न त सिमाना छ, न त नागरिकता
न त उसको खेतीपाती, न त तलबभत्ता।
हुन त उनी पनि जंगली हात्तीपीडित हुन्। हात्तीको जीवन रक्षाका लागि झापा कचनाकवलका शिव गन्धर्वले सारंगीमा चेतनमूलक गीत सुनाउँदै हिँडेको थुप्रै भइसक्यो। सारंगीकाो भाकासँगै हात्ती जोगाउने अभियानमा निरन्तर जुटेका उनले मानव र हात्ती दुवैको अस्तित्व उत्तिकै जरुरी रहेको सुनाए।
‘हात्ती प्रकृतिको सुन्दर उपहार हो,’ उनी भन्छन्, ‘हात्तीलाई खेद्ने, मार्नेभन्दा पनि होसियारी अपनाउँदै दुवै जोगिनु राम्रो हुन्छ।’
बुधबारबाट कोसी प्रदेशको हात्ती प्रभावित क्षेत्रमा हजारौं अंगभंग भएका छन्। सयौंको मृत्यु भएको छ। अरवौको बालीनाली नोक्सान भएको छ। र पनि हात्तीप्रति सहानुभूति राख्नेका कुनै कमी छैन। यस्तो, सकारात्मक सोच राख्ने अर्को जीवन्त उदाहरण हुन् ७७ वर्षीय कृष्णमाया लिम्बू। जंगली हात्तीले उनको घर दुईपटक भत्काइसक्यो। खेतमा लगाएको बाली मात्र हैन, भकारीको अन्न पनि दर्जनौंपटक फोरिसक्यो। चिनिजानेका सयौंलाई घाइते बनायो। दर्जनौंलाई मार्यो र पनि कृष्णमायालाई हात्तीप्रति कुनै गुनासो छैन।
‘बडेमानको जिउ छ भोकाएर र त होला गाउँ छिरेको,’ हात्ती प्रभावित क्षेत्र झापाकी लिम्बूले भनिन्, ‘हात्तीको पो को छ र ?’ जंगल फडानीसँगै हात्तीको आहारा सकिएकाले हात्ती गाउँ पसेको भन्ने धेरैको बुझाइ छ। जंगलमै खानेकुरा प्रशस्त हुन्थ्यो भने हात्तीको क्षति कम हुने उनीहरूको विश्वास छ।
‘हात्ती क्षति पुर्याउन आएको हैन, बाँच्न आएको हो,’ ६४ वर्षीय लिलावति राईले भनिन्, ‘बालबच्चाजस्तै हामीलाई हात्तीको पनि माया लाग्छ।’
हात्तीको परम्परागत जैविक मार्गको पुनः स्थापना तथा वासस्थानको संरक्षण एवं मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसाथ कोसी प्रदेशले बुधवारबाट सुरु गरेको पदयात्रा कार्यक्रममा भेटिएका अधिंकास सहभागीले हात्ती र मानिस दुवै सुरक्षित हुनुपर्ने सुनाए। सर्वसाधारण मात्र हैन, जनप्रतिनिधि पनि हात्ती र जनता दुवैलाई बचाउने अभियानमा लागेका छन्।
केही समयअघि मात्र हात्ती प्रभावित क्षेत्रका पालिकाले हात्तीमैत्री वातावरण निर्माण गर्न तथा वन क्षेत्रलाई पर्यापर्यटनको रूपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार, सङ्घीय सरकार समेतलाई ध्यानाकर्षण गराउने लगायतका चार बुँदे संयुक्त घोषणापत्र जारी गरेका थिए। झापाको हात्ती प्रभावित पालिकाहरूका प्रमुख तथा प्रदेश सभा सदस्यको छलफलले सो घोषणापत्र जारी गरेको हो।
‘हात्तीसँग दुस्मनी गरेर होइन, सहअस्तित्वलाई स्वीकार गरेर अगाडी बढ्नु जरुरी छ,’ मेचीनगर–४ का अध्यक्ष अर्जुनकुमार कार्कीले भने अब हामी मानव–हात्तीबीच मैत्रीपूर्ण वातावरण बनाउने प्रयासमा लागेका छौं।’ हात्ती र मान्छेबिच यो अन्तरद्वन्द्वले समाधानको बाटो खोजेको उनले बताए। दुवैले बाँच्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ छ।
मुख्यमन्त्रीको पदयात्राको क्रममा स्थानीयले आफूले पाएको सास्ती मात्र हैन, हात्ती र मानव दुवैको संरक्षण गर्ने उपाय पनि सुझाए। भेटिएकामध्ये अधिकांशले हात्तीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए। मुख्यमन्त्री कार्कीले यात्राको क्रममा हात्ती पीडितहरूले हात्तीसँग रिस गर्नेभन्दा पनि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता जनाएको सुनाए।
हात्तीले बालीनाली खान थाल्दा धपाउन जानु परेन भने ज्यान बच्ने उनीहरूको बुझाइ छ,’ उनले भने, ‘बालीनालीको पूर्ण क्षतिपूर्ति दियो भने समस्या केही हदसम्म सम्बोधन हुनेछ।’
हात्ती र मान्छे दुवै जोगाउने प्रदेशको यो अभियानलाई केन्द्र सरकारले पनि साथ दिने संघीय वनमन्त्री वीरेन्द्र महतोले बताएका छन्। मानिस र हात्ती दुवैको सहअस्तित्वलाई स्वीकार गर्दै चालिएको यो कदम निकै प्रेरणादायक रहेको उनले बताएका छन्।
सदियौँदेखि दक्षिण एसियाको नेपाल र भारतको आसाम तथा पश्चिम बंगाल क्षेत्रमा सयकडौंको संख्यामा एसियाली हात्तीको प्राकृतिक बासस्थानमा विचरण गर्दै आएका छन्। यी हात्तीहरू बर्सेनि भारतको आसामबाट मेची नदी पार गरी झापा जिल्लाको बाहुन डाँगीबाट नेपाल प्रवेश गर्दै कोसी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने गरेका छन्।
मुख्यमन्त्री कार्कीको टोली फागुन ९ गतेबाट निरन्तर जंगल यात्रामा छ। हात्ती प्रभावित क्षेत्रका नागरिकको समस्या बुझ्ने र समाधानको उपाय खोज्ने भन्दै झापाको मेचीनगरस्थित बाहुन डाँगीबाट सुरु भएको पैदल यात्रा पाचाैं दिन कोसी पार गरेको छ। झन्डै २४० किलोमिटरको दुरी पार गर्दै उदयपुरको कटारीस्थित बेलसोत बजारमा पुगेरे पदयात्रा समापन हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
प्रकाशित: १४ फाल्गुन २०८० ०७:०४ सोमबार