coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भुइँमान्छेसँग भुइँमन्त्री !

खासमा उनी कोसी प्रदेशका मुख्यमन्त्री हुन्। उनको नाम केदार कार्की हो। मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेशले बुधबारदेखि सुरु गरेको हात्तीमैत्री पदयात्रामा निस्केका कार्कीले भुइँमान्छेसँग गरेको भलाकुसारीसँगै उनले ‘भुइँमन्त्री’को उपमा पाएका छन्।

विपक्षीका लागि राजनीति क्षेत्रमा चतुर खेलाडी कार्की जनताको सेवा गर्ने मामिलामा भने सरल र इमानदार छन्। पदयात्राको क्रममा जंगलमा घाँसको भारी बोकेर आउनेदेखि मेलापात जानेसँग उनले गरेका सामान्य वार्तालापले उनलाई जनतासँग झनै नजिक्याएको छ। मिठो लबजका सर्वसाधारणको भाषामा उनीहरूको समस्या बुझ्दै गरेका कार्की जुन ठाउँमा पुग्यो करिब त्यही ठाउँका हुन्थे।

‘हाम्रो समस्या बुझ्न जंगल पार गर्दै आएका मन्त्री जब आँगनको डिलमा बसेर कुरा गर्न थाल्नुभयो, हामीलाई आफ्नै मान्छेजस्तो लाग्यो,’ मनकला राईले भनिन्, ‘उनका कामसँगै व्यवहारले पनि हाम्रो मन जितेको छ।’ रित्तो डोको र हातमा हँसिया बोकेकी उनले सुरुमा मुख्यमन्त्री भनेर चिनेकै थिइनन्। गाउँकै अन्य मान्छेसँग कुरा गरेजस्तै हात हल्लाउँदै कुरा गरेकी उनी कसैले ‘उहाँ मुख्यमन्त्री हो नि’ भनेपछि केही लजाएकी थिइन्।

उनी मात्र होइन, अन्य पनि यसै गरी झुक्किए। मुख्यमन्त्रीको पहिरन र जीवनशैली यति सरल छ कि अहिलेको समयमा उनी मुख्यमन्त्री हुन् भन्ने कसैले पनि सहजै ठम्याउन सक्दैनन्। बारीको डिलमा बसेर किसानसँग वार्तालाप गरेको दृश्य होस् या घाँसको भारी घचेट्दै गरेका क्षण सबैमा उनी भुइँ मान्छेजस्तै देखिन्छन्।

त्यसैले होला धेरैले मुख्यमन्त्री को हो भनेर छुट्याउन पनि सकेनन्। ‘झन्डै सय जनाको भिडमा हामीलाई मुख्यमन्त्री कुन् भन्ने पनि छुट्याउन सकिएन,’ मानबहादुर लिम्बुले भने, ‘जब उनी हात जोड्दै ‘म मुख्यमन्त्री हुँ’ भन्दै आँगनमा आएर बसे, तब अचम्म लाग्यो।’

छरितो ज्यानका मुख्यमन्त्री जब हात्ती हिँड्ने परम्परागत बाटोमा लम्कँदै हात्तीका मात्र होइन, उनीहरूको जीवनका अन्य पाटो पनि खोतले। जीवन कसरी चलेको छ ? आम्दानी के छ ? के गर्दा तपाईंहरूको जीवन थप सहज हुन्छ ? भनेर जब उनले प्रश्न गर्न थाले, तब सर्वसाधारणको अनुहारमा उज्यालो देखिन्थ्यो। 

‘उहाँ आफ्नै घरको मान्छेजस्तो पो लाग्यो,’ पहिलो पटक मुख्यमन्त्री देखेकी पार्वती कटुवालले भनिन्, ‘केटाकेटीहरू पनि उहाँको बोली सुनेर निकै खुसी भए।’

मुख्यमन्त्री कार्कीको उद्देश्य हात्तीको समस्या बुझ्ने भए पनि यो अवसरमा उनले सर्वसाधारणका जीवनसँग जोडिएका अन्य समस्या बुझ्न पनि छुटाएनन्।

‘हात्तीको र मान्छेको द्वन्द्वसँग मानिसका जीवनका अन्य पाटो बुझ्न पनि यो यात्रामा निस्केको हुँ,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘यसले मलाई सिङ्गो समाजसँग नजिकिने अवसर दिएको छ।’ सर्वसाधारणका समस्या उनीहरूकै पिँढीमा बसेर सुन्दा तिनीहरूको समाधानमा कार्यक्रम बनाउन सहज हुने उनले सुनाए।

‘म पनि सामान्य परिवारको दुःखसुखले हुर्केको मान्छे हुँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘सर्वसाधारण नजिक हुन पाउँदा म झनै जीवन्त भएको महसुस हुन्छ।’ स्थानीयको समस्या समाधानमा प्रदेश सरकारले कुनै कसर नराख्ने बताउँदै उनले नसकेको कामका लागि केन्द्रसँग सहकार्य गर्न पनि उत्तिकै इच्छुक रहेको सुनाए। ‘सर्वसाधारणका समस्या डायरमिा टिप्दै गएको छु,’ उनले भने, ‘यो सँगै समाधानका पाना खुल्न थालेका छन्।’

खुट्टामा घाउ बन्यो तर यात्रा रोकिएन 

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा वासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यका साथ बुधबारदेखि निरन्तर हिँडेका कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको पैतालामा ठेला उठेर फुटेपछि खुट्टा खोच्याउन बाध्य बने। खुट्टाको सामान्य उपचारपछि बिहीबार बिहानैबाट लम्केका उनी शुक्रबार पनि निरन्तर यात्रामा छन्।

‘लगातारको हिँडाइले खुट्टामा सामान्य घाउ लागेको हो,’ उनले भने, ‘तर जनताको मनको घाउ निको पार्न यात्रा जारी राखेको हुँ।’ जनता हात्तीको समस्याबाट निकै त्रसित भएको बताउँदै यसको सकारात्मक समाधानका लागि आफ्नो पहल भएको सुनाए।

‘मान्छे र हात्ती दुवै बाँच्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘कसो गर्दा सर्वसाधारण र हात्तीको रक्षा हुन्छ, त्यही कदम चाल्ने छौँ।’ हात्तीले किसानको बाली खाँदा सिङ्गो परिवार जोखिममा पर्ने भएकाले त्यसतर्फ सरकारसचेत भएको उनले बताए। खेतमा चर्दै गरेको हात्तीलाई भगाउने क्रममा सर्वसाधारणको मृत्यु हुन थालेपछि प्रदेशले नयाँ योजना ल्याएको छ। ‘बालीको पूर्ण बिमा गरेपछि किसानको मनमा ढुक्क हुनेछ,’ मुख्यमन्त्री कार्की भन्छन्। ‘त्यसो भयो भने हात्ती भगाउने क्रममा हुने जोखिम घट्नेछ।’

संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटनको विकास गर्ने यस नोलौं योजनाले स्थानीयको मन पनि जितेको छ। ‘हात्तीले त्रास दिँदै आएको छ,’ मुख्यमन्त्रीसँग हिँडेका पर्यटन तथा वनमन्त्री गणेश उप्रेती भन्छन्, ‘अब यसले आम्दानी पनि दिलाओस् भन्ने योजनामा छौं।’

हात्ती करिडोरका बस्तीमा होमस्टे स्थापना गरेर सुरक्षित ढंगबाट जंगली हात्ती नियाल्ने कोसिस मन्त्रालयको रहेको उनले सुनाए। ‘समस्यासँग सधैं लडेर मात्र होइन, विवेक प्रयोग गरेर पनि समाधान निकाल्नुपर्छ,’ उनले भने, ‘हात्ती र सर्वसाधारण दुवैको रक्षाका लागि मन्त्रालयले रचनात्मक कामको थालनी गर्नेछ।’

मन्त्री उप्रेतीले राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले भनेजस्तै मानिस र हात्ती दुवैको सहअस्तित्वलाई स्वीकार गर्दे चालिएको यो कदम निकै प्रेरणादायक रहेको बताए। ‘जुँधेर र होइन द्वन्द्व कम हुने गरी अगाडि बढ्नुपर्छ,’ ओलीको विचारसँग सहमत हुँदै उनले भने, ‘यसो गर्दा समग्रमा मानव समुदायको हित हुनेछ।’

कोसी प्रदेशमा हात्ती प्रभावित क्षेत्र बढ्दै गएपछि प्रदेश सरकारले नागरिकसँग सुझावका लागि बुधबारदेखि एक साता लामो संवाद पदयात्रा सुरु गरेको हो। प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एक सातासम्म हात्तीमैत्री पदयात्रामा सरिक भई हात्ती–मानवद्वन्द्वको निराकरणमा सर्वसाधारणको सुझाव लिने छन्।

झापाको बाहुँनडाँगीदेखि सुरु भएको एक साता लामो यो यात्रा दुई सय किलोमिटरभन्दा बढीको दुरी पार गरेर उदयपुर पुगेर टुंगिनेछ।

सदियौंदेखि दक्षिण एसियाको नेपाल र भारतको आसाम तथा पश्चिम बंगाल क्षेत्रमा सयकडौंको संख्यामा एसियाली हात्तीहरूको प्राकृतिक वासस्थानमा विचरण गर्दै आएका छन्। यी हात्ती बर्सेनि भारतको आसामबाट मेची नदी पार गरी झापा जिल्लाको बाहुन डाँगीबाट नेपाल प्रवेश गर्दै कोसी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने गरेका छन्।

हात्तीको कुनै देश हुँदैन भन्ने मान्यता छ। त्यसैले हात्ती सबैका साझा हुन्। तर हात्ती र मान्छेबिचको द्वन्द्वका कारण १२ वर्षको अवधिमा यहाँ ७८ सर्वसाधारण र १९ हात्तीको मृत्यु भइसकेको छ।

‘द्वन्द्वले मानव जीवन र भीमकाय जीवन दुवै संकटमा छन्, ‘मुख्यमन्त्री केदार कार्की भन्छन्, ‘यी दुवैको जीवन जोगाउने महाअभियान बोकेर हाम्रो यात्रा जारी छ।’

लम्केका मुख्यमन्त्रीलाई चाकरी गर्नेले छाडे

नेपाली समाज अझै पनि चाकरीमा विश्वास राख्छ। ठुला मान्छेको पाछि लाग्दै जी हजुर गर्ने मान्यता कतिपय ठाउँमा कायमै छ। तर बुधबारदेखि सुरु भएको मुख्यमन्त्रीको पदयात्रामा धेरैले त्यो ‘अवसर’ गुमाएका छन्।

यो गुमाई कुनै रहरले होइन। जब छरितो शरीरका मुख्यमन्त्री हात्ती मार्गमा लम्किए तब धेरैले लामो समयसम्म साथ दिन सकेनन्। ‘यो गज्जबको लम्काइ थियो,’ पदयात्रामा सहभागी एक सुरक्षाकर्मीले भने, ‘तालिममा रहेका सुरक्षाकर्मीबाहेक धेरैलाई यो गति कायम राख्न समस्या पर्‍यो।’

उनले भनेजस्तै धेरैले त्यही भएर मुख्यमन्त्रीको यात्रा भन्दा पनि बाइपास सडकबाट जुन रोडमा मुख्यमन्त्री निस्कन्छन् त्यहीँ देखा पर्न थाले। कुरा बुझेरै होला मुख्यमन्त्रीले पनि को आए र को गए भन्दा पनि जनताको समस्या ध्यान दिएर सुन्न थाले।

जनताको समस्या सुन्ने बेलामा धैर्य गर्ने मुख्यमन्त्री यात्राको क्रममा भने निकै तेज हुन्थे। हात्तीको बाटोमा हिँड्दै जनताको आँगनमा पुगेका मन्त्रीको अनुहारमा भने थकान कम उत्साह धेरै देखिन्थ्यो।

प्रकाशित: १२ फाल्गुन २०८० १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App