१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बिदेसिनेका कथा: वैदेशिक रोजगारीले उजाडिएको घर

वैदेशिक रोजगारीले धेरैको घरको छानो जोडिएको छ। तर, कैयन् परिवार यस्ता पनि छन्, जसका घरको जगैसमेत वैदेशिक रोजगारीले उजाडिदिएको छ।  

भोजपुरका श्यामकुमार राई हुन् कि म्याग्दीका किसान परिवार, सबैको व्यथा उस्तै छ। परिवारको खुसीका निम्ति सन्तान विदेश जान्छन्। बाँचेर फर्के त ठिकै हो, काठको बाकसमा फर्के भने जिन्दगीभरि परिवारलाई खुट्काबाहेक केही हुँदैन।

भोजपुरका अविनाश राई कमाउन भनेर विदेश पुगेका थिए। परिवारमा खुसी थियो। एकाएक उनी बितेपछि परिवारको आधार सकियो। परिवारले उनी बितेको दिन बिर्सन सकेका छैनन्।

त्यो दिन जंगलतिर गोठालो गएको थिएँ,’ अविनाशका पिता श्यामकुमार राई त्यो दिन सम्झिँदै भन्छन्, ‘घाँसको भारी र वस्तुभाउ लिएर घर फर्कंदा झमक्क साँझ परेको थियो। श्रीमती खाना बनाएर मेरै बाटो कुर्दै थिइन्।’

घटना भइसकेको रहेछ। माथिल्लो घरतिर खासखुस भइरहेको थियो। तल्लोघर श्यामकै दाजुको थियो। त्यहाँ पनि केही मान्छे जम्मा भएका थिए। ‘भित्रबाट आवाज आयो– बुढो खाना पस्किएँ’। यो श्यामकी पत्नीको आवाज थियो, ‘हातमुख धोएर आउनुस्। लुसुक्क भित्र पसेर बुढाबुढी खाना खायौं। हातमुख चुठ्न भान्छाबाट बाहिर निस्कँदा ५÷७ जना मान्छे टुप्लुक्क आइपुगे।’

बेलुका ८ बजे आँगनमा पाइला हालेका मानिसबिचमा आफ्नै दाजुको बोलीलाई उद्धृत गर्दै राईले भने, ‘भाइ, खाना खाइस्। अघि तँलाई सोध्दै आएको थिएँ। बुहारी मात्रै थिइन्। तँ गोठालो लागेको खबर पाएँ। कुन बेला आइस् ?’  

दाजुको प्रश्नमा राईले जवाफ दिए, ‘भर्खर आएर खाना मात्रै खाएँ। सबै जना यतिबेला आएछौ। किन केही थियो र?’

आँगनमा आएका सबै चुपचाप गाउँलेमध्ये राईको दाजुले भने, ‘हेर् न, अविनाश दिनको ३ बजे कार्यस्थलमै दुर्घटनामा परेको छ रे ? खबर आएको थियो। तँलाई खबर दिन साँझ पाँच बजे आएको थिएँ।’

भित्रबाट अविनाशकी आमा चिच्याउँदै भनिन्, ‘कसरी हुन्छ दुर्घटना ? दिउँसो ३ बजे मात्रै छोरो मसँग भिडियोकलमा बोलेको हो। कम्पनीमा गएर सुत्छु। रातमा ड्युटी छ। पैसा पठाएको छु है आमा भनेको थियो।’

अविनाशकी आमा रुँदै–कराउँदै गर्दा घरमा जम्मा भएका मानिसबाट एक्कासी आवाजमा ‘दुर्घटना मात्रै होइन, अविनाशको मृत्यु भइसक्यो’ आखाँबाट आसु खसाल्दै अविनाशका बाबुले भने, ‘त्यो आवाजले श्रीमती भुइँमा मुर्छा परिन्। हातखुट्टा कामे र आँगनकै डिलमा थचक्क बसे। हामीलाई त्यो खबरले मरेतुल्य बनायो। घरमा जम्मा भएका मानिस कसैले अविनाशकी आमालाई सम्हाल्ने काम गरे भने केहीले मलाई घेर्न थाले। त्यो रात पूरै रोएर कट्यो।’  

श्यामकुमार राईको एउटै सन्तान भनेकै २२ वर्षीय छोरा अविनाश थिए। परिवारको चाहना छोरा सेना र प्रहरीमा जाओस् भन्ने भए तापनि अविनाश वैदेशिक रोजगारीका क्रममा गत वर्ष असार २ गते मलेसिया गएका थिए। बाबुआमाको इच्छा स्वदेशमै रहोस् भन्ने थियो भने अविनाशको चाहना विदेश गएर राम्रो आम्दानी गरेर वृद्ध मातापितालाई हेर्नु थियो।  

गत असोज २० गते अविनाशकी आमालाई भिडियो कल गर्दै पैसा हालेर कार्यस्थलमा पुगी रातिको ड्युटी छ, सुत्छु आमा भन्दै छोराले फोन काटिदिएको अविनाशका पिताले बताए। अविनाशको आमासँग बोलेको त्यो नै अन्तिम फोन थियो।  

‘खै त्यो दिन के भयो। छोराको सधैं रातको ड्युटी हुन्थ्यो। उसका साथीहरूको दिनमा ड्युटी भएकाले उनीहरू कोठाको ताल्चा लगाएर कामतिर गएका थिए। साथीले कोठाको साँचो छोराका लागि राख्न बिर्सिएर साथमै लिएर गएका रहेछन्,’ अविनाशका पिताले नागरिकसँग भने, ‘रातमा ड्युटी गएर आएको छोरो दिनभरि पनि सुत्न पाएको थिएन। छोराको साथीबाट सूचना आएअनुसार कोठामा साँचो नभेटिएपछि राति ड्युटी छ, सुत्नै पर्छ भन्दै पछाडिको झ्यालबाट कोठामा पस्दा तिनतलामाथिबाट खसेर मृत्यु भएको खबर आएको हो।’

उनले भने, ‘आमासँग कुरा गरेको केहीबेरमै छोराले संसार त्यागेको रहेछ। त्यो कुरा नेपालमा बेलुकाको ५ बजे नै खबर आएको रहेछ। हामीलाई कसैले खबर गरेनन्। बुढेसकालको सहारा र हाम्रो जिन्दगी थियो छोरो।’

‘आमालाई साह्रै माया गथ्र्यो। आमाका कुरा नकार्न सक्दैनथ्यो। एउटै सन्तान धेरै मायाले हुर्काका थियौं। सबैको नजरमा छोरो असल थियो। समाजमा सबैको आखाको न्यानोपन थियो। अरूलाई सहयोग र दयामाया गर्ने उसको भावना थियो,’ अविनाशका बाबुले भने।  

अविनाश मलेसियामा पन्जा बनाउने काम गथ्र्यो। परिवारले अविनाशको शव १२ दिनमै नेपाल ल्याएर दाहसंस्कार गरेको थियो। अविनाशका पिताले भने, ‘छोरालाई पशुपतिको विद्युत् शव गृहमा हाल्दाको पल हेर्न सकिएन। फनक्क फर्किएर धेरै वर आएँ। आफू पनि छोरासँगै जान पाए हुन्थ्यो भन्ने भयो। जान नसकिने रहेछ नानी। दसैंको बेलामा छोरालाई जलाउनुपर्‍यो।’  

उनी रोकिएनन्, ‘अब कहिल्यै फिर्किन्न काठमाडौं। अरूका लागि राजधानी होला। तर, मेरा लागि काठमाडौं छोरो जलाएको ठाउँ हो। अब मलाई काठमाडौं कहिल्यै प्यारो लाग्दैन। घरमा त जताततै छोरैछोरो देख्छु। काठमाडौं गएँ भने वरिपरि छोरो घुमिरहेको हुन्छ झैं लाग्छ।’

‘भोजपुरको दुर्गम ठाउँमा हामी बस्छौं। साथीभाइ, आफन्त बोलेको झ्याउ लाग्छ। कसैको बोली सुन्न मन लाग्दैन। एकोहोरो हुन्छु। यहाँ साँझ पर्दै जान्छ तब डर लाग्न सुरु हुन्छ। किन हो नानी, धेरै डर लाग्छ। त्यो डरले रातभरि सुत्न सक्दिनँ। बुढीलाई पनि मलाई जस्तै हुन्छ भन्छे,’ अविनाशका बुबा एकोहोरिँदै बोलिरहे।  

अविनाशको मृत्युपछि उसका बाबुआमाको जिन्दगीमा अन्धकार छाएको छ। आमा अझै अचेत छिन्। ‘हामी बुढाबुढी भइसक्यौं। छोरो नै हाम्रो सबथोक थियो। कठोर संघर्षमा छौं। जिन्दगी कसरी बित्छ थाहा छैन,’ भावुक हुँदै उनले भने, ‘अरूको देशमा छोरो म¥यो। छोरोभन्दा अगाडि हामी मर्न सकेनौं। चिन्तैचिन्ताले बुढी मर्न लागिसकी। खै, यो चिन्ताले कहिले चितामा पु¥याउँछ थाहा छैन।’

छोरा गुमाएकै कारण राईको परिवारमा ठुलो बज्रपात परेको छ। दुई बुढाबुढी छोराकै सम्झनामा दिनरात कटाउन मुस्किल भइरहेको छ। अविनाशको परिवारलाई वैदेशिक रोजगार बोर्डबाट मलेसियाको कार्यस्थलमा दुर्घटना भएको उल्लेख गर्दै ७ लाख आर्थिक सहायता प्रदान गरेका छन्।  

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अविनाश प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्ता हजारौं युवाले वैदेशिक रोजगारीकै क्रममा अकालमै मृत्युलाई रोज्नुपरेको छ।  

परिवारको आर्थिकभार व्यवस्थित गर्न अविनाशजस्तै म्याग्दीका ३६ वर्षीय कुमार किसान पनि साउदी अरेबिया पुगेको दुई वर्ष नपुग्दै मृत्यु भएको छ। उनको विदेशमा सुतेकै अवस्थामा मृत्यु भएको हो। परिवारलाई बाससमेत नहुँदा बिदेसिएको कथा सुनाउँछिन् किसानकी पत्नी मिना। स्वदेशमा भएको ऋण चुक्ता गर्न र परिवारलाई पाल्न उनी बिदेसिएका थिए। साना छोराछोरी र आमा श्रीमतीलाई जिम्मा लगाएर किसान साउदी अरेबिया गएका थिए। तर, त्यो जिम्मा श्रीमतीलाई उनले सदाका लागि दिएर गए।  

‘हाम्रो बास थिएन। बाउबाजेको सम्पत्ति पहिल्यै बेचिसकेका थिए। छोराछोरी पढाउँदै रिनधन गरेर गाउँमै आफू टेक्ने जग्गा जोडेका थियौं। जग्गा भयो तर बास भएन। त्यसैका लागि उहाँ विदेश जानुभएको थियो। तर, कहिल्यै नफर्किने गरेर उत्तै अस्ताउनुभयो,’ मिनाले भनिन्, ‘यता हुँदा केही रोग थिएन। बिहे भा’को १६ वर्ष भयो। उहाँले औषधी खाएको थाहा छैन। शरीरमा त्यस्तो रोग भएको भए विदेश जाँदा मेडिकल कसरी पास हुन्थ्यो। बरु मेडिकलले फेल देखाएको भए यहीं कुटोकोदालो सँगै गर्नुहुन्थ्यो।’

गत भदौ २१ गते किसान आफ्नो ड्युटी पूरा गरी कोठामा आएर परिवारसँग कुरा गरेको पललाई सम्झिँदै मिना भनिन्, ‘भदौको झरी थियो। दिनभरि खेत गोडेर बेलुका मात्रै श्रीमान्सँग कुरा भएको थियो। श्रीमान् पनि कामबाट भर्खर आएका थिए। उहाँ कामबाट आउनेबित्तिकै नुहाएर खाना खाएर ओछ्यानमा पल्टिँदै कुरा गरिरहेका थियौं। कुरा गर्दैगर्दा तिमीहरू पनि खेतमा काम गरेर आएका छौ, कति थकाइ लागेको होला। भोलि शुक्रबार छ, लामो कुरा गरौंला। अहिले सुत्नु भनेका थिए।’  

भोलिपल्ट श्रीमान् अनलाइन आउने आशाले मिनाको दिन बित्यो। मिनाको मोबाइलमा श्रीमान्को भिडियो कल आएन। आफ्नो मान्छे अनलाइन नआउँदा त्यसै मनमा चिसोपना भएको उनले बताइन्।  

‘त्यो दिन पूरै कुरें। कल आएन। शनिबार भयो। खाना खायौ भन्दै घरमा कहिले नआउने मान्छे आए। तिम्रो बुढा धेरै बिमार छन् रे भनेर खबर आयो। मन आत्तियो। चित्त बुझेन। खबर ल्याउने मान्छेको घर गएर फेरि सोधपुछ गर्दा सुतेको ठाउँमै शुक्रबार नै बितेको खबर पाएँ,’ उनले भनिन्।  

पूरै आकाश अन्धकार भएर छोप्यो। कसो गरे के भयो थाहै छैन। उहाँको सम्झनाले हरदिन रुवाएको मिना बताउँछिन्। पूरै जिन्दगीसँगै बिताउने कसम खाएका श्रीमान्ले बिचबाटैमा बालबच्चा र आमाको जिम्मेवारी लगाएर गएको मिनाले बताइन्।  

‘जग्गा लिएको ऋण तिरेर सक्छु। अलिअलि पैसा पठाउँछु अनि घर बनाउने हो भनेको मान्छे आफैं आउनुभएन,’ मिनाले भनिन्, ‘सुतेकै अवस्थामा मृत्यु भएपछि उहाँको शव नेपाल आउन पनि ६५ दिन लाग्यो।’  

ऋण गरेर लिएको घडेरी पनि गत भदौको बर्खाले बगाएर तल सारेको छ। अहिले त हिउँद छ, बर्खाले झारेको घडेरी अड्किएको छ। उक्त जग्गा अब आउने बर्खामा बगाउने होला भन्ने ठुलो चिन्तामा मिना छिन्। उनलाई त्यो चिन्ता मात्रै छैन। ससाना बालबच्चा, मधुमेहले थलिएकी सासूआमा र ऋण लिएको ब्याज एकको दुई भएको उस्तै पिरले मिनालाई सताइरहेको छ।  

कुमारले मिनालाई पूरै खुसी दिँदै आएका थिए। पतिको माया सम्झिँदै मिना भन्छिन्, ‘संसारमा मैले माया भन्ने अनुभव उहाँबाटै पाएको थिएँ। म बिसन्चो हुँदा उहाँलाई सन्चो हुँदैनथ्यो। मेरो साह्रै ख्याल गर्नुहुन्थ्यो। छोराछोरी भनेपछि हुरुक्क हुनुहुन्थ्यो। हाम्रो खुसी दैवले पनि देख्न सकेन।’

वैदेशिक रोजगार बोर्डबाट कुमारको प्राकृतिक मृत्युको विवरण खुलाउँदै ७ लाख आर्थिक सहायता गरेको बोर्डको तथ्यांकमा छ।  

देशमा रोजगारीको अवसर नभएपछि वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका कसैका छोराछोरी, भाइबहिनी, पतिपत्नी र आमाबाबुले अकालमा ज्यान गुमाउनुपरेको छ। उनीहरू परिवारको आर्थिक भार सम्हाल्न वैदेशिक रोजगारमा पुगेका हुन्छन्। वर्षौंवर्ष बिदेसिएका युवाहरू परिवारसँगको मिठो भेटबिना नै मृत्युलाई अँगालिरहेका हुन्छन्।  

आर्थिक अवस्थाकै कारण बिदेसिएका उनीहरू मात्रै नभएर अरू थुप्रै युवा बिरामी तथा अंगभंग र मृत्यु भएर स्वदेश फर्किनुपरेको छ।  

रोजीरोटीका लागि रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्। यसरी बिदेसिएका नेपालीमध्ये कामबाट फर्किएर सुतेकै अवस्थामा मृत्यु हुने, कडा खालको रोग लाग्ने र बिरामी हुने, कामका क्रममा अंगभंग हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ।

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको छ।  

मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको मृत्यु हुने गरेका छन्। कतिपयले ज्यानै गुमाएका छन्। विशेषगरी खाडी मुलुकमा गएका नेपालीले बढी सास्ती पाएका उप्रेतीले बताए।  

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वैदेशिक रोजगारीका क्रममा मृत्यु भई स्वदेश फर्किएर बोर्डबाट आर्थिक सहायता पाएका संख्या मात्रै ५ सय ३९ जना रहेको छ। उक्त तथ्यांक बोर्डबाट आर्थिक सहायता पाएकाहरूको मात्र हो।

वैदेशिक रोजगारीका क्रममा यति जनाको मृत्यु भयो भनेर वैदेशिक रोजगार बोर्डले तथ्यांक सार्वजनिक गर्छ। तर, परिवारका निम्ति त्यो तथ्यांक होइन, सर्वस्व हो। एउटा व्यक्ति विदेशमा ढल्दा स्वदेशमा बाँच्नेको भरोसा पनि ढल्छ। त्यसले घरपरिवारलाई जगैसम्म भत्काउँछ। यो सामाजिक मूल्यको हिसाब कतै छैन।  

प्रकाशित: ६ माघ २०८० ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App