५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं आइपुग्यो ६ लाख लाइसेन्स कार्ड

कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्न नसकिरहेको यातायात व्यवस्था विभागलाई राहत मिलेको छ। लाइसेन्स छाप्ने ६ लाख कार्ड काठमाडौँमा आइपुगेको छ। यसबाट विभागलाई राहत मिल्ने भएको हो। जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिहान काठमाडौँमा कार्ड आइपुगेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए। अहिले विभागसँग कार्ड करिब ४५ हजार मात्र कार्य छन्। तर परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेर लाइसेन्सको प्रतीक्षामा रहेकाको संख्या भने १४ लाख ५८ हजार छ।

म्युह्लवार कम्पनीले १२ लाख कार्ड पठाउने ठेक्का यातायात व्यवस्थाबाट पाएको छ। जसमध्ये ६ लाख कार्ड पहिलो चरणमा शुक्रबार नेपाल आइपुगेको हो। बाँकी ६ लाख कार्ड ४५ दिनभित्र अर्को चरणमा आउने विभागले जनाएको छ। रिजालका अनुसार माघ पहिलो साताबाट लाइसेन्स छपाइ सुरु हुनेछ। त्यस लगत्तै सेवाग्राहीहरूलाई लाइसेन्स वितरण सुरु गरिने विभागको भनाइ छ।

विभागसँग भएको मेसिनलाई चौबिसै घन्टा चलाए पनि विभागसँग एक दिनमा ७ हजार लाइसेन्स छाप्ने क्षमता रहेको रिजालले बताए। ‘कार्ड आउने बित्तिकै ल्याब टेस्ट गर्न फेरि जर्मनी नै पठाउँछौँ। कार्ड फेरि यहाँ आइपुग्न करिब एक साता लाग्छ,’ रिजालले भने, ‘त्यस लगत्तै छपाइ सुरु गर्छौँ।’ कार्डको ल्याब टेस्टको ठेक्का पनि जर्मनकै कम्पनीले पाएको छ।

पछिल्ला ६ महिनायता लाइसेन्स छपाइ ठप्प भएको छ। अहिले दैनिक ४ देखि ५ हजारसम्मले लाइसेन्स परीक्षा उत्तीर्ण तथा नवीकरण गर्ने गरेका छन्। विभागका अनुसार तत्कालै कार्ड छाप्न नयाँ मेसिन पनि खरिद गर्न लागिएको छ। अहिले त्यसका लागि ठेक्का मूल्याङ्कन भइरहेको विभागको भनाइ छ। आगामी वैशाखबाट लाइसेन्स वितरणको समस्या कम हुने रिजालको भनाइ छ। ‘वैशाखसम्म नयाँ मेसिनबाट छपाइ सुरु हुनेछ। त्यसबाहेक प्रदेश सरकारहरूले पनि कार्ड छपाइ सुरु गर्नेछन्,’ रिजालले भने।

अहिले विभागले निकै सीमित संख्यामा वैदेशिक रोजगारमा र विदेश अध्ययन गर्न जानेहरूलाई मात्र लाइसेन्स दिने गरेको छ। यो संख्या दैनिक साढे ३०० देखि ४०० सम्म हुने गरेको छ। यसमा पनि अनियमितता हुने गरेको पाइएको छ। विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्डको अभाव छ। कार्ड नहुँदा गत असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै छ।

प्रकाशित: २७ पुस २०८० १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App