१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भुईँ छाड्नै लागेको जहाजमा ‘ब्रेक’ लागेपछि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाज। फाइल तस्बिरः नागरिक

पोखराका अशोक खड्का बुधबार बिहान ७ः२५ को बुद्ध एयरको उडानमा पोखराबाट काठमाडौं जाँदै थिए। तर, उडान केही समय पछाडि धकेलिएको थियो। निर्धारित भन्दा झन्डै आधा घण्टापछि करिब आठ बजेतिर उड्नका लागि यात्रुलाई जहाज चढाइयो। अनि जहाज उडान भर्नका लागि धावनमार्गमा पुग्यो।

धावनमार्गमा पुगेपछि जहाजले उड्ने तयारीका साथ ‘स्पिड’ लियो। जहाजको स्पिडसँगै यात्रु पनि उड्न पाइनेमा ढुक्क थिए। तर, भुईँ छाड्ने बेला हुनै लाग्दा जहाजले एकाएक ‘ब्रेक’ लगायो। उड्ने तयारीमा रहेको जहाज एकाएक रोकिएर पार्किङमा फर्किएपछि यात्रु झस्किए। जहाज पार्किङमा आएपछि खड्काले एकाएक किन रोकेको भनेर सोधखोज गरे।

सुरुमा त खड्काले एकाएक जहाज रोकिनुको कारणबारे कतैबाट पनि जानकारी पाएनन्। तर केही बेरपछि ‘चरा’ को त्रासका कारण जहाज रोक्नुपरेको भन्ने सूचना पाए। त्यसको १० मिनेटपछि जहाज पुन काठमाडौंका लागि उडेको थियो। 

‘अब त जहाज उड्यो है भनेको त झ्याप्पै ब्रेक पो लगायो। अनि पार्किङमा आयो,’ खड्काले भने, ‘चराको यो त्रासले पोखराको हवाई उडानप्रति सुरक्षा प्रश्न उब्जिन्छ।’ 

उनले सामाजिक सञ्जालमा समेत आफूले भोग्नुपरेको उडान समस्याबारे पनि लेखेका छन्। खड्काले सामाजिक सञ्ञ्जालमा लेख्दै चराको बासस्थानबारे पोखरा महानगर र नागरिक उड्डयन प्राधिकरण (क्यान) बढी जिम्मेवार हुनुपर्ने पनि उल्लेख गरेका छन्। 

‘खासमा जहाजको उडान तालिका ७ः२५ को थियो। ‘डिले’ भएर ८ बजे उडेको थियो। धावनमार्गमा जहाजले स्पिड लिइसकेको थियो। तर, एकाएक ब्रेक लगायो,’ उनले भने, ‘सुरुमा त केही प्राविधिक समस्या हो की भनेर सोधे। तर पछि चरा आएकोले रोकेको भनेर जवाफ दिइयो।’ 

त्यो बेलासम्म धावनमार्गमा चरा धपाउने गाडी पुगिसकेको थियो। ‘पाइलट बेलैमा सचेत भएर दुर्घटना टर्‍यो। चराका कारण पोखराबाट हुने हरेक उडानप्रति सचेत हुनु जरुरी देखियो। चराकै कारण कुनै क्षति नहोस् भन्नेमा सचेत हुनुपर्छ।’

बुधबार बिहान मात्र नभई मध्यान्ह पनि नेपालगन्जबाट पोखरा आएको जहाजका पाइलटले अवतरणको अन्तिम समयमा चराले अप्ठ्यारो पारेको भन्दै सम्बन्धित हवाई कम्पनीमा जानकारी दिएका थिए।

नेपालगन्जबाट आएको बुद्धकै जहाज पौने १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। तर, जहाजका चालक दलका सदस्यले पोखराको आकाशमा चराको गतिविधि बढेको भन्दै जानकारी दिएको श्रोतले बतायो। चराले अप्ठेरो पारेको बताए पनि बुद्धको त्यो जहाज पोखरामा अवतरण गरेको थियो।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चराको समस्या अझै हट्न सकेको छैन। जहाज उड्ने र अवतरण हुने मुख्य बिन्दु विजयपुर खोलामाथि पर्छ। त्यही भएर चराको गतिविधि उत्तिकै बढी छ,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजनर गौतम बरालले भने, ‘विजयपुरतिरबाट एकाएक चरा आउँछन्। चराको सकस सधैं छ। जति प्रयास गरेपनि चराको गतिविधि हटाउन सकिएन।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बर्ड गतिविधि बढेको भन्ने गुनासो पाइलटको हुने गरेको उनले पनि सुनाए।

विमानस्थल संचालनमा आएको एक वर्ष नाघिसकेपनि चराका गतिविधि सुरुवाती समयको तुलनामा केही घटेको भएपनि यो नै पर्याप्त नभएको उनले बताए। विमानस्थल संचालनमा आउने ताका पोहोर निकै नै चराका गतिविधि बढेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार बुधबार बिहान ८ बजेर ६ मिनेटमा चराले जहाजलाई समस्यामा पारेको बताइन।

‘पोखराबाट काठमाडौंका लागि उड्नै लागेको जहाजलाई बिहान ८ बजेर ६ मिनेटमा चराले समस्या पारेको रहेछ,’ उनले भनिन। चरालाई ठोक्काउनुभन्दा उडान नै रोकेर सुरक्षा सावधानी अपनाइएको उनले बताइन। ‘चरालाई ठोक्नु भन्दा उडान नै त्याग्नु उपयुक्त हुन्छ। पाइलटले यसबारे निर्णय गर्ने हुन। यो सुरक्षाका दृष्टिले उपयुक्त निर्णय हुन्छ,’ सुवेदीले भनिन, ‘हवाई उडानमा सुरक्षा अपनाइएको हो। अरु खासै केही होइन।’  

उनका अनुसार धावनमार्गमा दौडिएको जहाजको उडान अन्तिम अवस्थामा रोक्नुलाई ‘एबन्डन टेकअफ’ भनिन्छ। त्यो पाइलटले गर्ने निर्णय हो। यस्ता प्रक्रिया सबैतिरका विमानस्थलमा भइरहन्छन्। ‘एबन्डन टेकअफ’ कुनै पनि कारणले हुनसक्छ। एबन्डन टेकअफ गर्न नमिल्ने अवस्थामा कहिलेकाहीँ भुईँ नै छाडनुपर्ने सम्मको ‘मुभमेन्ट’ पनि गर्नुपर्ने हुन्छ,’ उनले भनिन, ‘यो प्रक्रिया नौलो होइन।’

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराले बच्चा कोरल्ने समय (ब्रिडिङ सिजन) मा केही गतिविधि बढेका थिए। असोज–कात्तिकतिर चराको आउजाउ अलि बढेकोभ भएपनि अहिले घटिसकेको उनले बताइन। 

‘चराको गतिविधिबारे ३–४ महिनादेखिको रिपोर्ट हेरिरहेका छौ। अब त चरालाई पनि बानी परिसकेको हुनसक्छ। त्यही भएर चराका गतिविधि विमानस्थल क्षेत्रमा घटेका छन्,’ उनले भनिन, ‘नियमित रुपमा बिहानैदेखि बेलुकी अबेरसम्म जहाज उड्न थालेपछि चरा अन्यत्र सरेको पनि हुनसक्छ।’

प्रकाशित: ९ फाल्गुन २०८० १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App