जीवनको उत्पत्ति र विकासक्रममा वेदान्त र विज्ञानबिच संवाद विषयक दुईदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सुरु भएकाे छ।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा नेपाल, श्री चैतन्य सारस्वत संस्था पश्चिम बंगाल भारत र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको आयोजना तथा अक्षरा स्कुलको सहआयोजनामा काँडाघारीस्थित अक्षरा स्कुलमा साे सम्मेलन सुरू भएको हो।
कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्कीकाे प्रमुख आतिथ्यमा सुरु भएकाे सम्मेलनमा पहिलो दिन शनिबार नेपाल, भारत र अमेरिकाबाट गरी करिब ३५० जनाको सहभागिता रहेको सहआयोजक संस्था अक्षराले जनाएको छ।
उद्घाटन सत्रमा प्रमुख अतिथि कार्कीले संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई जीवनको अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा प्रदान गर्ने बताए।
उनले जीवनको उत्पत्ति र क्रमिक विकासलाई बुझ्न नसक्दा मानव अध्यात्मबाट विमुख हुँदै गइरहेको चर्चा गर्दै नयाँ पुस्तामा भौतिकवादी सोच हावी हुँदा जीवन र जगतलाइ हेर्ने दृष्टिकोण अपूर्ण रहेको धारणा राखे।
सहआयाेजक संस्था अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले सनातन संस्कृतिभित्रका अनुकरणीय विषयलाई विज्ञानसँग जोडेर चिन्तन र मनन गर्ने प्रमुख उद्देश्यका साथ सम्मेलन सुरु भएको बताइन्।
उनले सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नयाँ पुस्तामा नहुँदा पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएकाे भन्दै नयाँ पुस्तामा आफूभित्रको ब्रह्मको पहिचान गरेर अगाडि बढ्न प्रेरणा दिने उद्देश्यले सम्मेलन आयोजना गरेको जनाइन्।
उद्घाटन समारोहका सभापति एवं सम्मेलनका निर्देशक भारत पश्चिम बंगालस्थित चैतन्य सारस्वत संस्थाका आचार्य डा. भक्ति निष्काम सन्त माहाराजले जैविक र रासायनिक प्रक्रियामा आत्मतत्त्व सम्मिश्रणबाट जीवनको उत्पत्ति र विकास भएको प्रष्ट पारे।
साथै डार्बिनको विकासवादी सिद्धान्तले मात्र जीव उत्पत्ति र विकासको सिद्धान्त व्याख्या गर्न नसकिने भएकाले वैदिक अवधारणालाइ समेट्नुपर्नेमा प्राध्यापक डा. मोहन खरेललगायत अन्य वक्ताहरूले जोड दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान्हरूले नेपाल अध्यात्मको केन्द्र हुनुपर्छ भन्ने मान्यता राख्दै आएको अवस्थामा यो सम्मेलन नेपालका लागि कोसेढुङ्गा सावित हुनेमा उनले विश्वास व्यक्त गरिन्।
जीवनको उत्पत्ति र विकास क्रमको बुझाइमा वेदान्तको योगदान, जीवनको उत्पत्ति र विकास क्रमको सिद्धान्तमा फरक धारणाहरू, एक्काइसौं शताब्दीमा जैविक अध्ययनको अवधारणात्मक अनुभूति, एक कोषीय जीवको उन्नत चेतना र अनुभूति, जैविक र अजैविक प्रणालीको गहिरो अवधारणात्मक बुझाई विषयमा त्रिविका प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. मोहन खरेल, चैतन्य सारस्वत संस्थाका डा. भक्ति विज्ञान मुनि माहाराज, भारतका विभिन्न विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा. एमबी जगन्नाधम, डा. मोहन राव, प्राध्यापक डा. कुमार भान्का, डा. सुमंगलादेवी दासी, कृष्णकेशव दास, डा. रमेशबाबु गोगाले कार्यपत्र प्रस्तुत गरेका थिए।
त्यसैगरी संयुक्त राज्य अमेरिका प्रिन्सटनस्थित भक्ति वेदान्त इन्स्टिच्युटका निर्देशक डा. श्रील भक्ति माधव पुरी माहाराजले अनलाइनमार्फत सम्मेलनलाई सम्बोधन गरेका थिए।
वेदान्तले चेतनालाई सूक्ष्म र भौतिक शरीरलाई स्थूल रूपमा स्विकारेको छ भने विज्ञानले पनि जीवलगायत पदार्थमा निहित विशेष गुणलाई सूक्ष्म र पदार्थलाई स्थूल रुप मानेकाले विज्ञान र वेदान्तबिच कुनै फरक धारणा नरहेको वक्ताहरूको भनाइ थियो।
प्रकाशित: ८ मंसिर २०८१ २२:०८ शनिबार