२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इलामका सडक गुणस्तरीय बनाउन प्रशासनले देखायाे तदारुकता

इलामका सडक आयोजनाको तीव्रता दिन र गुणस्तरीय बनाउन प्रशासनले तदारुकता देखाएको छ। जिल्ला प्रशासन कार्यालय लामो समयदेखि सम्झौताअनुसार काम नभएका, समयमा काम सम्पन्न नभएका, भुक्तानी समस्या भएका र विभिन्न प्रक्रियागत हिसाबले काम अड्किएका सडकबारे निगरानी, अनुगमन र समन्वयमा सक्रिय भएको हो।

जिल्लामा लामो समयदेखि ठेक्कका लागेर पनि कतिपय सडकको काम सम्पन्न हुन सकेको छैन। कतिपय सडकमा ठूलो लगानी भइसके पनि गुणस्तरीय काम हुन सकेको छैन।

पक्की बनाउनुपर्ने सडकको नियमानुसार काम नहुँदा हजारौं नागरिकले सास्ती खेप्नुपरेपछि जिल्ला प्रशासनले निर्माण व्यवसायी, नियामक निकाय, सम्बन्धित स्थानीय तह र अन्य सरोकारवासमेतको भेला गराइ निर्माणको कामबारे धमाधम समीक्षा गराइरहेको छ।

पछिल्लो पटक आइतबार पनि जिल्लाका निर्माणाधीन चार महत्वपूर्ण सडकको अवस्था र आगामी योजनाबारे समीक्षा गरिएको छ।

करिब दुई अर्ब २० करोड रूपैयाँ लगानीको भेडेटार–रवि–राँके सडक, मेची क्षेत्रको सबैभन्दा छोटो केचना–कञ्चनजंघा सडक, दमक–चिसापानी सडक र देउराली–फलाँटे–गजुरमुखी–इभाङ सडकको निर्माण अवस्था र प्रगतिबारे समीक्षा गरिएको छ।

धनकुटाको भेडेटारदेखि इलाम हुँदै पाँचथरको सीमा राँके जोड्ने एक सय दशमलव ३ किलोमिटर भेडेटार–रवि–राँके सडकको ४४ प्रतिशत काम भइसकेको छ।

लामो समयदेखि काम रोकिएर चर्चामा रहेको यो सडकको थप काम प्रभावकारी रूपमा सम्पन्न गर्न निर्माण व्यवसायी, आयोजना कार्यालय र सरोकारवालाले प्रतिबद्धता गरेका छन्।

५३ प्रतिशशत काम सकिएको दमक–चिसापानी सडकको पहिलो खण्डको काम सक्ने म्याद आउँदो वैशाख मसान्त र दोस्रो खण्डको कामको म्याद २०८१ पुससम्म छ।

यो सडकको काम समयमा निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीले प्रतिबद्धता गरेका छन्। सडक कार्यालयले कानुनी प्रक्रिया पूरा गरी म्याद थपलगायत विषयमा तालुकदार निकायमा पहल गर्ने भएको छ।

देउराली–फलाँटे–गजुरमुखी–इभाङ सडकको पहिलो खण्डको १३ किलोमिटरमा निर्माणको काम भइरहेको छ। यो खण्डको करिब चार किलोमिटरमा पहिरोको समस्या रहेकाले सम्बन्धित कार्यालयले अनुगमन गर्ने भएको छ।

आउँदो असार मसान्तमा निर्माणको म्याद सकिने यो सडकको काम ५५ प्रतिशत सम्पन्न भएको छ। तोकिएकै मितिमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइने बैठकले निर्णय गरेको छ।

झापादेखि ताप्लेजुङ जोड्ने केचना–कन्चनजंघा सडक छ खण्डमा निर्माणको काम भइरहेको छ। यसमध्ये एउटा खण्डमा रुख धेरै भएकाले रुख हटाउने प्रक्रियालाई तीव्रता दिने पनि निर्णय भएको छ।

निर्माणस्थलमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतसहितको टोलीले अनुगमन र निरीक्षण गरी थप कार्य अघि बढाउने निर्णय भएको सिडिओ इन्द्रदेव यादवले जानकारी दिए।

यो सडकको गोलाखर्क–बेलासे खण्डको काम निर्माण व्यवसायीका कारण यसअघि निकै सुस्त भएपनि अहिले कामको गति बढेको समीक्षा गरिएको थियो। ‘यो खण्डको काम ज्यादै ढिलो भएको छ, गतवर्ष केचना–कन्चनजंघा सडकका लागि विनियोजित करोडौं रूपैयाँ फ्रिज भयो,’ प्रतिनिधिसभा सदस्य बस्नेतले भने, ‘इलाम सदरमुकामसहित उत्तरी क्षेत्रको निकै महत्त्वपूर्ण यो सडकलाई बजेट भएर पनि किन काम हुन सकेन भन्ने समीक्षा गर्नुपर्छ।’

प्रशासनले यसअघि पनि विभिन्न सडकको अनुगमन गरेको थियो। सिडिओ यादवसहितको टोलीले केचना–कन्चनजंघा सडकको अनुगमन गरेको थियो भने पूर्वमन्त्री बसन्त नेम्बाङसहितको टोलीले दमक–चिसापानी सडक अनुगमन गरेको थियो।

‘विभिन्न कारणले निर्माणमा भइरहेको बाधा हटाएर तोकिएको अवधिमा निर्माण सम्पन्न गराउन प्रशासनले ताकिता गरिरहेको छ,’ सिडिओ यादवले भने, ‘अनुगमनलाई अझ तीव्रता दिइने छ, आयोजनाले गति लिन नसक्नुको कारण पत्ता लगाएर काम सहज बनाउने प्रयास गरिरहेका छौं।’

प्रकाशित: २३ पुस २०८० ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App