६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मनहरीमा वितण्डा मच्चाउँदै जंगली हात्ती, त्रासमा स्थानीय

हात्तीले भत्काएको सर्वसाधारणको घर।

मकवानपुरको मनहरी गाउँपालिका क्षेत्रमा जंगली हात्तीले विगत दुई हप्तादेखि निरन्तर वितण्डा मच्चाइरहेको छ।

हात्तीले स्थानीयको घर भत्काउनुका साथै बालीमा समेत क्षति पुर्‍याउँदै आएको छ। विशेष गरी रातीको समयमा बस्ती छिरेर हात्तीले दुःख दिँदै आएकोमा यसलाई नियन्त्रणमा लिने विषयमा भने कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ।

‘दुई हप्ता भन्दा बढी समयदेखि हात्तीले मनहरीको ६ र ७ नम्बर वडामा वितण्डा मच्चाइरहेको छ। बिहान बेलुका हिँडडुल गर्न समेत त्रास भएको छ। धेरैको घर गोठ भत्काइसकेको छ’, सञ्चारकर्मी समेत रहेका स्थानीय उमेश राईले भने, ‘यस अवधिमा मात्रै करिब २२/२५ वटा घर गोठमा क्षति पुर्‍याइसकेको छ।’

सोमबार राति पनि हात्तीले मनहरी ७ रमौलीको खड्गबहादुर थिङको काठ र टिनले बनाएको भान्सा कोठा, स्थानीय भगवती सुवेदी र अर्जुन दाहालको घरको पाली भत्काउनुका साथै एक बोरा चामल समेत नष्ट गरेको छ भने चित्रबहादुर घलानको घरको जस्ता भत्काइदिएको छ।

हात्तीले मनहरीको रमौली प्रतापपुर क्षेत्रमा बढी क्षति पुर्‍याइरहेको छ। पर्सा राष्ट्रिय निकुञ्जले हात्ती नियन्त्रणमा कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ। हात्तीबाट जोगिन स्थानीयवासी नसुती बस्ने, धुनी बाल्ने लगायतको गतिविधि गरिरहेका छन्।

मनहरी क्षेत्रमा वर्षेनी हात्ती, गैंडा लगायत जंगली जनावरले मानिसको ज्यान लिने गरेको छ। पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सिताराम अर्यालले यसअघि मनहरीको हाँडीखोला क्षेत्रमा एक महिलाको ज्यान लिएको यमगज हात्तीले पुनः मनहरी क्षेत्रमा आएर क्षति पुर्‍याउन थालेकाे बताए।

‘यो यमगज हात्ती हो। यसले अघिल्लो वर्ष मनहरीकै हाँडीखोला क्षेत्रमा एक व्यक्तिलाई मारेको थियो। केही दिनदेखि मनहरीको ६ र ७ नम्बर वडाको विभिन्न स्थानमा घर भत्काउने, बालीनाली क्षति गर्ने गरिरहेको छ’, उनले भने, ‘यसलाई ‘डार्ट’ गरेर ढाल्दा पनि लोड गरेर लैजानै समस्या छ। ठूलो हात्ती ल्याएर लखेट्नुको विकल्प छैन। यसतर्फ हामीले निरन्तर प्रयास गरिरहेकै छौं।’

पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले बिहान बेलुका हिँडडुल नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा एउटा पोथी हात्ती भएकोले यमगज यसै क्षेत्रमा पटक पटक आइरहेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ। स्थानीयले हात्ती धपाउन र जंगल नजिकै रहेका बस्तीलाई जंगली जनावरबाट जोगाउन लामाे समयदेखि पर्खाल निर्माणको माग गर्दै आएका छन्।

प्रकाशित: १७ पुस २०८० १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App