१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ओपनएआई र माइक्रोसफ्टविरुद्ध न्युयोर्क टाइम्सको उजुरी

आफ्ना लाखौं समाचार सामग्री अनुमतिबिना प्रयोग गरेको भनेर न्युयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध उजुरी दिएको छ। यी दुवै कम्पनीले एआई च्याटबट्सका प्रयोगकर्तालाई न्युयोर्क टाइम्सका सामग्री बिनाअनुमति उपलब्ध गराएको आरोप लगाइएको छ।

लोकप्रिय कृत्रिम बौद्धिकता (एआई) प्लेटफर्म च्याटजिपिटीको निर्मार्ता कम्पनी ओपनएआई र कोपिलोट नामक एआई प्लेटफर्मको निर्माता माइक्रोसफ्टविरुद्ध बौद्धिक अधिकारसम्बन्धी उजुरी गर्ने पहिलो अमेरिकी कम्पनी न्युयोर्क टाइम्स बनेको छ। यसअघि केही लेखक तथा अन्य संस्थाले एआई सेवाले कुनै क्षतिपूर्तिबिना आफ्ना सामग्री प्रयोग गरेको भनेर उजुरी गरेका थिए।

न्युयोर्कको म्यानहटनमा रहेको संघीय अदालतमा दर्ता गरेको यो उजुरीमा पत्रकारितामा ठुलो स्तरमा आफूले गरेको लगानीको प्रतिफल सित्तैमा प्रयोग गर्न खोजेको आरोप पत्रिकाले लगाएको छ।

‘टाइम्सका सामग्रीलाई कुनै भुक्तानीबिना अन्य सामग्री निर्माणमा प्रयोग गर्न र आफ्ना नियमित पाठकलाई चोर्न खोज्नुलाई परिवर्तनकारी प्रयोग (ट्रान्सफर्मेटिभ युज) मान्न सकिन्न,’ टाइम्सले उजुरीमा भनेको छ।

ओपनएआई र माइक्रोसफ्टले एआई उत्पादनहरूलाई प्रशिक्षित गर्न पत्रिकाको सामग्रीको प्रयोग गरिएको बताएका छन्।

अमेरिकाको कपिराइट्स कार्यालयको वेबसाइटमा राखेको सूचनाअनुसार परिवर्तनकारी प्रयोग (ट्रान्सफर्मेटिभ युज) भन्नाले फरक उद्देश्य र चरित्रसहित केही नयाँपन थप्नु हो।

टाइम्सले क्षतिपूर्तिका लागि कुनै निश्चित रकम दाबी गरेको छैन तर यो अर्बौं हुन सक्ने आकलन गरिएको छ।

टाइम्सले ओपनएआई र माइक्रोसफ्टलाई आफ्ना सामग्री समावेश गर्ने हिसाबले प्रशिक्षित गरिएका च्याटवट मोडलहरूलाई नष्ट गर्न माग गरेको छ।

यसप्रकारको कानुनी उपचारको खोजी गर्नुनपर्ने विकल्प र आपसी हितका लागि भएका वार्ता असफल भएको टाइम्सले जनाएको छ। ओपनएआईले एक वक्तव्य प्रकाशन गरी सामग्री उत्पादनकर्ता र त्यसका मालिकको अधिकारलाई सम्मान गर्ने बताएको छ।

‘न्युयोर्क टाइम्ससँग जारी वार्ता सकारात्मक दिशातर्फ उन्मुख भइरहेका बेला यो विकासक्रमले हामी दुःखी भएका छौं,’ वक्तव्यमा भनिएको छ। प्रतिक्रियाका लागि माइक्रोसफ्टलाई रोयटर्सले गरेको अनुरोधको कुनै प्रत्युत्तर आएन।

ओपनएआईको अभिभावक संस्था गैरनाफामूलक रहे पनि माइक्रोसफ्टले एआईमा १३ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ।

यसअघि डेभिड बाल्डसी, जोनाथल फ्रान्जेन, जोन ग्रिसाम र स्कट टुरोले ओपनएआई र माइक्रोसफ्टका विरुद्ध सोही अदालतमा मुद्दा हालेका छन्।

उनीहरूले आफ्ना सयौं किताबको प्रतिलिपि एआईले प्रयोग गरेको आरोप लगाएका छन्। टाइम्सका सल्लाहकार डियान ब्राएटोनले यस प्रकारको प्रयोग अनुमतिले मात्र हुनुपर्ने र आपसी सहमतिबिना गर्न नपाइने बताएका छन्।

-जोनाथन स्टेम्पेल/ (रोयटर्स)

प्रकाशित: १५ पुस २०८० ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App