८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बर्सेनि उक्लिँदै पोखराको तापक्रम

पोखरामा हिउँदको तापक्रम बर्सेनि उकालो लाग्दै गएको छ। लामो समयको अन्तरालमा मात्र पानी पर्नु र भूमण्डलीय उष्णताका कारण बर्सेनि तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ।

विगतका वर्षमा भन्दा दिउँसोको समयमा चरक्क घाम लाग्नाले यो पटक पोखराले उत्तिसारो चिसो महसुस गर्नु नपरेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले बताएको छ।

बिहान–बेलुकी केही बढी चिसो अनुभव भए पनि पोखरामा दिउँसो भने न्यानो छ। यो पटक पानी नपरेको र आसपासका हिमाली भेगमा हिउँ नपर्दा अघिल्ला वर्षजस्तो तापक्रम ओर्लिन नपाएको मौसम विभागअन्तर्गत पोखरा कार्यालयले बताएको छ। 

कार्यालयकी निमित्त प्रमुख रिताकुमारी महतोका अनुसार पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसभन्दा माथि छ। यो पटक ५.५ डिग्री सेल्सियसभन्दा तापक्रम तल नओर्लेको कार्यालयको रेकर्ड रहेको छ।

पोखरामा वर्षकै सबैभन्दा कम तापक्रम सोमबार रेकर्ड भएको छ। सोमबार ५.५ डिग्री सेल्सियस तापक्रम रहेको कार्यालयले बताएको छ। पानी नपरेकाले पनि अघिल्ला वर्षमा भन्दा यो वर्ष पोखरामा बढी न्यानो भएको प्रमुख महतोले  बताइन् ।

पछिल्लो पाँच वर्षको अवधिमा यो वर्ष नै बढी न्यानो रहेको कार्यालयको तथ्यांकले देखाएको छ। पछिल्ला पाँच वर्षको अवधिमा हरेक वर्षजसो हिउँदको बेलाको तापक्रम बढिरहेको पनि कार्यालयको भनाइ छ।

कार्यालयका अनुसार पोखरामा सन् २०२० जनवरी २० मा वर्षभरिकै सबैभन्दा कम ३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। त्यस्तै २०२१ जनवरी १ मा सबैभन्दा कम ४.४ डिग्री सेल्सियस थियो भने २०२२ को जनवरी २७ मा पोखराको वर्षभरिको सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको थियो।  

२०२३ को जनवरी ७ तारिखमा पनि ४.५ डिग्री सेल्सियस नै तापक्रम थियो। ‘पाँच वर्ष अवधिमा यो वर्ष बढी न्यानो छ। पानी नपरेकाले पनि तापक्रम ओर्लिन पाएको छैन,’ उनले भनिन्।

कार्यालयका अनुसार सबैभन्दा कम सन् १९७० जनवरी १३ तारिखका दिन पोखराको तापक्रम १.८ डिग्री सेल्सियस मापन भएको थियो। उनका अनुसार पोखराको अहिले दिउँसोको तापक्रम २० डिग्री हाराहारीमा रहेको छ।  

जल तथा मौसम विज्ञान कार्यालयले पोखराका विभिन्न ठाउँको स्टेसनमार्फत तापक्रमको विवरण संकलन गर्छ। तापनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्टेसनको मापनलाई आधार बनाएर तापक्रम विश्लेषण गर्ने गरेको छ।

‘बिहान र बेलुकी केही चिसो छ। नत्र त दिउँसो पोखरामा चिसो छैन। पोखरामा यो पटक चिसो भएन भनेर कुरा गर्नेहरू धेरै छन्,’ उनले भनिन्, ‘केही गरी पानी प¥यो भने तापक्रम ओर्लिन सक्छ। नत्र अबको एक सातापछि चिसो विस्तारै कम हुन्छ।’ पहाडी भेग भएकाले पोखरामा बिहानको समयमा बढी चिसो अनुभव भएको उनले बताइन्।  

पोखराको तापक्रम योभन्दा पनि कम हुनका लागि अझै केही दिन समय रहे पनि पानी नपरेकाले त्यो अवस्था आउने सम्भावना नरहेको उनले सुनाइन्। ‘चिसोको समय अझै केही दिन त बाँकी छ।

तर, पानी पर्ने सम्भावना नरहेकाले तापक्रम योभन्दा तल नओर्लिन पनि सक्छ,’ महतोले भनिन्। उनका अनुसार यो पटक हिउँदमा पानी नपर्दा पोखरा चिसिन पाएको छैन। अझै केही दिन पोखरामा पानी पर्ने सम्भावना पनि नरहेको उनले सुनाइन्।

‘पोखरामा तत्काल पानी पर्ने सम्भावना छैन। केही गरी पानी परिहाल्यो भने पनि एक साता जति चिसो हुन्छ, त्यसपछि त न्यानो सुरु भइहाल्छ,’ उनले भनिन्, ‘दिउँसो चरक्क घाम लाग्नु, पानी नपर्नु, हिमाली जिल्लामा हिउँ नपर्नु जस्ता कारणले पोखरामा चिसो कम भएको हो। बिहान र बेलुकी मात्र केही बढी चिसो हो, दिउँसो घाममा बस्दा पनि गर्मी नै हुन्छ।’

प्रकाशित: १० माघ २०८० ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App