बैधानिक बनाउन दवाब दिदै आएका थिए।

प्रकाशित: १५ फाल्गुन २०८० १६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App