१० फाल्गुन २०८० बिहीबार
समाज

लेस्बियन विवाहलाई कानुनी मान्यता

अन्जुदेवी श्रेष्ठ (बायाँ) र सुप्रिता गुरुङ। तस्बिर: अर्जुन/नागरिक

बर्दिया बढैयाताल–२ बर्दियाकी ३३ वर्षीया अन्जुदेवी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ की ३३ वर्षीया सुप्रिता गुरुङ जन्मँदा महिला हुन्। उनीहरू महिलाको रूपमै परिचित भए। तर दुवै जनाले करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडे र परम्पराअनुसार विवाह गरे तर उनीहरू कानुनी रूपमा पति–पत्नी हुन पाएका थिएनन्।

अहिले उनीहरूले कानुनी रूपमा त्यो मान्यता पाएका छन्। समाजमा समलिंगी विवाहलाई अस्वीकार गर्ने प्रवृत्ति कायमै रहेको अवस्थामा यो जोडीले विवाह दर्ताको प्रमाणपत्रसमेत लिएको छ।

बढैयाताल–२ का स्थानीय पञ्जिकाधिकारी एवं वडा सचिव दीपक नेपालीले उक्त विवाह दर्ता प्रमाणपत्र प्रदान गरेका हुन्। अन्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएका थिए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिन पत्र पठाए।

‘महिला–महिला समलिंगी (लेस्बियन) विवाहलाई कानुनी मान्यता दिने नेपाल दक्षिण एसियामै पहिलो!’

विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार वडा सचिव नेपालीले विवाह दर्ता प्रमाणपत्र जारी गरिदिए। प्रमाणपत्रमा हाललाई अस्थायी विवाह दर्ता भनेर उल्लेख गरिएको छ। अन्जु हाल बाँकेको कोहलपुर–५ मा बस्दै आएकी छन् भने सुप्रिता बेलायतमा छिन्।

छोरी भएर जन्मे पनि अन्जुको स्वभाव भिन्न थियो। एसएलसीपछि घरपरिवारमा उनको विवाहबारे छलफल चल्न थाल्यो। उनले त्यसलाई अस्वीकार गरिन्। परिवारको दबाब खेप्न नसक्दा उनले घर त्यागिन्। केही समय दिदीको घरमा बसेकी उनी पछि ब्युटी पार्लर खोलेर एक्लै बस्न थालिन्।

सामाजिक सञ्जालमार्फत सुप्रितासँग उनको चिनजान भयो। कुराकानी हुँदै जाँदा उनीहरू नजिकिए र प्रेम सम्बन्धमा परे।

‘हामीले धार्मिक संस्कारअनुसार विवाह गर्‍यौं र सँगै बस्न थाल्यौं,’ अन्जुले भनिन्। वालिङस्थित छाङछाङदी मन्दिरमा पाँच वर्षअघि विवाह गरेको उनीहरूको दाबी छ।

विवाहपछि सुप्रिता बेलायततिर लागिन्। बेलायत गएको तीन वर्षको अन्तरमा सुप्रिता दुई पटक नेपाल (कोहलपुर) आइन्। दुवैको कमाइले कोहलपुरमा अहिले दुई तले घर बनाए।

अन्जुको घरमा आमासहित चार दाजु, दुई दिदी र एक बहिनी छन्। उनी परिवारकी साहिँली छोरी हुन्। केही वर्ष अलग बसे पनि मायामा कहिल्यै खटपट नभएको उनीहरू बताउँछन्।

‘कक्षा १२ मा पढ्दै गर्दा अन्जुसँग चिनजान भयो। सम्बन्ध गाढा र्भपछि विवाह गर्ने मनस्थितिमा पुग्यौं,’ सुप्रिताले भनिन्।

पहिले परिवार र आफन्तबाट अपहेलित हुनु परे पनि अहिले पूरै साथ पाएको उनीहरू बताउँछन्। ‘उहाँ (अञ्जु) लाई जस्तै मलाई पनि घरमा धेरै गाह्रो भयो। मैले आमालाई धेरै नै सम्झाएँ। आफैं आत्मनिर्भर भएको हुँदा केही भन्नुभएन,’ सुप्रिताले भनिन्, ‘आमा र दिदीहरू आएर भेटिसक्नुभयो। खुसी हुनुहुन्छ।’

सुप्रिताका घरमा आमासहित दुई दाजु र एक दिदी छन्। आमा र एक दाजु बेलायतमै बस्छन्। उनी परिवारकी कान्छी छोरी हुन्। आफूहरूको वैवाहिक सम्बन्धलाई जिन्दगीभर टिकाउने उनी बताउँछिन्।

सन्तानको रहर लागे वैकल्पिक विधि प्रयोग गरेर भए पनि जन्माउने सुप्रिताले सुनाइन्। सर्वोच्च अदालतले समलिंगीबीचको विवाहलाई मान्यता प्रदान गर्न यसअघि नै आदेश जारी गरेको थियो।

यसअघि पुरुष–पुरुषबीचको विवाहलाई कानुनी मान्यता दिए पनि अन्जु र सुप्रिताबीचको विवाह दक्षिण एसियाकै पहिलो भएको ‘मायाको पहिचान, नेपाल’का कार्यकारी निर्देशक एवं संविधानसभा सदस्य सुनिलबाबु पन्तले दाबी गरे।

‘नेपालबाट दक्षिण एसियाकै यो पहिलो लेस्बियन जोडी बन्न सफल भएको छ,’ नेपालगन्जमा सोमबार पन्तले सञ्चारकर्मीसँग उन भने। उनका अनुसार सर्वोच्च अदालतले असार १२ मा दिएको आदेश र विभागको पत्रअनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक पुरुष समलिंगी माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। माया र सुरेन्द्र जन्मँदा छोरा हुन्।

अदालतको आदेशसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रो लिंगी, अन्तरलिंगी) समुदायका जोडीको वैवाहिक अधिकार सुनिश्चित भएको पन्तले बताए।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएकी नेपालगन्जकी परिना चौधरी कानुनी मान्यता पाएसँगै क्रमिक रूपले यौनिक तथा अल्पसंख्यक समुदायले विवाह दर्ता प्रमाणपत्र बनाउने क्रम बढेको बताउँछिन्।

‘यो हाम्रो समुदायका लागि एकदमै खुसीको कुरा हो। अब बिस्तारै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजमा खुल्न सहज हुनेछ,’ उनले भनिन्।  

प्रकाशित: १ फाल्गुन २०८० ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App