२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सरकार ! भूकम्प प्रभावितहरूको पुनर्निर्माण र पुनस्थापना कहिले ?

जाजरकोट भूकम्पबाट प्रभावितहरूको पुनर्निर्माण र पुनस्थापना कार्य सरकारले अझै सुरु गरेको छैन। पुनर्निर्माण र पुनस्थापनाका लागि स्रोत तथा जनशक्ति दुवैको समस्या देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।

पुनर्निर्माणको लागि पूर्वाधार अन्तर्गत स्रोत कसरी ल्याउने ?, कसले नेतृत्व गर्ने ? भन्नेमा अझ पनि स्पष्ट भएको छैन। पुनर्निर्माण लागि एकीकृत कार्यविधिले समेत अन्तिम रूप पाउन सकेको छैन। पुनर्निर्माण तथा पुनस्थापनाका लागि ५४ करोड ८९ लाख ३१ हजार ६ सय अमेरिकी डलर लाग्ने अनुमान छ।

लाभग्राहीको घरहरू रेट्रोफिटेड गर्ने कि ? पुननिर्माण गर्ने ? या नयाँ बनाउनुपर्ने हो पहिचान गर्न अझ बाँकी रहेको प्राधिकरणका उपसचिव ध्रुब बहादुर खड्काले बताए। उनका अनुसार डिटेल ड्यामेज एसिसमेन्टका लागि ९ सय जना इन्जिनियर आवश्यक पर्दछ। त्यसका लागि जनशक्ति र स्रोत समेतको अहिले अभाव छ।

पुनस्थापना र पुनर्निर्माणका लागि करिब १ खर्ब रुपैयाँ लाग्ने प्राधिकरणको अनुमान छ। सरकारले दातृ निकाय विश्व बैंक र एसियाली विकास बैंकसँग अनुदानको आशा गरिरहेको छ। तर अनुदान नपाएको अवस्थामा भने क्रणबाट भएपनि पुनर्निर्माण कार्य अगाडि बढाउने रणनीति सरकारले लिएको अधिकारीहरू बताउँछन्। भूकम्प प्रभावित क्षेत्रका लागि भारत सरकारले १० अर्ब रुपैयाँ अनुदान दिने प्रतिवद्धता जनाएको छ।

प्राधिकरणले पुनस्थापना तथा पुननिर्माणको लागि आवश्यक मोटालिटी समेत तय गरेको छ। तीन तहकै सरकारको समन्वयमा हुने पुननिर्माण कार्यक्रममा सार्वजनिक पूर्वाधार पुननिर्माण कार्य विषयगत निकाय र प्रदेश सरकारबाट गर्ने प्राधिकरणले योजना बनाएको छ।

त्यस्तै निजी आवास पुननिर्माण स्थानीय तहको नेतृत्वमा गर्ने योजना छ। स्थानीय जनताले आफ्नो इच्छा अनुरूपको घर बनाउन सक्ने, सामुदायिक सहभागितालाई प्रोत्साहन गर्दै स्थानीय शिल्पीको प्रयोग गर्ने ढाँचा प्राधिकरणले तय गरेको छ। त्यसका लागि संघ प्रदेशको वित्तीय र प्रविधिको उपलब्धताका आधारमा गराउने रणनीतिका साथ कार्यविधिको निर्माण कार्य भइरहेको प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।

गत कार्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्र भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५४ जनाको मृत्यु भएको थियो।

त्यस्तै ३ सय ६६ जना घाइते भएका थिए। भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम सहित १३ जिल्लामा गरी २६ हजार ५ सय ५७ घर पूर्ण क्षति भएको थियो भने ३५ हजार ४ सय ५५ वटा घर आंशिक क्षति पुगेको थियो।

प्रकाशित: १ माघ २०८० ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App