२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

र्‍यालीले गर्दा उपत्यकाका यी सडकमा ‘ट्राफिक जाम’

फाइल तस्बिर

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसंस्थाले निकालेको र्‍यालीका कारण उपत्यकाका विभिन्न सडकहरू अवरुद्ध भएको जनाएको छ।

कार्यालयले बिहीबार दिउँसो एक सूचना जारी गर्दै भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीले गर्दा विभिन्न सडकहरू अवरुद्ध भएको उल्लेख गरेको छ।

र्‍याली भद्रकाली, शहिदगेट हुँदै टुँडिखेल परिक्रमा गरी पुरानो बसपार्क हुँदै पुन: भृकुटीमण्डपमा आउने कार्यक्रममा छ।

र्‍यालीका कारण पुरानो बसपार्कबाट शहिदगेट तर्फ जाने र पद्धमोदयमोडबाट सभागृह जाने सवारी साधन प्रभावित भएका छन्।

कालीमाटी, त्रिपुरेश्वर, घण्टाघर, जावलाखेलबाट पनि सुन्धारा( आरएनएसी) आउने ठुला सवारी साधनलाई र्‍याली अवधिभरका लागि डाइभर्सन गरिएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

डाइभर्सनका कारण जमल, घण्टाघर, जयनेपाल, महेन्द्र शालिक, कमलादी, पुतलीसडक, माईतीघर, थापाथली, त्रिपुरेश्वर क्षेत्रमा सवारी साधनको चाप रहेको छ।

उता सिंहदरबार, कुपण्डोल, पुल्चोक, थापाथली र युएन पुल हुँदै चल्ने सवारी साधन भने क्युमा चलिरहेका छन्।

ललितपुरको मंगलबजारबाट युएन पुल करीडोर आउने दुवै तर्फको लेनमा बिधुतको लाइन अण्डरग्राउण्डको लागि खाल्डो खनिएका कारण सवारी साधनको क्यु रहेको हो।

यस बाहेक सोह्रखुट्टे, लैनचौर, कालिमाटी, कोटेश्वर, ग्वार्को, सातदोबाटो, गौशाला, मित्रपार्क चाबहिल र नारायण गोपाल चोकमा भने सवारी साधन ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनु पर्ने छ।

फर्पिङ नाका बाहेक अन्य नाकाहरूको सवारी आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। फर्पिङ नाकाबाट फाखेल र सिस्नेरी हुँदै हेटौडा जाने बाटो भने मर्मत भइरहेका कारण सवारी आवतजावत बन्द गरिएको छ।

प्रकाशित: ३ फाल्गुन २०८० १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App