२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकमा ‘टिपर आतंक’

राप्ती सोनारी ६ मा निर्मित हुलाकी सडकमा पानी चुहाएर गुडिरहेको टिपर । तस्बिर : नागरिक

बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखाअगाडि कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्। कारण, सो कालोपत्रे सडकमा अहिले दैनिक रूपमा सयौंको संख्यामा नदीजन्य सामग्री बोकेका टिपर पानी चुहाउँदै गुड्छन्।

एकाबिहानैदेखि राति अबेरसम्म टिपरले चुहाएको पानी सडकमा रहन्छ। जसले गर्दा सडकको गुणस्तर चाँडै खस्किएर भत्किने हो कि भन्ने चिन्ताले स्थानीयलाई सताएको छ। ‘बाटो जब पिच भयो, त्यसपछि ओभरलोड बोकेका टिपर पानी चुहाउँदै गुड्न थालेका छन्,’ रोकाक्षेत्रीले भने, ‘यसरी पानी चुहाउँदै टिपर गुड्ने हुन् भने यो सडक धेरै दिन टिक्दैन।’

पिपल चौतारा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका उनले भर्खरै बनेको कालोपत्रे सडकमा टिपर आतंक बढेपछि आफूहरूले रोक्न खोजेको बताए। तर, नदीखोलामा ठेक्का लिने र नजिकैको क्रसर उद्योग चलाउने व्यक्ति ठुलाबडा भएकाले यो आतंक रोकिनेमा स्थानीयलाई आशंका छ। रोकाक्षेत्रीले थपे, ‘यो काममा ठुलाबडा छन्, सबै ठुलाबडाकै हात छ।’

पानी चुहाउँदै गुड्ने, ओभरलोड बोक्ने, तीव्र गतिमा जथाभावी रूपमा चल्ने टिपरको आतंक बन्द गर्न माग गर्दै उक्त टोल विकास संस्थाले वडा नम्बर ६ कार्यालयमा निवेदन पेस गरेको छ। ‘हाम्रो सबैभन्दा नजिक रहेको सरकार वडा कार्यालय हो, सडकको सुरक्षाका लागि हामीले वडा कार्यालयमा निवेदन दिइसकेका छौं, वडाले आवश्यक पहल गर्ने हामीलाई विश्वास छ,’ रोकाक्षेत्रीले भने।

हुलाकी सडक निर्देशनालयले राप्ती सोनारी गाउँपालिका ३ नारायणपुरदेखि वडा नम्बर ६ फत्तेपुरको कुण्डाचोकसम्म हालै ‘अस्फाल्ट’ प्रविधिको सडक कालोपत्रे गरेको हो। निर्देशनालयले उक्त सडकमा अहिले पनि निर्माण कार्य गरिरहेको छ।

ठेकेदार कम्पनीले सडक हस्तान्तरण गर्न नपाउँदै दैनिक रूपमा सयौंको संख्यामा गुड्ने टिपरले पानी चुहाउँदै नदीजन्य सामग्री बोक्न थालेपछि सडकको गुणस्तर कमजोर हुने स्थानीयको बुझाइ छ। राप्ती सोनारी गाउँपालिकाले ठेक्का लगाएर केही महिनाअघि नदी तथा खोलाबाट सामग्री उत्खनन गर्न अनुमति दिएपछि हुलाकी सडकमा टिपर तथा ट्याक्टरको चाप अहिले बढी देखिन्छ।

फत्तेपुरस्थित खल्ला टेपरीका स्थानीय अमरबहादुर बुढाले नयाँ बनेको कालोपत्रेमा पानी, माटो, बालुवा तथा ग्राभेल खसेर सडकको स्वरूप नै बिगारेको बताए। ‘पानी चुहाउँदै नदीजन्य सामग्री बोकिरहेका छन्, त्यसकारण भर्खरै बनेको पिच सडक भत्किने हो कि भन्ने चिन्ता हामीलाई छ,’ खल्ला टेपरी टोल विकास संस्थाका अध्यक्ष बुढाले भने।

तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण सडक दुर्घटना निम्तिने खतरा पनि बढेको उनले सुनाए। ‘यो समस्या हामीले वडा कार्यालयसम्म पुर्‍याएका छौं, अब वडाले यो समस्या समाधान गर्छ भन्ने विश्वास छ,’ बुढाले भने।

हुलाकी सडक भएर गुड्ने टिपर र ट्याक्टरले नदीजन्य सामग्री नियमविपरीत नै ओसार–पसार गरेको स्थानीयको आरोप छ। नियमविपरीत सामग्री ओसार्दा पनि प्रहरी र ट्राफिक प्रहरीले कारबाही नगरेको उनीहरूको गुनासो छ। ढलैया टोल विकास संस्थाका भूपेन्द्र विष्टले हुलाकी सडक खण्डमा नदीजन्य पदार्थ नियमविपरीत नै ओसारपसार भइरहेको बताए।

भर्खरै कालोपत्रे भएको सडकमा पानी चुहाउँदै नदीजन्य सामग्री ढुवानी भएकाले सडक सुरक्षा गरिदिनुपर्ने उनको माग छ। राप्ती सोनारी गाउँपालिका ६ का वडाध्यक्ष लवराज खरेलले नदीजन्य सामग्रीको ठेक्का खुलेपछि टिपर तथा ट्याक्टरको चाप स्वाभाविक रूपले बढेको बताए।

ढुवानीका साधनले सडकमा पानी चुहाउने गरेको भनी विभिन्न टोल विकास संस्थाबाट निवेदन आएको उनले सुनाए। ‘भर्खरै बनेको कालोपत्रे सडकमा पानी चुहाएर नदीजन्य सामग्री बोक्दा सडकको गुणस्तर खस्किने हो कि भन्ने चिन्ता उहाँहरूलाई छ,’ वडाध्यक्ष खरेलले भने, ‘व्यवसायी पनि सुरक्षित हुनुपर्‍यो, बाटो पनि सुरक्षित हुनुपर्‍यो भन्ने हामीलाई लागेको छ।’

सडकमा पानी चुहाउने, ओभरलोड बोक्दा नदीजन्य सामग्री बाटोमै खसाल्ने, तीव्र गतिमा गुडाउने समस्या समाधानका लागि स्थानीय प्रहरी र ट्राफिक प्रहरीलाई आफूले जानकारी गराइसकेको उनले बताए।

‘यसको नियमन गर्ने काम ट्राफिक प्रहरीको हो, हाम्रै वडामा ट्राफिकले चेकजाँच त गर्छ तर यसमा ट्राफिकको ध्यान नपुगेको हो कि ?’ वडाध्यक्ष खरेलले भने। समयमै समस्या समाधान गर्न नसके राज्यले करोडौं लगानीमा बनाएको कालोपत्रे सडक नरहने अवस्था आउनसक्ने उनले सुनाए।

प्रकाशित: २० पुस २०८० ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App