२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झन्डापार्कले पोखरामा थप्यो सौन्दर्य

पोखराको महेन्द्र पुलमा बनेको अन्तर्राष्ट्रिय झन्डापार्क। तस्बिर : नागरिक

सुन्दर नगरी पोखरा पर्यटकीय सहर हो। यहाँबाट देखिने हिमशृंखला, नदीनाला, तालतलैयादेखि प्राकृतिक छटाका कारण पोखरा विश्वमै सुन्दर नगरीका रुपमा परिचित छ। पर्यटकीय नगरीका पर्यटकीय गन्तव्य धेरै छन्।

फेवाताल, वेगनास ताल, रुपातालसहित यहाँका नौवटै ताल, महेन्द्र गुफा, चमेरेगुफादेखि गुप्तेश्वर गुफासम्म, सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थान सराङकोटदेखि शान्ति स्तूपा अनि महादेवको मूर्ति भएको पुम्दीकोट, सेती गल्छीदेखि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलगायतका पर्यटकीय गन्तव्यले पर्यटकलाई लोभ्याउने गरेको छ।

पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय गन्तव्य थपिएको छ। सुन्दर नगरी पोखरामा पर्यटकीय गन्तव्यका रुपमा ‘अन्तर्राष्ट्रिय झन्डापार्क’ थपिएको हो। पोखरा महानगरपालिका ९ महेन्द्रपुल चोकमा निर्माण भएको सो ‘अन्तर्राष्ट्रिय झन्डा पार्क’ ले पोखरामा सुन्दरता थपेको छ। यो प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ, जे, के, एल र एमले ७० लाख रुपैयाँ खर्चे बनाएको सो झन्डापार्क सोमबारदेखि खुला गरिएको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा सोमबार बिहान झन्डापार्क उद्घाटन गरे।

उद्घाटन समारोहको अवसर पारेर लायन्स क्लब अन्तर्राष्ट्रियले झन्डापार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ। कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई झन्डापार्कको साँचो हस्तान्तरण गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय झन्डापार्क पोखराको प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे। पोखरा आफैँमा सुन्दर छ, उनले भने, ‘झन्डापार्क निर्माणले पोखरामा अर्को एउटा सुन्दरता थपेको छ। यो प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने छ भन्ने विश्वास लिएको छु।’

मेयर आचार्यका अनुसार झन्डापार्कसँगै व्यवस्थित पार्क, शौचालय, फल्चा, मड्का चिया सप, पत्रपत्रिका एवम् डिजिटल डिस्प्लेलगायतका संरचना पनि रहेकाले यसले पर्यटकलाई थप आकर्षित र समय व्यतीत गर्न सहज हुने छ।

झन्डापार्कले विश्वका विभिन्न देशबाट आउने पर्यटक र आन्तरिक पर्यटकलाई आकर्षित गर्ने मेयर आचार्यको विश्वास छ। उनले भने, ‘जोकोहीलाई पनि आफ्नो राष्ट्र र राष्ट्रियता प्यारो हुन्छ अनि आफ्नो देशको झन्डाको छुट्टै माया हुन्छ र त्यो देख्दा खुसी लाग्छ। यहाँको झन्डा देखेर पर्यटकले अपनत्व महसुस गर्दै आफ्नो राष्ट्रको स्मरण गर्ने छ।’

अन्तर्राष्टिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झन्डापार्कले पोखराको सुन्दरतामा नयाँ आयाम थपेको बताए। उनले झन्डापार्क हस्तान्तरणले संयुक्त राष्ट्रसंघ र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको उल्लेख गरे।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले झन्डापार्क विश्वकै नयाँ प्रयोग भएको बताए। विश्वका सबै राष्ट्रको सार्वभौमलाई झन्डाले सम्मान गरेको उनको भनाइ थियो।

पोखरा– ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले झन्डापार्क पोखराको गौरव भएको र यो आफ्नो वडामा बनेकोमा गर्वानुभूति महसुस भएको बताए।

प्रकाशित: ७ फाल्गुन २०८० १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App