१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छोरालाई आफैं भारत भगाएर उल्टै धम्क्याएको गुनासो

दैलेखको दुल्लु नगरपालिकाकी सपना (नाम परिवर्तन) लाई गत जेठ ४ गते गुराँस गाउँपालिकाका सुरेश खत्री (२२) ले विवाहको प्रलोभन दिएर भगाए। केही समयदेखि वीरेन्द्रनगरमा बस्दै आएकी सपनालाई घर पुर्‍याएपछि उनी सहर फर्किए। सात महिनासम्म उनी सुरेशको घरमै बसिन्। विवाह गर्छु भनेर लिएर गएको केटाले नै वास्ता गर्न छाडेपछि घरकाले पनि हेला गर्न थाले।  

मंसिर १० गते उनी सुरेशलाई खोज्दै वीरेन्द्रनगर आइपुगिन्। वीरेन्द्रनगरको धुलियाविटमा सुरेशकी दिदी शान्तिको घर थियो। उनी त्यहीं पुगिन्। सुरेश पनि त्यहीँ देखिए। भोलिपल्ट शान्तिले नै वीरेन्द्रनगर- ३ स्थित गण्डकीलाइनमा कोठा खोजिदिइन्। भाँडाकुँडा र लत्ताकपडा किनिदिइन्। सुरेश र सपना त्यहीँ बस्न थाले।

मंसिर १९ गते बिहान खाना खाएर बजार निस्केका सुरेश साँझ कोठामा फर्किएनन्। उनले दिदीहरूलाई सुरेश कोठामा आइनपुगेको फोनमार्फत जानकारी गराइन्। ‘त्यतिबेला दिदीहरूले साथीकोमा गएको हुनुपर्छ, घरमा आमा-बुबालाई खबर नगर्नू भनेर भन्नुभयो’, सपनाले भनिन्, ‘भोलिपल्टदेखि दिदीहरूले मेरो भाइ चाहियो, नभएर केटा लगाएर मार्छौं भन्दै धम्की दिन थाल्नुभयो।’

दिदीहरू शान्ति र पवित्राले धम्की दिन थालेपछि सपनाले सुरेशका बुबा गगनलाई फोन गरिन्। बुबाले पनि एक्लो छोरो हो, कि सास कि लास नल्याए ‘देउता’ लगाएर मार्ने धम्की दिन थाले। ‘दिदीहरूले मेरो भाइ चाहियो, हैन भने केटा प्रयोग गरेर मार्छु भन्दै धम्की दिन्छन्’, केटाका बुबा छोराको लास भए पनि सास भए पनि चाहियो भन्छन्’, बुधबार नागरिकको सम्पर्कमा आएकी सपनाले भनिन्, ‘मसँग टाढा बनाउनलाई उनैले छोरालाई भगाए, अहिले उल्टै मलाई छोरा बेपत्ता बनाएको आरोप लगाएर मार्ने धम्की दिइरहेका छन्।’

सपना १८ महिनाकी हुँदा आमाको मृत्यु भयो। त्यसपछिका १५ वर्ष उनले मामा घरमा बिताइन्। पछिल्ला दुई वर्ष वीरेन्द्रनगरमा एक साहुको घरमा घरेलु कामदार बनिन्। गत चैतमा बिरामीले थलिएपछि साहुले पनि घरमा राख्न मानेनन्। बुबा र सौतेनी आमा दैलेखबाट झरेर वीरेन्द्रनगरमा नास्ता पसल चलाएको पनि उनलाई थाहा थिएन्। मामाले सम्पर्क गरिदिएपछि साहुले बुबाको नास्ता पसलमा लगेर छाडिदिए।  

साहुको घरमै हुँदा केटाकी दिदी लक्ष्मीसँग सपनाको टिकटकमार्फत चिनजान थियो। उनैले भाइसँग विवाहको प्रस्ताव सुरुमा गरेकी थिइन्। बुबाको पसलमा जान थालेपछि सुरेशसँग पनि चिनजान भयो। ‘केटाकी कान्छी दिदी लक्ष्मीसँग टिकटकमार्फत चिनजान थियो, एक दिन फोन नम्बर मागिन्, फोनमा कुरा हुन थाल्यो’, उनले भनिन्, ‘उनैले मेरो भाइसँग विवाह गर, हामी पाँच बहिनी छौं, तिमीलाई ६ बहिनीका रूपमा राख्छौं भन्नुभएको थियो।’

सपनाले वैशाख २२ गते सुरेशलाई बुबाको पसलमा चिनेकी हुन्। त्यतिबेला सुरेशसँग खासै कुराकानी भएन। ‘वैशाख २८ गते पहिलोपटक सुरेशलाई चिनेकी हुँ’, सपनाले भनिन्, ‘दिदीहरूले नै भाइ विदेश जाने तयारीमा छ, अहिले भागेर घर जाउ, विदेशबाट फर्केर आएपछि सिन्दूर हाल्छ भनेकाले जेठ ४ गते केटासँग भागेर गएकी हुँ।’

सुरेश कोठाबाट ‘भागेर’ गएयता सपनालाई दोहोरो समस्याले जेलेको छ। केटाका बुबा-आमा र दिदीहरू छोरा-भाइलाई खोजेर जसरी पनि ल्याउन धम्की दिन्छन्। प्रहरी कार्यालयमा जाँदा सहयोग पाउँदिनन्। ‘सुरेशको फोटोसहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र दैलेख पुगेँ, प्रहरीले केटाको हुलिया काट्नका लागि उससँगको नाता माग्छ’, उनले भनिन्, ‘उसको घरकाले सहयोग गर्दैनन्।’

प्रकाशित: १९ पुस २०८० ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App