५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भरतपुर भ्रमण वर्षकाे अवसरमा सजाइँदै नारायणी नदीकिनार

भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ। महानगरपालिकाले फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारबाट भ्रमण वर्षको उद्घाटन गर्दैछ।

झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ। अहिले महानगरपालिकाले नारायणी किनार सजाउने कार्य धमाधम गरिरहेको छ।

भ्रमण वर्ष उद्घाटन हुने स्थल नारायणी नदी किनारका खाल्टाखुल्टीमा माटो भरेर दुबो लगाउने काम भइरहेको महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डे बताउँछन्।

 ‘भ्रमण वर्षलाई लक्षित गरी नारायणी किनारमा चाइनिज दुबो र त्यहाँ भएको दुबोलाई पानी हालेर संरक्षण गरिरहेका छौं,’ उनले भने, ‘अहिले हाम्रो उद्देश्य धुलोरहित नारायणी किनार बनाउने हो।’

महानगरपालिकाले चाइनिज दुबो रोप्नका लागि ६० लाख रूपैयाँमा ठेक्का दिएको छ। उनका अनुसार यो रकमले १० हजार पाँच सय वर्गफिटमा दुबो रोपिनेछ।

दुबो रोपिएको ठाउँमा वर्षायाममा बाढी आउँछ। यति मोटो रकम खेर जाने चिन्ता कतिपयको छ। दुबो अहिले परीक्षणका रूपमा मात्र रोपिएको पाण्डेले बताए।

‘नारायणी नदी किनारमा ‘सी बिच मोडल’मा दुबो रोपेर हरियाली बनाउने योजना छ,’ उनले भने, ‘अहिले नमुनाका लागि चाइनिज दुबो रोपेका हौं।’ यसलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने उनले बताए। ‘अहिले नारायणी किनारमा दैनिक पाँच हजार हाराहारीमा मानिस घुम्न आउँछन्। उनीहरूले जथाभावी फोहोर गर्छन्,’ उनले भने, ‘अहिले दुबो रोपिएको ठाउँमा मानिस प्रवेश गर्न नदिने गरी पार्क बनाउने लक्ष्य छ।’

नारायणी किनारको विकास गर्नका लागि ‘सी बिच मोडल’ मा गुरुयोजना बनाइएको बताउँदै उनले आगामी दिनमा स्मार्ट शौचालय, पार्क निर्माण, थप दुबो लगाउने योजना रहेको उनको भनाइ छ। शौचालय निर्माणका लागि केही दिनमा ठेक्का लगाउने उनले बताए। उनका अनुसार यसका लागि करिब एक करोड बजेट विनियोजन गरिएको छ।

हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत नारायणी किनारमा पिपल, स्वामीलगायतका एक सय ५० बिरुवा रोपिएको छ। १७ करोड रूपैयाँको लागतमा नदीको पुलबाट उत्तरतर्फ ६४० मिटर लम्बाइको तटबन्धमा अहिले नदीतर्फ सिँढी निर्माण भएको छ। नदीतर्फ सिँढीसहित पैदल मार्ग निर्माण भएको छ। त्यसका साथै आकर्षक पार्क निर्माणको योजनामा महानगर छ।

भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। महानगरका २९ वडाबाट नागरिकलाई कार्यक्रममा सहभागी गराइँदैछ। यसको नेतृत्व वडाका अध्यक्षले गर्ने गरी तयारी भइरहेको छ। भ्रमण वर्षको वडास्तरमा प्रचारका लागि वडाध्यक्ष संयोजक रहेको प्रवर्धन समिति बनाइएको छ।

कार्यक्रमको घोषणापूर्व नदी किनारमा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रिय कलाकारले साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन्।

भरतपुर महानगरभित्र २५ स्थानलाई प्रमुख गतव्यका रूपमा राखिएको छ। विशेष गरेर मेघौली, गोलाघाट, पटिहानी, जगतपुर, नारायणी किनार, देवघाटलगायतका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यमा राखिएको छ।

भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ। भ्रमण वर्ष सम्पन्न गर्न महानगरले तीन करोड रूपैयाँ विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले दुई करोड रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। 

प्रकाशित: २३ माघ २०८० १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App