१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाजुराकी छायालाई लोकसेवाको माया !

जीवनमा एकैपटक यति धेरै खुसी मिल्ला भन्ने कल्पनासमेत गरेकी थिइनन्, बाजुराकी छाया जैसीले। तर कठोर संघर्ष र साधनाको परिणाम भन्नुपर्छ, उनले नसोचेको सफलता हात पारेकी छन्।

१० महिनाको अन्तरालमा उनले लोकसेवा आयोगका ६ वटा लिखित परीक्षा पास गरेकी छन्। तीमध्ये कोसी प्रदेश लोकसेवाले लिएको लिखित परीक्षा सफलतापछि मौखिकमा पनि नाम निकालेर उनी अहिले उदयपुरको ताप्ली गाउँपालिकामा पशु सेवा प्राविधिकका रूपमा कार्यरत छिन्।

अर्को एउटामा मौखिकको नतिजा आउँदा उनी वैकल्पिकमा परिन् । बाँकी चारवटा मौखिक परीक्षाको नतिजा आउन बाँकी छ। बाँकी सबैमा राम्रो आउनेमा उनी ढुक्क छिन्। एकपछि अर्को सफलता पाउँदा उनी अत्यन्त खुसी छिन्।

उनको पढाइ राम्रै थियो। मेहनत पनि बढी नै गर्थिन्। तर दिएजति परीक्षामा उत्तीर्ण भइएला भन्नेचाहिँ उनलाई लागेको थिएन। ‘दिएका सबै ठाउँमा पास हुन्छु भन्ने चाहिँ लागेको थिएन तर मेहनत गरे खेर नजाने रहेछ। रिजल्टले त्यही बतायो,’ उनले भनिन्, ‘संघर्षको फल मिलेकोमा सन्तुष्ट छु।’

२०८० को वैशाखदेखि माघसम्म ६ वटा लिखित परीक्षामा उनी सफल भएकी हुन्। सफलताका लागि कठोर संघर्ष गरेको उनले सुनाइन्। ‘रातदिन नभनी तयारी गरें। आँखाको पानी सुकाए। निद्रा, भोक र प्यास सहेर किताब घोके। त्यसको प्रतिफल राम्रै आयो,’ प्रफुल्ल मुद््रामा छायाले भनिन्।

छायाले लोकसेवा आयोगको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन्। गएको वैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकाले पनि मौखिकमा वैकल्पिक उनले चित्त बुझाउनुपर्‍यो। कोसी लोकसेवा आयोगले लिएको परीक्षामा मंसिर ३० गते सफल नतिजा हात पारिन्।

भेटेनरी चौथो तहमा नाम निकालेकी उनी उदयपुरमा सिफारिस भइन्। त्यसपछि पनि उनले चारवटामा लिखित परीक्षा उत्तीर्ण गरिन्। पुस २५ गते लुम्बीली प्रदेश लोकसेवाको भेटेनरी चौथो तह, पुस ९ गते संघीय लोकसेवाको भेटेनरी पाँचौं तह, पुसकै ३ गते वाग्मती प्रदेशमा सोही सेवाको पाँचौं तह र त्यसअघि असोज १४ गते सुदूरपश्मिच प्रदेश लोकसेवाको चौथो तहमा उनले नाम निकालेकी हुन्। यी चारवटै मौखिक परीक्षाको परिणाम भने प्रकाशित हुन बाँकी छ।

छायाको जन्म अति विपन्न परिवारमा भएको हो। उनको परिवारलाई हातमुख जोर्न ज्यालामजदुरी र खेतीकिसानी बाहेक अर्को विकल्प थिएन्। बुबाआमा साँझबिहान खेतबारीमा काम गर्थे। बुवा महानन्द जैसी दिउँसोको समयमा थप ज्यालामजदुरी गरेर सन्तानका लागि पढाइ खर्च र लत्ताकपडा जोहो गर्थे।

छाया जुन विद्यालयमा पढेकी थिइन्, त्यहीँ विद्यालयको भवन निर्माणको काम गरेर बुवा महानन्दले शुल्क तिरेको उनी सम्झिन्छिन्। बुढीगंगा नगरपालिका–६ माल्ताकी छाया त्यहीकै भानुदय माविमा कक्षा १ देखि १२ सम्म पढेकी हुन्।

२०७२ सालमा उक्त विद्यालयमा कृषि प्राविधिक कक्षा सुरु भयो। बुबाले छायालाई कृषि प्राविधिक शिक्षा पढ्न लगाए। विद्यालयले तोकेको थोरै शुल्क तिर्न पनि परिवारसँग आर्थिक हैसियत थिएन। त्यसकारण भानुदयको भवन निर्माणमा बुवा जुटेको छायाले सुनाउने गरेकी छन्। एकातिर विपन्न परिवार, अर्कातिर सात सन्तानको पालनपोषण र शिक्षादीक्षाको अभिभारासमेत आमाबुबाको काँधमा थियो। छाया चौथो सन्तान हुन्।

गाउँनजिकैको विद्यालयबाहेक बाहिर लगानी लगाएर पढाउन सक्ने आर्थिक हैसियत नहुँदा छायासहित सबैले गाउँकै विद्यालयमा पढेका थिए। त्यसमा उनलाई कुनै गुनासो छैन। जहाँ भए पनि राम्ररी पढ्नुपर्छ भन्ने उनलाई लाग्थ्यो। अलिकति बुझ्ने भएपछि सरकारी जागिर खान्छु भन्ने विचार छायाको मनमा पलाएको थियो।

नभन्दै सानै देखिको सरकारी जागिर खाने सपना छायाले पूरा गरेरै छाडिन्, त्यसमा पनि सम्भवतः ऐतिहासिक रेकर्ड कायम गरेर। एकै वर्ष ६ पटक लोकसेवा परीक्षा सफल भएकी भनेर गुल्मीकी मनीषा जिसीको नाम चर्चामा आइरहे पनि छायाले ६ वटा परीक्षा पास गरेकी हुन्। लोकसेवा पास गर्न सहर नै जानुपर्छ भन्ने मान्यतालाई पनि उनले चुनौती दिएकी छन्।

भानुदय मावि बाजुराकै नमुना र पुरानो विद्यालय हो। कृषि प्राविधिक शिक्षालयतर्फ पनि भानुदयमै अध्ययन गरेका दर्जनभन्दा बढीले लोकसेवामा नाम निकालिसकेका छन्। छायाको सफलताले सिंगो विद्यालय परिवार खुसी भएको प्रधानाध्यापक मनवीर खातीले बताए।

छायाको संघर्ष र सफलता अरूका लागि प्रेरणाको स्रोत बन्ने विवास उनले व्यक्त गरे। छायाको सफलतामा सिंगो समुदाय नै खुसीले गदगद बनेको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानीयाँले बताए। विपन्न परिवार भए पनि आफूले आर्जन गरेको शिक्षालाई उपयोग गरेर गर्व गर्न लायक सफलता छायाले प्राप्त गरेको उनको भनाइ छ। 

सफलता संघर्षबाटे प्राप्त हुन्छ। गाउँमै बसेर पनि सफल हुन सकिन्छ भनेर छायाले प्रमाणित गरेपछि आफन्त, विद्यालय र समुदायस्तरमा पनि नयाँ बहस सुरु भएको छ। छाया भने अरूलाई देखाउन नभई आफ्नो सपना पूरा गर्न मिहिनेत गरेको र सफलता पनि मिलेको बताउँछिन्।

प्रकाशित: ५ माघ २०८० ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App