१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिडियो र एसपीलाई उन्मुक्ति हवल्दारलाई कारबाही

कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला सर्लाहीको बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ।

पुस २० मा सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको घट्नामा गोली चलाउने प्रहरी कर्मचारीलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई भने कुनै पनि कारबाहीको सिफारिस गरिएको छैन।

प्रहरी कर्मचारीले आन्दोलनको बेला प्रतिरक्षाका लागि गोली चलाएकोमा एक जनालाई मात्र दोषी देखाएर कारबाहीको सिफारिस गरिएको हो। प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो।बरहथवा घट्नाको छानबिन गर्न बनेको समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाउँदै गोली प्रहार गर्ने हवल्दारलाई कारबाहीको सिफारिस गरेका हुन्।

तर समग्र जिल्लाको शान्ति सुरक्षाको कमान्ड सम्हालेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी र प्रमुख जिल्ला अधिकारीको भूमिकाको बारेमा भने उनको प्रतिवेदन मौन रहेको छ। गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख सहसचिव गौतम नेतृत्वको समितिले आइतबार त्यससम्बन्धी प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले  जानकारी दिए।

 ‘बरहथवा घट्नाको विषयमा छानबिन समितिले प्रतिवेदन दिएको छ त्यसमा के के उल्लेख छ भन्ने बारेमा मलाई जानकारी छैन,’प्रवक्ता भट्टराईले भने। समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ। इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत हवल्दार मेजर सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको ठहर छ।  

छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवाको मात्रै सिफारिस गरेको छ। समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाइसकेको छ। ३ महिनाअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीको कमान्ड सम्हाल्न गएका कोमल धमला र जिल्ला प्रहरी कार्यालयको कमान्ड सम्हाल्न गएका एसपी प्रवीण धितालले सम्भावित दूघर्टनाबारे आँकलन  गर्न नसक्दा सो दुर्घटना भएको भएपनि मन्त्रालयले गठन गरेको छानबिन समितिले एक जना हवल्दारलाई मात्र दोषी देखाएर उनीहरूलाई उन्मुक्ति दिएको छ।

नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा भिड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले गोली चलाएका हुन्। जयशंकरको मृत्युपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबिच ११ बुँदे सहमति भएको थियो। सहमतिसँगै पाँचदलिय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए। नेपाली कांग्रेस, जसपा, लोसपा र जनमत पार्टी सहित ५ दलले अस्पतालको विषयलाई लिएर आन्दोलन गरेका थिए।  

त्यसअघि सर्लाहीमा हिन्दु र मुस्लिम समुदायको बिचमा विवाद भएको थियो।  त्यस विवादले उग्र रुप लिएपछि तत्कालीन सिडियो इन्द्रदेव यादव र  एसपी नरेशराज सुवेदीको सरुवा भएको थियो। हिन्दु र मुस्लिम समुदायको बिचमा दङ्गा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता देखाउन नसकेको विश्लेषण गरिएको थियो। 

त्यसैको आधारमा गृह मन्त्रालयले असोज २४ मा सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा धमलालाई सरुवा गरेको थियो। साथै प्रहरी प्रधान कार्यालयले पनि एसपी धिताललाई पठाएको थियो।

प्रकाशित: १ माघ २०८० ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App