२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विकास वाइबाविरुद्ध उजुरी दिने पीडित बढेको बढ्यै

वैदेशिक रोजगार विभागमा सेवा लिन जाने अधिकांश व्यक्ति ठगी धन्दाबाट पीडित हुने गरेका छन्। यतिबेला सामाजिक सञ्जालको व्यापक दुरूपयोग गर्दै ठगी धन्दा चलाउने दुई नामधारी एक एजेन्टविरुद्ध उजुरी गर्न जानेको संख्या ठुलो छ।

वैदेशिक रोजगारीसम्बन्धी ठगी धन्दा चलाउँदै आएका विकास वाइबा र सुजन तामाङको चर्चा विभागमा धेरै हुने गरेको छ। सामाजिक सञ्जाल प्रयोग गर्दै ठगी धन्दा गर्ने विकास र सुजन नाम भएका व्यक्ति एकै हुन्।

विभागमा अन्य व्यक्तिविरुद्ध उजुरीभन्दा पनि वाइबाविरुद्ध उजुरी दिने पीडितको संख्या अत्यधिक भएको विभागका कर्मचारी बताउँछन्।

‘विभागमा वाइबाविरुद्ध उजुरी आउने भएकाले यो चर्चाको विषय बनेको छ। दिनप्रतिदिन वाइबाविरुद्ध उजुरी आइरहेका छन्। मुद्दा शाखामा मात्रै तीन सयभन्दा बढी उजुरी परेका छन्। अन्य शाखामा पनि वाइबाविरुद्ध उजुरी आइरहेका छन्।

वाइबाले ठगी गरेको पीडितको तथ्यांक यति नै भन्ने छैन तर उजुरी दिन आएका पीडितको संख्या पनि रोकिएको छैन,’ विभागका मुद्दा शाखाका एक कर्मचारीले भने।

वैदेशिक रोजगार विभागमा वाइबाविरुद्ध जाहेरी दिने पीडितको संख्या दैनिक बढिरहेको छ। वैदेशिक रोजगारीमा पठाइदिने नाममा करिब एक हजार युवालाई ठगेर घर न घाट बनाएको आरोप उनीमाथि छ। वाइबाले आधाभन्दा बढीलाई सामाजिक सञ्जाल फेसबुकबाटै ठगेका थिए। उनले आफ्ना साथीमार्फत पनि ठगी गरेको पाइएको छ।

वाइबाले वैदेशिक रोजगारीमा जान चाहने युवाको करोडौं रूपैयाँ ठगी गरेको उजुरी विभागमा परेको छ। विकास वाइबा र सुजन तामाङ नाममा दुई नागरिकता प्रयोग गरी ती व्यक्तिले सयौं युवालाई ठगेका हुन्।

वाइबाले एउटा नागरिकता काभ्रेस्थित च्यासिङखर्क–३ ठेगानामा विकास वाइबा र अर्को नागरिकता ललितपुरस्थित नल्लु–५ ठेगानामा सुजन तामाङका नाममा लिएको पाइएको विभागले बताएको छ।

वाइबाको फेसबुक पेजबाटै ठगिएका तर नाम खुलाउन नचाहने एक पीडितले साता दिनअघि विभागमा उजुरी दिएका थिए। उनी आफू ठगीमा परेको पैसा उठाउन विभागमा फलोअप गर्न पुगेका थिए।

‘विभागमा हामीले उजुरी दिएर त आयौं तर विभागबाट कुनै जानकार नआएपछि आज सबै साथीभाइ मिलेर सोधपुछका लागि विभाग आएका हौं ।’ वाइबाविरुद्ध अनुसन्धान चलिरहेको विभागका कर्मचारी बताउँछन्।

‘हाम्रो पैसा उठ्न खै कति समय लाग्ने हो। गाउँदेखि सहर आएर विभाग धाइरहेका छौं,’ वाइबाविरुद्ध उजुरी दिएका एक पीडितले निराश हुँदै भने।

वाइबाले आठ लाख रूपैयाँमा पोल्यान्ड पु¥याउने आश्वासन दिएपछि ती पीडितबाट तीन लाख रूपैयाँ लिएका थिए। आकर्षक गन्तव्यमा पठाइदिने भनेपछि बिदेसिन चाहिरहेका पीडित वाइबाबाट सजिलै ठगिएका हुन्।

वाइबालाई विभागले दुई सातापहिले पक्राउ गरिसकेको छ। अब त पैसा उठिहाल्छ भनेर काठमाडौं नै बस्यौं। तर, अहिलेसम्म केही काम भएको छैन।

 वाइबाविरुद्ध अझै उजुरी आइरहेको विभागले जानकारी दिएको छ। विदेश जाने सपनाले सबै लथालिंग भएको छ। आफ्नै पैसा फसेको छ। विभागपरिसरमा भेटिएका एक पीडितले बताए।

सामाजिक सञ्जालमार्फत वाइबाको कार्यालयसम्म विभिन्न देशका लागि जाने भन्दै युवाहरू पुग्ने गर्थे। जसले गर्दा सबै युवाले लाखौँलाख पैसा बुझाएकै कारण उनीहरू ठुलो ठगीमा परेका छन्।

वाइबालाई भेट्नेको भिडले गर्दा नै आफूहरू पनि ठगीमा परेको विभागमा फलोअपमा आएका पीडितले बताए।

वाइबाले क्रोएसिया, क्यानडा, पोल्यान्ड, पोर्चुगललगायत थुप्रै मुलुकमा पठाइदिने भन्दै प्रतिव्यक्ति ५० हजारदेखि १८ लाख रूपैयाँसम्म असुलेको पीडितको आरोप छ।

वाइबा वैदेशिक रोजगार कसुरको प्रक्रियाअनुसार पक्राउ परी अहिले थुनामा रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेती बताउँछन्। ‘प्रत्येक दिन वाइबाले ठगेको भन्दै पीडित आउने गरेका छन्,’ उप्रेतीले नागरिकसँग भने, ‘उजुरी दिन आउने पीडितहरू रोकिएका छैनन्।’

वाइबाको अनुसन्धान क्रम अघि बढेको र पीडितलाई अवश्य न्याय दिलाउने कार्यमा लागिरहेको विभागका सूचना अधिकारी उप्रेतीले जानकारी गराए।

 वाइबाविरुद्धको उजुरी विभागका विभिन्न शाखालगायत मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा परेकाले ठगीको यकिन उजुरी संख्या नजोडिएको विभागका अधिकारी बताउँछन्। 

प्रकाशित: १ फाल्गुन २०८० १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App