१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भोग्नेलाई पीडा, राज्यलाई रमिता

सडक दुर्घटनामा १९ जनाको मृत्यु

करिब १४ घन्टाको अवधिमा देशका तीन ठाउँमा भएका सडक दुर्घटनामा १९ जनाको ज्यान गएको छ। काठमाडौंको चन्द्रागिरिमा भएको दुर्घटनामा पाँच, दाङको राप्ती नदीमा भएको दुर्घटनामा १२ र बागलुङको ढोरपाटन नगरपालिकामा भएको दुर्घटनामा दुई गरी १९ जनाको ज्यान गएको हो। दाङ र बागलुङका दुर्घटनामा ३३ जना घाइते भएका छन्।

नेपालगन्जबाट शुक्रबार राति काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको बस दाङ भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जनाको ज्यान गयो। उक्त दुर्घटनामा २४ जना घाइते भएका छन्। बस पुलबाट राप्ती नदीमा खसेको थियो। 

दुर्घटनामा बाँके नेपालगन्जकी कुसुम बस्नेत, हेटौंडाका सौरभ विष्ट, काठमाडौं चन्द्रागिरिका ताराकान्त पाण्डे, जुम्लाका मुनबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुमपश्चिमका दीपक कामी, भारत उत्तर प्रदेशका मुने, भारत विहारका जोगेन्द्र राम, कोहलपुरका अर्पण थापा, बाँके खजुराका सञ्जय केसी, भारत बहराइचका चेतराम शिल्पकार र चितवन भरतपुरका अनिल खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बसमा ३६ यात्रु थिए। घाइतेको बुटवल र नेपालगन्जमा उपचार भइरहेको छ।

यसैगरी शनिबार दिउँसो १ः५५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, पानीघाट हिमचुली सेतो पहरामा प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। 

चारजनाको घटनास्थलमै र एक बालिकाको उपचारका क्रममा मृत्यु भएको हो। मृतक काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाटका डा. महेशकुमार गौतम, चार वर्षीय प्रियान्स गौतम र ६ वर्षीया स्मारिका गौतम रहेको प्रहरीले जनाएको छ।

बागलुङको बुर्तिबाङ बजारबाट शनिबार बिहान ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

दुर्घटनामा मृत्यु हुनेमा चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीया संगीता अधिकारी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 

गम्भीर घाइते लक्ष्मी गैरे, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

बिदा मनाउन जाँंदा परिवार नै उजाडियो  

पाँचजनाको ज्यान जानेगरी चन्द्रागिरिमा भएको दुर्घटनाका मृतक ३८ वर्षीय डा. गौतम नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत थिए। मेडिकल चिकित्सक गौतम शनिबारको बिदा मनाउन सासूससुरा, पत्नी र छोराछोरीसहित थानकोट–चित्लाङ सडक हुँदै चन्द्रागिरि डाँडातर्फ जाने क्रममा दुर्घटना भएको थियो।

दुर्घटनामा मृत्यु भएका ६७ वर्षीय ओमकारनिधि र ६४ वर्षीया कल्पना डा. गौतमका सासूससुरा हुन्। त्यस्तै चार वर्षीय प्रियान्स र ६ वर्षीया स्मारिका उनका छोराछोरी हुन्। गौतम, सासूससुरा र छोरा प्रियान्सको घटनास्थलमै मृत्यु भएको हो। छोरी स्मारिकाको भने उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

गौतमकी पत्नी डा. सृष्टि तिवारी गौतम भने गाडीको झ्याल खोलेर हाम फालेकाले बाँचेको प्रहरीले जनाएको छ। डा. सृष्टि नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमै कार्यरत छिन्।दुर्घटनाबाट डा. गौतमको परिवार नै उजाडिएको छ। प्रहरीले उकालोमा गाडी चिप्लिएर दुर्घटना भएको अनुमान गरेको छ। 

‘उकालो र चिप्लो सडक भएकाले गाडी चिप्लिएर दुर्घटना भएको देखिन्छ,’ प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण अधिकारीले भने, ‘त्यही ठाउँमा गत साउनमा पनि दुर्घटना भएको थियो।’ साउन १२ गते सोही ठाउँमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो। त्यसबेला कारमा रहेका पाँच जनामध्ये तीन जना बाँचेका थिए।

दुर्घटना क्षेत्र काठमाडौंको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र चित्लाङ जोड्ने गणेशमानसिंह मार्गमा पर्छ। २०७३ सालमा निर्माण सुरु गरिएको यो सडक अझै कालोपत्रे हुन नसकेकोे स्थानीयले बताएका छन्।

प्रहरीलाई छल्न खोज्दा राप्तीमा खस्यो बस

दाङ दुर्घटना प्रहरी बिटलाई छलेर भाग्न खोज्दा लिइएको तीव्र गतिका कारण भएको प्रहरीले जनाएको छ। ‘दुर्घटनास्थलनजिकै भालुवाङमा प्रहरी बिट छ। प्रहरीले भालुवाङमा बसको जाँच गर्छ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक मल्लले भने, ‘शुक्रबार राति त्यहाँ दुईवटा बसको जाँच भइरहेको थियो। दुर्घटनामा परेको बस हुइँकिएर आयो, प्रहरीले रोक्न खोजे तर रोकिएन, तीव्र गतिमा रहेको बस प्रहरीको चेकपोस्टनजिकै पुलबाट सिधै नदीमा खस्यो।’  

भालुवाङस्थित ट्राफिक चेकपोस्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) हरिभक्त रोकायले पनि चालकले तीव्र गतिमा बस भगाउन खोज्दा नदीमा खसेको बताए। ‘अगाडि भे१ख ३९१३ नम्बरको बसको जाँच भइरहेको थियो। त्यो बस हुइँकिएर आयो। प्रहरीले रोक्न खोज्दा चालकले झनै तीव्र गतिमा अघि बढाए। ड्युटीमा खटिएका प्रहरी अमरबहादुर शाहीलाई समेत त्यो बसले झन्डै ठक्कर दिएन्छ,’ रोकायले भने, ‘त्यो बसको तीव्र गतिले जाँचमा खटिएका प्रहरीको समेत भागाभाग भएको थियो। प्रहरीको जाँच छलेर भाग्न खोज्दा अनियन्त्रित भएर बस पुलबाट खसेको हो।’  

ड्युटीमा खटिएका एक प्रहरी जवानले भने, ‘बसयति स्पिडमा थियो कि मलाई नै उडाउला जस्तो गर्‍यो अनि म भागें। बसको गति ७० भन्दा बढी थियो।’  

प्रहरीका अनुसार दुर्घटनामा परेको बस नेपालगन्जबाट लमहीसम्म दुई घन्टामै पुगेको थियो। जुन बाटो सामान्य अवस्थामा तीन घन्टाभन्दा बढी लाग्ने प्रहरीले जनाएको छ। ‘नेपालगन्जबाट छुटेको बस दुई घन्टामै लमही पुगेको रहेछ। बाँके राष्ट्रिय निकुञ्जमा लागु भएको टाइम–कार्डसमेत लिएको रहेनछ,’ ट्राफिक असई रोकायाले भने। निकुञ्जको चेकपोस्टमा समेत बस नरोकिएको पाइएको उनले बताए।  

बस चालक लालबहादुर नेपालीले सापट बिग्रिएकाले बस दुर्घटना भएको बताएका छन्। ‘सापट बिग्रेपछि बस मोडिएन, त्यसैले दुर्घटना भयो भन्ने चालकको बयान छ,’ डिएसपी मल्लले भने, ‘समस्या भएनभएको बारे प्राविधिक जाँच गरेपछि थाहा होला।’ चालक नेपालीले यसो भने पनि सापटमा समस्या भए बस नमोडिने भन्दा नकुद्ने समस्या हुने अन्य चालक बताउँछन्।

दुर्घटना भएको बस नमस्ते यातायात प्रालिद्वारा सञ्चालित हो। नमस्तेले उक्त बस चालकको लापरबाहीका कारण दुर्घटनाग्रस्त भएको बताएको छ। प्रालिका अध्यक्ष निरज चलाउनेले चालकको लापरबाहीका कारण नै बस दुर्घटना हुन पुगेको बताए। उनले भने, ‘बस दुर्घटना चालकको कमजोरीले नै भएको हो। प्रहरीको बिटमा समेत चालकले नरोकेको र बस सुरुमा पिलरमा ठोक्किएको देखिन्छ।’  

मुख्यमन्त्री चौधरीद्वारा दुःख व्यक्त

दाङ दुर्घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुःख व्यक्त गरेका छन्। उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै चौधरीले मृतकप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। 

उनले भनेका छन्, ‘दुर्घटनाले र त्यसले निम्त्याएको ठुलो जनधनको क्षतिले मर्माहत बनाएको छ।’ मुख्यमन्त्री चौधरीले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गरेका छन्। उद्धार र उपचारमा खट्ने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयलाई मुख्यमन्त्री चौधरीले धन्यवाद दिएका छन्।

दुर्घटनाका घाइतेलाई लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ले अस्पतालमै पुगेर भेटेकी छन्। घाइतेको अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिइन्।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर शनिबार मन्त्री केसीले घाइतेको स्वास्थ्य अवस्था बुझेकी हुन्। ‘बस समितिले घाइतेहरूको उपचार गर्छ र अहिले गरिरहेको पनि छ, तपाईंहरू (चिकित्सक) ले पनि उपचारमा कुनै कमी हुन नदिनुहोला,’ उनले भनिन्।

 

(बुटवलबाट रेखा भुसाल र बाँकेबाट अर्जुन ओलीसमेतको सहयोगमा)

प्रकाशित: २९ पुस २०८० ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App