१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आँखा उपचार केन्द्रको भवन निर्माण

प्रदेश सरकारले निर्माण गरेको दोभान आँखा उपचार केन्द्रको भवन। तस्बिर: नागरिक

कोसी प्रदेश सरकारले झन्डै एक करोड रूपैयाँ खर्चिएर ताप्लेजुङस्थित दोभान आँखा उपचार केन्द्रका लागि भवन निर्माण सम्पन्न गरेको छ। उपचार केन्द्रका लागि नवनिर्मित दुईतल्ले भवन फुङलिङस्थित पपैया कन्स्ट्रक्सनले भ्याट र पिएससहित ९७ लाख ८१ हजार १०६ रूपैयाँको लागतमा निर्माण गरेको हो।

प्राविधिक मूल्यांकनपछि नियामक निकाय सहरी विकास तथा भवन निर्माण कार्यालय इलामले नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखालाई सो भवन हस्तान्तरण गरेको छ।

दोभान आँखा उपचार केन्द्र व्यवस्थापन समितिका संयोजक तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर)हाङ्गामको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण कार्यालय इलामका सव इन्जिनियर रितेश यादवले नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङलाई भवनको तालाचाँबी हस्तान्तरण गरेको नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ। दोभान आँखा उपचार केन्द्रले अहिलेसम्म कोठा भाडामा लिएर सेवा प्रदान गर्दै आइरहेको छ।

मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक साझेदारीमा २०७८ साउन २ गतेदेखि दोभानमा आँखा उपचार केन्द्र सञ्चालित छ। नयाँ भवनको उद्घाटनसँगै निकट भविष्यमै नवनिर्मित भवनबाटै सेवा आरम्भ गर्ने तयारी भइरहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ।

पछिल्लो समय नेपाल नेत्रज्योति संघले पाँचथरमा रहेका दुवै आँखा उपचार केन्द्रको सञ्चालन स्वामित्व सम्बन्धित पालिकालाई हस्तान्तरण गरेको जनाएको छ।

फुङलिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा करिव ९० लाख रूपैयाँ खर्चिएर ताप्लेजुङ विकास मञ्चले स्तरोन्नति तथा प्रबलीकरण गरिदिएको छ।  

प्रकाशित: २८ माघ २०८० १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App