५ वैशाख २०८१ बुधबार
समाज

के सगरमाथालाई सन्चै छ?

सगरमाथा क्षेत्रस्थित पिरामिड स्टेसन। तस्वीर स्राेत: एलामी

जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापक्रम निरन्तर बढिरहे पनि विश्वको उच्च शिखर सगरमाथा भने झनै चिसिएको पाइएको छ।

सगरमाथाको टुप्पोबाट चिसो हावा (क्याटाबाटिक विन्ड) तलतिर प्रवाहित हुँदा आधार शिविरवरपर झनै चिसो बढेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ। उच्च हिमाली क्षेत्रको हावाको गति, वर्षा र तापक्रममा हुने घटबढलाई मुख्य केन्द्रमा राखेर गरिएको अध्ययनअनुसार सगरमाथाको उचाइमा यसअघि मानिएको भन्दा फरक खाले जलवायु गतिशीलता (क्लाइमेट डाइनामिक्स) रहेको पाइएको हो।

समुद्री सतहदेखि ५ हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथाको पिरामिड स्टेसनमा राखिएको मौसम मापन केन्द्रले सन् १९९४ देखि उपलब्ध गराएको हरेक घण्टाको तापक्रम रेकर्ड, तिब्बततर्फ राखिएका अन्य पाँच मौसम मापन केन्द्रका तथ्यांक तथा जलवायुको क्षेत्रीय प्रवृत्तिको पुनर्समीक्षाका आधारमा यसअघिको भन्दा फरक खाले नतिजा आएको हो। सगरमाथाको हिमनदीजन्य क्षेत्रमा जडित पिरामिड मौसम मापन केन्द्रले सबैभन्दा लामो समयदेखि मौसमी तथ्यांक उपलब्ध गराउँदै आएको छ।

प्रसिद्ध वैज्ञानिक जर्नल नेचर जिओसाइन्समा हालै प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार पिरामिड स्टेसनमा गर्मीयाममा पछिल्ला तीन दशकमा हावाको अधिकतम तापक्रम र वर्षा (प्रिसिपिटेसन) घटेको पाइएको छ।

अध्ययन नतिजाको पुनर्समीक्षाले हिमालयका अन्य क्षेत्रमा समेत समान किसिमको प्रभाव देखाएको छ। जलवायु परिवर्तनले हिमनदी पग्लने क्रममा तीव्रता ल्याएको यसअघिका विभिन्न अध्ययनले देखाएको सन्दर्भमा यो अध्ययनले फरक खाले नतिजा दिएको छ।

‘जलवायु परिवर्तनका कारण सिर्जित प्रभावका कारण स्थानीय तहमा चिसो हुने प्रक्रियाले हिमनदीलाई पग्लिनबाट आंशिक रूपमा बचाउन र यो वातावरणलाई सुरक्षित राख्न सहयोग गरेको हुन सक्छ,’ अध्ययन प्रतिवेदनको सारांश छ।

अत्यधिक चिसोका कारण हिमाली उचाइमा हावाको चाप बढ्ने र माथिल्लो तथा तल्लो भेगमा हावाको चाप फरक हुने भएकाले गुरुत्वाकर्षणका कारण हावा तलतिर प्रवाह हुने र यही कारण हिमनदीमा क्याटाबाटिक विन्डको प्रवाह बढ्ने गरेको पाइएको छ।

इटालीको मिलानस्थित नेसनल रिसर्च काउन्सिलका वैज्ञानिक डा. फ्रान्को सालेर्नाेलगायत विश्वका १९ वैज्ञानिक संलग्न अध्ययनको नतिजाअनुसार सगरमाथाको धारमा रहेका हिमनदी (ग्लेसियर) मा बरफका कारण फरक खाले जलवायु गतिशीलता देखिएको हो।

अध्ययनमा सहभागी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीका अनुसार स्थानीय तापक्रममा हिमनदी (ग्लेसियर) ले फरक खाले प्रभाव पार्ने गरेको देखिएको छ।

 जलवायु परिवर्तन र पानीका विशेषज्ञसमेत रहेका ठकुरीका अनुसार यो क्षेत्रमा गर्मीयामको तापक्रम पछिल्लो १५ वर्षमा प्रतिवर्ष शून्य दशमल शून्य चार (०.०४) डिग्री सेन्टिग्रेडको दरले घटेको छ। नजिकै रहेका उच्च हिमाली क्षेत्रमा जडित अन्य मौसम मापन केन्द्रले समेत तापक्रममा यही प्रवृत्ति देखाएको उनी बताउँछन्।

‘हो, विश्वको सरदर तापमान बढ्दो छ। तर पिरामिड स्टेसन र यसको वरपर मात्र नभई हिमालय शृंखलाका पूर्वी र पश्चिमी भागका निश्चित क्षेत्रमा संरक्षित हिमनदी चिसिएका छन्,’ ठकुरीले भने।

औद्योगिक क्रान्ति सुरु हुनुअघिको तुलनामा पृथ्वीको तापक्रम १.२ डिग्री सेन्टिग्रेडले बढिसकेको छ। जीवाश्म इन्धनको बेरोकतोक प्रयोगले सरदर तापमान बढ्ने क्रम जारी रहेको सन्दर्भमा यसले हिमालय क्षेत्रका हिमनदीमा पार्ने प्रभाव अत्यन्त महŒवपूर्ण रहने मानिँदै आएको छ। एसियाली उपमहाद्वीपका लागि पानीको स्रोत हिमालय क्षेत्र रहेकाल स्रोतमा हुने उतारचढावले यो क्षेत्रको जनजीविका र पारिस्थितिकीय प्रणालीसमेत प्रभावित रहने मानिन्छ। उच्च हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पार्ने प्रभावका विषयमा अनुसन्धानहरू सीमित छन्।

‘यसअघि जानकारी नभएको प्रक्रियाअन्तर्गत उच्च भूभागमा हिमनदी र जलवायुमा अन्तक्र्रिया हुने गरेको र विश्वव्यापी तापमान वृद्धिका कारण हिमनदीको प्रभाव स्थानीय तापक्रममा पर्ने गरेको देखिएको छ,’ डा. ठकुरी थप्छन्।

गर्मी याममा अत्यधिक चिसो हुने भएकाले यसले हिउँ पग्लने र हिउँको सिजन लम्बिन सक्ने अध्ययन नतिजाले देखाएको र यसले पर्वतीय पर्यावरणमा प्रभाव पार्ने उनको तर्क छ। ‘हाम्रो अध्ययन हिमालय क्षेत्रमा केन्द्रित थियो तर यसको सान्दर्भिकता विश्वव्यापी छ। विश्वको अन्य उच्च भूभागमा रहेको क्लाइमेट डाइनामिक्सलाई बुझ्न यस प्रकारका अध्ययन आवश्यक छ,’ डा. ठकुरी भन्छन्।

प्रकाशित: ७ पुस २०८० ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App