१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुङ्गीखोला अतिक्रमण: कब्जा गर्नेमा सांसददेखि क्लबसम्म

तस्बिर : वसन्त ढुंगाना

भरतपुर महानगरपालिका २ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झरेका हुन्। त्यतिखेर नारायणगढ क्षेत्रमा फ्याट्टफुट्ट घर थिए। उनी हाल बस्दै आएको रामकृष्ण टोलछेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्थ्यो। हिजोआज त्यो फराकिलो खोला उनले देख्न पाएका छैनन्। खोला साँघुरिँदै गएको छ।

अहिले खोला मिचिँदै गएको छ। ‘यहाँ यो खोला कही साँघुरो र कही फराकिलो हुँदै बग्थ्यो’, पूर्वशिक्षकसमेत रहेका गुरुङले भने, ‘अहिले ठूलाठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन्।’ स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने बताए। यहाँ सांसदले नै खोला अतिक्रमण गरेको उनले बताए।

यसरी अतिक्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाले पुङ्गीखोला सिमांकन तथा संरक्षण समितिसमेत बनाएको छ। अहिले यो समितिले सिमाना छुट्ट्याउने काम गरिरहेको छ। आधाभन्दा बढी नाप जाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटा बताउँछन्। उनका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा प्रतिनिधिसभा सदस्यदेखि विभिन्न क्लबसम्म रहेका छन्।

‘हामीले खोलाको पूरा विवरण ल्याउन बाँकी नै छ। यहाँ चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यले समेत जग्गा अतिक्रमण गरेको पाइएको छ’, उनले भने, ‘व्यक्तिदेखि क्लबहरुले खोला अतिक्रमण गरेर घर बनाएका छन्।’ चितवन ३ का प्रतिनिधिसभा सदस्य विक्रम पाण्डे जग्गा संरक्षण गर्ने सर्वोच्च तहमा पनि पुगिसकेका व्यक्ति हुन्।

पाण्डे पूर्व भूमिसुधार मन्त्रीसमेत हुन्। उनले नै खोला र सिँचाइको जग्गा अतिक्रमण गरी भवन निर्माण गरेर भाडामा दिएका छन्। उनले विक्रम मार्गमा पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको देवकोटाले बताए। ‘हामीले अहिल्यैै यति भन्न सक्ने अवस्था छैन। प्रारम्भिक अनुमान गर्दा दुई कट्ठा हाराहारीमा अतिक्रमण भएको छ’, उनले भने।

पर्खाल र टप मात्र पर्ने घरहरुको संख्या धेरै रहेको उनले बताए।  खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ, तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन्। सिमांकनको काम एक महिनाभित्र सकिने उनले बताए।  

भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं. ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ। साढे ६ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं. २ मा मिचिएको उनले बताए।

उनका अनुसार रामकृष्ण टोल, जलदेवि टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नम्बर ३ को आनन्द मार्गमा बढी मिचिएको छ। भरतपुर महानगरपालिका २ को वडा कार्यालय पूरै खोलाको जमिन पर्दछ। वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउँछन्। उनका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कट्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ।

यो खोलाको चौडाइ एकनासको छैन। सब्जी मण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआई कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन। यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत संकलन गर्ने एक खालको मौखिक सहमति भएको छ। अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको देवकोटाले बताए।

महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली पार्कसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ। अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ। प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको लागतमा तलाउ निर्माण र हरियाली पार्कसहित सौन्दर्यीकरणका काम गरिएको छ।

गुरुयोजनामा पार्क, फुटपाथ, साइकल ल्यान्डलगायतका संरचना बन्नेछन्। खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्र कुमार राना बताउँछन्। ‘खोला अतिक्रमण कसैले गर्न पाउँदैन। बनेका संरचना छन् भने सबै हटाइन्छ’, उनले भने ‘वडाको भवन बनेको भएपनि भत्किन्छ।’

तलाउ निर्माण ६६ लाख रुपैयाँमा सक्ने गरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ। तलाउ निर्माणपश्चात् खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ।

प्रकाशित: ४ फाल्गुन २०८० ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App