१० फाल्गुन २०८० बिहीबार
समाज

काठमाडौं विश्वविद्यालयमा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेल हुने

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा नेपाल-भारत उच्च शिक्षा शिखर सम्मेलन हुने भएको छ।

आगामी फागुन ३ गते देखि ५ गतेसम्म हुने सम्मेलनमा नेपाल, भारत, बाङ्लादेश, मलेसिया, थाइल्यान्ड, लगायत देशका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरुको उपस्थिति रहने काठमाडौं विश्वविद्यालयले जनाएको छ।

भारतीय विश्वविद्यालय संघको आयोजना र काठमाडौंविश्वविद्यालयको तत्वावधानमा सभा तथा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति लगायतका विषयमा छलफल हुने बताइएको छ।

काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनका अनुसार अधिकांश सहभागीहरु भारतीय विश्वविद्यालयबाट हुने र दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप, अफ्रिकाका विश्वविद्यालयको प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।

उनले हालसम्म करिब २२७ जना सहभागिताका लागि आउने निश्चित भएको जानकारी दिइन्। सम्मेलनले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरुको आदानप्रदानलाई प्रोत्साहित गर्नुका साथै सभा साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदानको दिशामा कोशेढुंगा साबित हुने पुनको विश्वास छ। 

‘सभाले विभिन्न क्षेत्रका शैक्षिक समुदायहरू, विशेष गरी दक्षिण एसियाली क्षेत्र भित्रका शैक्षिक समुदायहरू बीच सांस्कृतिक विचार आदानप्रदानलाई पनि बढावा दिनेछ। सभाको अवधिमा सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिहरूको बारेमा छलफल गर्नेछन् जसमा, विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान, र पाठ्यक्रम विकास सहितका विषयहरु समावेश छन्।’ उनले भनिन्।

अन्तर्राष्ट्रिय उपकुलपति सभामा ३ वटा प्राविधि सत्रहरु सञ्चालन हुने उनले जनाइन्।

उनका अनुसार सहभागीहरुबीच पहिलो सत्रमा अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री र प्राज्ञिक साझेदारीको फाइदाबारे छलफल हुनेछ।

यसैगरी दोस्रो सत्रमा नियमन र नीति निर्माणका साझा मुद्दाहरू, जस्तै, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य जस्ता विषयहरूमा छलफल गरेर विश्वव्यापी उच्च शिक्षामा नियमन र नीतिगत प्रष्टता सहित आगामी कार्यदिशा पहिल्याउने प्रयास हुनेछ।

यसैगरी, तेस्रो सत्रमा विद्यार्थी गतिशीलता र त्यसको विविधताका अन्तर्राष्ट्रिय अनुभवका बारेमा छलफल हुनेछ।

उनका अनुसार छलफल विद्यार्थी आदानप्रदान कार्यक्रमहरु प्रवर्धन गर्ने तरिकाहरूमा केन्द्रित हुनेछ, जसमा विश्वविद्यालयमा समावेशिता, सदासयता र सांस्कृतिक विविधताका विविध पक्षको शैक्षिक वातावरण विकास गर्दै वैश्विक तादात्म्य खोज्ने कार्य हुनेछ। आ–आफ्ना विशिष्ठिकृत अनुभव र दृष्टिकोणकोलाई उच्चशिक्षाको साझा समृद्धिमा रूपान्तरण गर्दै भूमण्डलीकृत संसारमा साझा सफलता खोज्नु अन्तर्राष्ट्रिय उपकुलपति सभाको मुख्य उद्देश्य हो।

भारतीय विश्वविद्यालय संघ एक लामो ऐतिहासिक विरासत भएको संस्था हो। यसको स्थापना सन् १९२५ मा बम्बई विश्वविद्यालयका उपकुलपति/उच्च शिक्षा अधिकारीहरूको बैठकमा अन्तर–विश्वविद्यालय संगठनको रुपमा भएको हो। 

यसमा नेपालबाट काठमाडौं विश्वविद्यालय लगायत बाङ्लादेश, भुटान, काजकस्तान, मलेसिया, मरिसस, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र बेलायतका देशका १३ विश्वविद्यालय/संस्थाहरू एसोसिएट सदस्य छन्।

प्रकाशित: २९ माघ २०८० २३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App