१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई सुत्केरीको उद्धार

गाउँमा सुविधायुक्त स्वास्थ्य संस्था नहुँदा केही वर्षअघिसम्म सुत्केरी व्यथा लागेपछि उपचार नपाएर बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति थियो। सडक सञ्जालको पहुँच नपुगेको र हवाई यात्रामा सम्भव नभएपछि कतिपय सुत्केरीले बाटैमा त कतिले उपचार कुर्दै घरमै ज्यान गुमाउनुपरेको थियो।

पछिल्लो केही वर्षयता कर्णालीमा मातृशिशु मृत्युदर घट्दै गएको छ। बुधबार मात्रै एकै दिन दुई जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुधबार मात्र पलाँता गाउँपालिका–६ की ३५ वर्षीय रिउली रोकाया सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार गरिएको छ।

हिजो दिउसोदेखी सुत्केरी व्यथाले च्यापेको रिउलीलाई आफन्तले हिजो बेलुकी ७ बजे नेटा स्वास्थ्य चौकी पुर्‍याएका थिए। गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको अस्पताल स्रोतले बताएको छ।

सुत्केरी महिलाको नेटामा उपचार सम्भव नभएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीमार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए।

जिल्लाका अन्य पालिकाको तुलनामा विकट पालिका भए पनि यहाँका नागरिकलाई रोग र भोकका कारण मृत्यु हुन नदिने अध्यक्ष रोकायाले बताए।

यस्तै, कालिकोटकै पचालझरना गाउँपालिका–९ की ३० वर्षिया औंशी तिरुवाको पनी हेलिकप्टरमार्फत उद्धार गरिएको छ। स्वास्थ्य चौकी राम्नाकोटमा प्रसूती गराउन बिहान ७ बजे पुगेकी तिरुवाको पेटको बच्चा जन्मन समस्या देखिएपछि उनलाई उद्धार गरीएको  बताइएको छ।

उनलाई प्रसूतीका लागि जिल्ला सदरमुकाम ल्याउन दूरी, समय र सडकको अवस्था कठिन रहेको कारणले गर्दा पालिकामा सुत्केरी गराउन नसकिने भएपछि तत्काल प्रदेश अस्पताल, सुर्खेत पठाउन पचाल झरना गाउँपालिकाले पहल गरेको पचालझरना गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत प्रदेश अस्पताल, सुर्खेतमा रिफर गरिएका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए।

ज्यान जोगाउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रम

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम दुर्गममा प्रभावकारी बन्दै गएको छ। त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकोप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ।

सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ। प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु कार्यक्रमअन्तर्गत कालीकोटमा आव २०७९/८० मा १३, चालु आवको साउनदेखि माघसम्म १३ वटा हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले दुई वर्षयता २६ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको बताए। २६ जनामा १३ जना २० वर्षमुनिका रहेका छन्। जसले बालविवाह गरेको प्रमाणित हुन्छ।

गर्भवती र सुत्केरीले प्रसव अवस्थाका कारण ज्यान गुमाउनु परेकोमा हाल त्यो संख्या घटेको स्वास्थ्यको तथ्यांकमा उल्लेख छ। स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको छ।

महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने दुई लाख रूपयाँ खर्च सरकारले व्यहोर्दै आएको छ। राष्ट्रपति उत्थान कार्यक्रम समन्वय इकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ।

गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम विशेष गरी दुर्गममा प्रभावकारी देखिएको छ। सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दै आएको स्थानीय नागरिकको भनाइ छ ।

प्रकाशित: २५ माघ २०८० ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App