१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घरआँगनमै खानेपानी, स्थानीय दंग

पलाँतामा खानेपानी पुगेपछि दंग स्थानीय। तस्बिर: नागरिक

कालिकोटको पलाँता गाउँपालिका–२ लार्फाकी ३४ वर्षीया अस्मिता विश्वकर्मा आँगनमै पानीको धारा झरेपछि दंग छिन्। एक गाग्रो पानीका लागि घन्टौं कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी भएकी हुन्।

‘घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौं,’ उनले भनिन्, ‘अहिले हाईसन्चो भएको छ।’

बाजेको पालादेखि खानेपानीको चरम समस्या झेल्दै आएका पलाँताको दुर्गम गाउँ खाडा–बान्जडा, लार्फा र मिजुबाडाका बासिन्दाले खानेपानीको समस्याबाट मुक्ति पाएका छन्।

पलाँताको बान्जडा, लार्फ, मिजुवाडा, ढकेना र शीतल गाउँका घरआँगनमै खानेपानी पुगेपछि पानी जोहो गर्न दिनभरि गाउँकै एक सार्वजनिक कुवामा लाम लागिरहनुपर्ने बाध्यताबाट बान्जडावासीले दशकौं पछि मुक्ति पाएका हुन्।

जिल्लामा खानेपानीको अभाव खेपेका विभिन्न गाउँवासीले पलाँताको खाडा–बान्जडाजस्तै काकाकुलको अवस्था भयो भनेर कुनै समय उदाहरण दिने गर्थे। अहिले त्यसै खाडा–बान्जडा र लार्फामा ४०० भन्दा बढि घरधुरीमा घरघरै पानीको धारा पुगेपछि स्थानिय खुसी भएका छन्।

‘२०७४ सालको स्थानीय तहको निर्वाचनसम्म हामीले चार घन्टा लगाएर एक गाग्रो पानी बोक्थ्यौं,’ लार्फाकी नानी दर्जीले भनिन्, ‘अहिले त धेरैको घरघरमा पानीको धारा आइसक्याछ। केहीको घरमा मात्र आउन बाँकी छ।’

खानेपानी ल्याउन पिठिउँमा डोको बोकेर चार घन्टा पैदल गर्नुपर्देन अब। लुगा धुन पनि सजिलो भयो। ‘एक गाग्री खाने पानी भर्न दिनभर सार्वजनिक कुवामा लाइन लाग्नुपर्थ्याे। यस्ता समस्या झेलेकी हुँ अहिले घरकै आँगनमा पानी आउँदा खुसीको सीमा छैन,’ नानीले भनिन, ‘खानेपानीको पिरलो हट्यो घरको बारीमा सिँचाइसमेत हुने गरेको छ। तरकारी पनि खान पाइएको छ। अब दिन फेरिए। जति दुःख पायौं, उ बेलामै पायौं।’

घरआँगनमै खानेपानी आउँदा नानी दर्जी मात्र हैनन्, बान्जडा निवासी अमना प्याकुरेलमा पनि खुसीको सीमा छैन। वर्षले ७६ पुगेकी अमनाको दुःख सुनिनसक्नुको छ। बिहान पानी भर्न जाने चिन्ताले राति निद्रा नै आउँदैनथ्यो उनलाई। कतिबेला उज्यालो होला र डोको बोकेर पानी ल्याउन जाउँला भनेर मनमनै चिन्ता परिरहन्थो।

‘यस्ता दुःखबाट मुक्ति पाइयो,’ उनले भनिन्, ‘बाँचेपछि सब देख्न पाइन्छ भन्थे, साँच्चै रहेछ।’

सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना (सुशा) का संयोजक धीरबहादुर भण्डारीका अनुसार जिल्लाकै सुक्खा क्षेत्र पलाँताको बान्जडा, मिजुवाडा, लार्फा, राडुनेटा, ढकेना र शीतल गाउँका घरमा घर घरमा खानेपानी धारा पुगेको छ। 

खानेपानी योजनाबाट सबै समुदायका गरी जम्मा ४३८ घरधुरीको घरघरमा धारा पुगेको छ। ३ करोड रूपैयाँको लागतमा आयोजनाभित्र मिटरसहितका ४४१ धारा र विद्यालयमा शौचालय निर्माण गरिएको भण्डारीले बताए।

आयोजना सम्पन्न भइसकेका छन् अव केही दिनमै गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी थालेको उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाका अनुसार ४३८ घरमा धारा बनेर खानेपानी खसिसकेको छ। बान्जडा, लार्फा, मिजुवाडाका बासिन्दाले सदियौंदेखि खाने पानीको चरम अभाव झेल्नुपरेको थियो। अहिले यो समस्या हल भएको उनले बताए।

‘यहाँका बासिन्दाले अब दिनभर लाइनमा बसेर पानी खानुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। गाउँका एक सार्वजनिक धारामा गाउँभरिका नागरिकले पानी खानुपर्ने बाध्यता हटेको छ। यो ठुलो उपलब्धि हो।

भन्लान्, संघीयता आएको ६ वर्षसम्म पनि खानेपानीको समस्या हटाउन सकेनन्? पलाँता क्षेत्र अन्य क्षेत्रहरूभन्दा विकट र दुर्गम छ। सुक्खा क्षेत्रमा पानीको स्रोत नै छैन। टाढाबाट खानेपानी बान्जडा क्षेत्रमा ल्याउनु निकै चुनौतीको विषय थियो। बल्ल यो समस्याबाट मुक्ति पाएका छौं।’

घरको आँगनमै मिटरसहितको खानेपानीको धारा बन्यो र पानी पनी खस्यो। सुशा परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएका खानेपानी आयोजनालाई केही दिनमै गाउँपालिकालाई हस्तान्तरण गर्ने अध्यक्ष रोकायाले बताए।

प्रकाशित: २ माघ २०८० ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App