१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्क्वायर होटेलका सञ्चालकविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी

ललितपुरको स्क्वायर होटेलमा पौडी खेल्ने क्रममा बिरामी भएका साजिलमान शाक्यका परिवारले होट सञ्चालकविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराएका छन्। गत भदौ १५ गते पौडी खेल्ने क्रममा करेन्ट लागेर बेहोस भएको र अहिलेसम्म शाक्यको अवस्थामा कुनै सुधार नआएको पोखरीमा करेन्ट राखी ज्यान मार्ने उद्योग गरेको आरोपमा उजुरी दर्ता भएको हो।

पौडी पोखरीमा करेन्ट लागेर घाइते भएका शाक्यलाई तत्काल मेडिसिटी अस्पताल पु¥याइएको थियो। लामो समय अस्पतालमा राख्दा पनि उनको अवस्थामा सुधार नआएपछि अहिले घरमै राखेर उपचार गराइराखिएको छ।

‘स्क्वायर होटेलका सञ्चालकविरुद्ध साजिलमान शाक्यका परिवारले उजुरी दर्ता गराउनु भएको छ। शुक्रबार उजुरी आएको छ, कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढ्छ,’ ललितपुर प्रहरी परिसरका एसपी नवराज कार्कीले भने।

उनका अनुसार यसअघि कार्यालयमा उजुरी नआएको तर घटनालाई प्रहरीले नजिकबाट नियालिराखेको थियो। ‘उहाँहरूलाई होटलले क्षतिपूर्ति दिन आनाकानी गरिरहेको भन्ने बुझेका छौं। यसअघि पीडित पक्ष संवाद रहेको जस्तो लागेको छ,’ एसपी कार्कीले भने।

 पौडी खेल्दा करेन्ट लागेर बिरामी भए पनि होटेल जिम्मेवारीबाट पन्छिएको आरोप परिवारले लगाएका छन्। जिल्ला प्रहरी कार्यालय ललितपुरले घटनाको अनुसन्धान गरिरहेको छ।

ललितपुरका ४० वर्षीय सजिलमान भदौ १५ मा श्रीमती र साढे दुई वर्षकी छोरी लिएर स्विमिङ गर्न घर नजिकैको होटेल स्क्वायर पुगेका थिए। सजिलमानलाई स्विमिङको राम्रो ज्ञान भएकाले छोरीलाई पनि पौडी खेलाइरहेका थिए। त्यसबेला स्वास्थ्य अवस्था पनि ठिक रहेको परिवारको दाबी छ। जब उनलाई करेन्ट लाग्यो त्यहीबेला पूर्णरूपमा अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनको अहिलेसम्म होस खुलेको छैन। हातको नाडीमा जलेको दाग रहेको परिवारजनको दाबी छ।

चिकित्सकले उनको मस्तिष्कमा आवश्यक अक्सिजन नपुग्दा गम्भीर आघात पुगेको बताएका थिए। करिब दुई महिना अस्पतालमा उपचार गर्दा पनि उनी कोमामा रहका थिए।

पौडी खेल्ने क्रममा श्रीमतीले हात समात्दा झड्का हान्नु अनि हातको नाडी डढेकाले हिटिङको क्रममा स्विमिङ पुलमा विद्युत् सर्ट हुँदा दुर्घटना भएको परिवारजनको दाबी छ। शाक्यका परिवारले होटल परिसर र वडा कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका थिए।

 परिवारजनले उनको उपचारको क्रममा अहिले ६० लाख बढी खर्च भैसकेको र यस्तो अवस्थामा होेटलले उपचारका लागि कुनै पहल नगरेको दाबी गरेका छन्। अहिले घरमा पनि उनको हेरचाहका लागि घरमै २४ सै घन्टा नर्स राखिएको छ।

प्रकाशित: ५ माघ २०८० ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App