१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

३० सेकेन्डले बाँचेका १४ उदयपुरे

भदौ १० गते बुधबार बिहान करिब ६ बजे उदयपुरबाट काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका १४ जना तीर्थयात्री गोसाइँकुण्ड दर्शनका लागि काठमाडौं हुँदै हिँडेका थिए। दुई दिनपछि अर्थात् भदौ १२ गते पर्ने जनैपूर्णिमामा दर्शन गर्ने, घुमफिर र रमाइलो गर्ने उद्देश्यले हिँडेको टोलीको नेतृत्व त्रियुगा नगरपालिका–७, चुहाडेका इन्द्रराज कार्की (जनार्दन) ले गरेका थिए।

१४ जना यात्रुसहितको गाडीका चालक थिए त्रिशूलीकै ३२ वर्षीय सुरेन्द्र अमात्य। काठमाडौं कोटेश्वरबाट हिँडेको विद्युतीय गाडी (ईभी) ले दुई घण्टामै त्रिशूली पुर्‍यायो। अर्थात् बिहान करिब ८ः१० बजे नै उनीहरू त्रिशूली पुगेका थिए।

यात्रुहरू सरासर जान खोज्दै थिए, तर चालकले गाडीको चार्ज कम भएको भन्दै पुलपारिको चार्जिङ सेन्टरमा गाडी रोके। गाडी चार्ज गर्न झन्डै आधा घण्टा लाग्ने भएपछि यात्रुहरू बजार घुम्न, फोटो तथा भिडियो खिच्न थाले। गाडी चार्ज गरेर फर्किंदा केही यात्रु बजारभित्र अलमलिएका थिए। झन्डै १०–१२ मिनेटपछि सबै यात्रु जम्मा भएर गाडी चढ्दा ९ बजिसकेको थियो।

करिब डेढ सय मिटर अगाडि गाडी बढ्दै थियो। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै ‘ठूलो बाढी आउँदै गरेकाले सुरक्षित स्थानतर्फ जान र सतर्क रहन’ अनुरोध गरिरहेका थिए।

तर फरक स्वभावका चालक अमात्यले त्यसको वास्ता गरेनन्। ‘यता त त्यस्तै हो अंकल, यस्तो बाढी त जहिले पनि आइरहन्छ, जाऊँ है,’ भन्दै चालकले गाडी अघि बढाए।

सुरक्षाकर्मीहरूले रोकेपछि केहीबेर गाडी रोकियो। तर केहीबेरमै खोलामा ठूलो आवाज सुनियो। साविकको पानीको सतहभन्दा सय–दुई सय मिटर माथिबाट पहाडै ढाकेर बाढीको भेल आइरहेको देखियो। हतारहतार सबै ओरालिएर ज्यान बचाउन उकालो लागे।

आधा मिनेट नबित्दै बाढीले आँखा अगाडि उनीहरूको गाडी र त्रिशूली बजार नै बगायो। सडकमा लामबद्ध सयौँ सवारीसाधन, कार्यालय तथा व्यक्तिगत ठूला भवन, पक्की पुल र चालकको घरसमेत आफूसँगै लिएर गएको गाडी निमेषभरमै बाढीमा विलीन भयो।

केहीबेरअघि मात्र बजार पुग्नेबित्तिकै चालकले आफ्नो घर देखाउँदै भनेका थिए, ‘कहिलेकाहीँ काठमाडौं आउँदा पस्नु है अंकल, मेरो घर यही हो।’ भर्खरै चिनाएको घर, आफूहरू चढेर गएको गाडी रोकिएको स्थानभन्दा डेढ सय मिटर वरसम्म लामबद्ध सयौँ गाडी, भाग्न खोजिरहेका मानिसहरू, कोशीमा चढेर फोटो तथा भिडियो खिचिरहेका मानिसहरू र उनीहरूका घरसँगै बाढीमा विलीन भएका थिए।

‘हामी भाग्यले बाँच्यौँ। ३० सेकेन्ड मात्र ढिला भएको भए अहिले तपाईंसँग यसरी बोल्न पाउने थिएनौँ,’ बाँचेका कार्कीले घटनाको भयावह क्षण सुनाउँदै भने, ‘यति कहालीलाग्दो, यति दर्दनाक र अनौठो घटना जीवनमा देखिएको थिएन र देख्न पनि नपरोस्।’

त्रियुगा नगरपालिका–७ का वडा सदस्यसमेत रहेका कार्कीको गोसाइँकुण्ड जाने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन। काठमाडौंमा पेसा–व्यवसाय गरी बस्ने उदयपुरेहरूबीच बेलाबेलामा घुमफिर गर्ने र भेटघाट गर्ने चलनअनुसार अचानक गोसाइँकुण्ड घुम्न जाने सल्लाह भएको उनले बताए।

‘भतिजी बुहारी अशोक राउत कार्कीले जाऊँ न काका, केही दिन घुमेर आऊँ भनेकाले रातारात कार्यक्रम तय भएर हिँडेको यति हुन पुगेछ,’ कार्कीले बताए। सुरुमा श्रीमती र छोरीसमेत सँगै जाने सल्लाह भए पनि डरले नगएपछि आफू मात्र टोलीमा सहभागी भएको उनले बताए।

गोसाइँकुण्ड जाने टोलीमा कार्कीसँगै त्रियुगा नगरपालिका–११ का गोविन्द दाहाल, केन्जल दाहाल, त्रिपुगा–८ का शंकरदेव कार्की, उनकी श्रीमती लक्ष्मी, छोरी श्रेया, संगम कार्की तथा बमबहादुर राउत थिए। त्यसैगरी चौदण्डीगढी–९ खैराहा झोडाका कुमारसिंह कार्की, सोही ठाउँका अशोक राउत कार्की, गेयल कार्की, अप्सरा खड्का, प्रमिला श्रेष्ठ र ज्ञानु घिमिरे टोलीमा सहभागी थिए।

गएको बाटो र गाडी बाढीले बगाएपछि करिब ६ घण्टा लामो पैदल यात्रा गर्दै जङ्गलैजङ्गल हिँडेर बट्टार बजार आइपुगेको उनले बताए। त्यसपछि सार्वजनिक गाडी समातेर राति अबेर काठमाडौं आइपुगेको टोलीले आफूहरू संयोगले बाँचेको बताएको छ।

‘धन्न संयोगले सबै बाँच्यौँ। ३० सेकेन्ड मात्र ढिला भएको भए बाढीमा मिसिन्थ्यौँ,’ कहालीलाग्दो अनुभव उनीहरूले सुनाए।

रसुवाको बाढीमा उदयपुरका १५ जना अझै सम्पर्कविहीन

रसुवाको विनाशकारी बाढीमा परी उदयपुरका विभिन्न पेसा–व्यवसायमा संलग्न १५ जना अझै सम्पर्कविहीन छन्।

जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार नेपाली सेनाको टिमुरे र मैलुङ बेस क्याम्पमा कार्यरत लिम्चुङबुङ–४ बलम्ताका २४ वर्षीय सुमन समीर राई र २२ वर्षीय प्रविण राई तथा त्रियुगा नगरपालिका–१ रूपनीका २७ वर्षीय बालकुमार राई सम्पर्कविहीन छन्।

त्यसैगरी त्रियुगा–५ बगाहा घर भई जलविद्युत् आयोजनामा कार्यरत ४२ वर्षीय देवेन्द्र घिमिरेसमेत सम्पर्कमा आएका छैनन्।

त्रियुगा–७ का ४० वर्षीय पूर्ण बस्नेत, त्रियुगा–१४ का ३१ वर्षीय चन्द्र माझी, २२ वर्षीय भेषराज माझी र १९ वर्षीय मिलन माझी तथा कटारी नगरपालिकाका पाँच जना ज्याला–मजदुरी गर्दै आएकाहरू पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

बाढीमा परी हराएका २१ जनामध्ये पाँच जना फेला परी परिवारको सम्पर्कमा आइसकेको एसपी चापागाईंले बताए। बेपत्ताहरूको केन्द्रीय खोज तथा उद्धार टोली र आफन्तजनबाट खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App