८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

रामजानकी विवाह सम्पन्न, जन्ती विदा गर्दै मिथिलाबासी

जनकपुरधाममा सप्ताहव्यापीरुपमा मनाइने रामजानकी विवाह महोत्सवको आज अन्तिम दिन, जन्ती विदाई गरिँदै छ।

आईतवार राति राम–सीताको विवाह विधिवत रुपमा सम्पन्न भएसँगै आज जन्तीलाई विदाई गर्ने कार्यक्रम रहेको छ। वैवाहिक कार्यक्रममा सहभागी हुन आएका जन्तीलाई विदाई गर्ने क्रममा रामकलेवाको आयोजना गरिनेछ।

रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई विधाइ गरेपछि विधिवत रुपमा विवाह पंञ्चमी महोत्सव सम्पन हुनेछ।

आज साधुसन्त र जन्तीका लागि जानकी मन्दिरमा ३६ व्यञ्जन भोजन पाक्दै छ। जन्तीको रुपमा भागवान रामको जन्मभूमि आयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोजन खुवाउने र दक्षिणासहित विदाई गर्ने कार्यलाई रामकलेवा भनिन्छ।

रामकलेवा क्रममा साधुसन्त र जन्तीहरुलाई जनकपुरकी नारीहरु गीतका माध्यले गाली गर्दै हाँसोठट्टा गरिन्छ। आइतवार राति रामजानकी विवाह सम्पन भएसँगै विवाह महोत्समा सहभागी श्रद्धालुहरु आज बिहानैदेखि आ–आफ्नो घर फर्किन थालेका छन्।  

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो।

रामायण अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ। सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी भए।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको छ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ। त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी भएका छन्।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ। पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी सीता र रामको पूजाअर्चना गरेका छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ।

प्रकाशित: २ पुस २०८० ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App