१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गैँडा मारेको आरोपमा तीन जना पक्राउ

दुर्लभ एक सिङ्गे गैँडा मारेको आरोपमा चितवनबाट तीन जना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा तीन वटा गैँडा मारेको घटनामा संलग्न तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको हो।  

पक्राउ परेका मध्ये दुई जनालाई चितवन जिल्ला अदालतमा पेश गरिएको छ भने सजाय सुनाइएका एक जनालाई भरतपुर कारागार पठाइएको निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।

निकुञ्जले २०७७ कात्तिक २० गते दिउँसो भुसारघाट पारीपट्टि आइल्याण्ड क्षेत्रमा गोली हानेर गैँडा मारेर खाग तस्करी गरेको घटनामा संलग्न २४ जना मध्ये भरतपुर महानगरपालिका–२४ का फुर्के भन्ने गणेश कुमाललाई यही पुस २१ गते पक्राउ गरेको हो। भरतपुर २४ को रातो मचान भन्ने ठाउँबाट पक्राउ गरिएका कुमाललाई २२ गते नै थुनछेक बहसका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको निकुञ्जले जनाएको छ।

यस्तै २०६३ साउन २८ गते खगेन्द्रमल्ली सिमल गैहरी क्षेत्र नजिक गोली हानी गैँडा मारेको घटनामा संलग्न १४ जना मध्ये १७ वर्षदेखि फरार वाइबा तामाङ भन्ने सोनाम सिंह तामाङलाई निकुञ्जको टोलीले मङ्गलवार इच्छाकामना–७ भालुमाराबाट पक्राउ गरेको हो। उनलाई बुधवार चितवन जिल्ला अदालतमा पेश गरिएको छ।

त्यस्तै २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैँडा मारेको घटनामा संलग्न ४ जना प्रतिवादी मध्ये जेठा मुक्तिबहादुर पुन भन्ने मुक्तलाल पुन मगरलाई मङ्गलवार पक्राउ गरिएको हो। उनलाई अदालतले १५ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। १३ वर्षदेखि फरार रहेका मुक्तलाललाई बुधवार भरतपुर कारागार चलन गरिएको निकुञ्जले जनाएको छ। चितवन निकुञ्जमा पछिल्ला वर्ष गैँडा चोरी सिकारी हुने दर फेरी बढ्न थालेको छ। केही महिना अघि निकुञ्ज भित्र नै खाल्टो खनेर गैँडा मारेका थिए।

प्रकाशित: २६ पुस २०८० ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App