१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखराको भवन मापदण्डः ५ तलामाथिका घरलाई के गर्ने ?

१० तलाकै १९ भवन छन्

पोखरा सहर। तस्बिरः नागरिक

पोखरामा पाँच तलासम्म अग्ला भवन बनाउन पाइने भएको छ। यसअघि पोखरामा साढे दुई तलासम्मको भवनमात्र बनाउन पाईने मापदण्ड थियो। तर,साढे दुईतलाको अनुमति लिएर निर्माण सम्पन्न कागजपत्र बनाएपछि आफुखुशी तला थप्दै १० तलासम्म भवन बनाइएको छ।  

पोखरामा मापदण्ड विपरित ५ हजार भन्दा बढी भवन बनेको अनुमान पोखरा महानगरकै छ। १० तलाको भवनमात्रै १९ वटा बनेको महानगरकै कर्मचारी बताउँछन्। १०तलासम्मका भवना ठडिएपनि महानगरले निर्माण सम्पन्नको कागज नदिने र कारवाही समेत नगर्दा त्यसको विरोध हुँदै आएको थियो। चर्काे राजस्व लिई मापदण्ड भन्दा अग्ला भवनलाई वैधानिकता दिन केहीको दवाव पनि थियो। अहिलेको मापदण्डले १० तलासम्मका घरलाई के गर्ने भनेर सम्बोधन गरेको छैन।

त्यसलाई सम्बोधन गर्नेगरी पोखरा महानगरपालिकाले ‘पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ जारी गर्दै पाँच तलासम्मको भवन बनाउन पाउने व्यवस्था गरेको छ। जसका लागि माटो परीक्षण समेत गर्न नपर्ने प्रावधान बनाइएको पोखरा महानगरपालिकाका घरनक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार पाँचतला भन्दा बढी तलाको भवन बनाउनका लागि भने माटो परीक्षण गर्नुपर्ने हुन्छ। उनका अनुसार १७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नुपर्दैन।  

उनले भने,‘पाँच तलाभन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौं।’ महानगरले औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता मानिस जम्मा हुने ठाउँमा लम्बाइ अनुसार त्यसको चौडाको मापदण्ड पनि तोकेको छ।  

भवन तथा पूर्वाधार मापदण्डले एकसय मिटरसम्म लामा संरचनामा ६ मिटरको प्रवेश स्थल तथा दुईसय मिटर लामा पूर्वाधारमा ८ मिटरको प्रवेशस्थल अनिवार्य हुनुपर्ने भनेको छ। त्यस्तै, भीडभाड हुने ठाउँ ४ सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाई ११ मिटर र ६ सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाई १४ हुनुपर्ने मापदण्डमा उल्लेख छ। यदि ६ सय मिटरभन्दा लामा यस्ता पूर्वाधारमा प्रवेश माध्यमको चौडाइ २२ मिटर हुनुपर्ने प्रावधान रहेको घरनक्सा शाखा प्रमुख पौडेलले बताए।

महानगरले जारी गरेको भवन तथा पूर्वाधार मापदण्डमा फेवातालसहित अन्य तालको मापदण्ड सर्वाेच्च अदालतको आदेश अनुसार नै राखिएको छ। महानगरले फेवातालको मापदण्ड ६५ मिटर नै कायम गरेको छ भने बेगनास र रुपातालमा चारैतिरको सिमानामा १ सय मिटर मापदण्ड राखिएको छ। त्यस्तै, दिपाङ, मैदी, खास्टे, गुँदे, खास्टे, न्यूरेनी तालमा ५० मिटर, कास्कीकोटको ठूलीपोखरी, बुडुवाफाँटको कमलपोखरी र प्रस्याङको खुडेपोखरीमा ६ मिटरको मापदण्ड तोकिएको पौडेलले जानकारी दिए।

महानगरपालिकाले सेती नदी र मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकेको छ। याम्दी र सुइखेतखोलाको मापदण्ड १७ मिटर तोकिदाँ फिर्के र बुलौदी खोलाको मापदण्ड ५ मिटर उल्लेख छ। त्यस्तै, बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा ७ मिटर, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण गरिएको छ। पोखरा महानगरभित्रका अरु सबै सामान्य खोल्साको ६ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

१० तलासम्मका भवना ठडिएपनि महानगरले निर्माण सम्पन्नको कागज नदिने र कारवाही समेत नगर्दा त्यसको विरोध हुँदै आएको थियो। चर्काे राजस्व लिई मापदण्ड भन्दा अग्ला भवनलाई वैधानिकता दिन केहीको दवाव पनि थियो। अहिलेको मापदण्डले १० तलासम्मका घरलाई के गर्ने भनेर सम्बोधन गरेको छैन। 

मापदण्डमा डिल, भीर, पहिरोछेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेटब्याकको व्यवस्था राखिएको छ। ५ मिटर अग्लो डिल, भीर पहिरोमा २ मिटर सेटब्याक, ५ देखि १० मिटरसम्म ३ मिटर सेटब्याक, १० देखि १५ मिटरसम्मका लागि ५ मिटर सेटब्याक तोकिएको छ। यसैगरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेटब्याक साढे ७ मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेटब्याक हुनुपर्ने मापदण्डमा उल्लेख छ।

भवन तथा पूर्वाधार मापदण्डले सडकको मापदण्डपनि सम्बोधन गरेको छ। मापदण्डमा पोखरा भित्रका राजमार्ग २५ मिटर, मुल मार्ग १५ मिटर, शाखा मार्ग ७.५ मिटर, प्रशाखा ६ मिटर, पहँच मार्ग ५ मिटर, स्थानीय मार्ग ४.५ मिटर चौडाईंको हुने उल्लेख छ। त्यसबाहेक पोखरामा महानगरले बनाउने चक्रपथ १५ मिटर चौडाईंको भनेर उल्लेख छ।

पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८० सार्वजनिक गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जारी मापदण्ड कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। पोखराको आवश्यकता अनुसार मापदण्ड फेरिएको बताउँदै उनले भने, ‘पहिला सडकबाटै नांगो आँखाले हिमाल देख्न सकियोस् भन्ने उद्देश्य राखेर साढे दुई तलाको मापदण्ड बनेको हुनसक्छ, तर अहिले आवश्यकता र परिस्थिति फेरिएको छ। त्यसैले सर्वाेच्चको आदेश र सरकारका विभिन्न ऐन, मापदण्ड बमोजिम नयाँ मापदण्ड बनाएका छौ।’ शुरुमा सचेतना फैलाउने र त्यसपछि कारवाहीको प्रक्रिया पनि अगाडि बढाउने उनले बताए।  युरोपियन युनियनको आर्थिक सहयोगमा बनाइएको भवन तथा पूर्वाधार मापदण्ड पोखरा महानगरको १३ औं कार्यपालिका बैठकले पास गरेको थियो ।

घरमा हरियो रङ

पोखरा महानगरपालिकाले पोखरामा बन्ने नयाँ घर र भवनमा हरियो रङ लगाउने अवधारणा अघि सारेको छ। पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्नका लागि नयाँ घरमा हरियो रङ लगाउने नीति लिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। यो नीति पुरानै भएपनि अब कार्यान्वयनमा लैजाने उनले बताए। ‘यो प्रचलन नीति हो,’ उनले भने,‘स्याङजाको पुतलीबजार पर्पल सिटी, वालिङ पिंक सिटी भनेर सोहि अनुसारको रङ लगाउने अभियान चलाइएको छ। पोखरालाई पनि अब हरित सहरको रुपमा ग्रिन सिटी बनाइनेछ।’

प्रकाशित: १० फाल्गुन २०८० १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App