१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

धनुषामा ‘साथी’हरूको कुटपिटबाट युवकको मृत्यु, युवककी श्रीमती पनि घाइते

जनकपुर धनुषामा एकजना युवकको शव फेला परेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका अन्दाजी २४ राधे सहनीको शव सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित गहुँ खेतमा फेला परेको हो।

मृतक राधेको श्रीमती अस्मिता शर्मा भने आइतबार साँझ घाइते अवस्थामा फेला परेकी थिइन्। श्रीमती शर्माले श्रीमानलाई उनकै साथीहरूले कुटपिट गरिरहेको जानकारी प्रहरीलाई दिएका हुन्।

‘श्रीमती शर्माले नै हामीलाई घटनाबारे जानकारी दिएकी हुन्, धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले नागरिकन्यूजलाई जानकारी दिए।

उनका अनुसार आइतबार साँझ घाइते श्रीमतीले आफ्नो श्रीमान् माथि कुटपिट भइरहेको जानकारी गराएलगत्तै प्रहरीले खोजतलास गर्दै जाँदा सोमबार बिहान राधेको शव फेला परेको हो। श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनास्थलमा मोटरसाइकल टुटेफुटेको देखिएकाले दुर्घटना जस्तो देखिए पनि त्यहाँ मोटरसाइकल नरहेकाले शङ्कास्पद देखिएको प्रवक्ता अवालेले बताए।

राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो। चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए। राधेसँगै गएका दुई साथी भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको धनुषा प्रहरीले जनाइएको छ।

प्रकाशित: १ माघ २०८० ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App