१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिसो तथा शीतलहरबाट बच्न पूर्वतयारी गरिने

चिसो बढ्दै गएपछि शीतलहरलगायत विपद्बाट जोगिन बाँकेमा पूर्वतयारी गरिने भएको छ। चिसो तथा शीतलहरका कारण हुनसक्ने क्षति न्यूनीकरणका पूर्वतयारी गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले परिमार्जित शीतलहर आकस्मिक योजना स्वीकृत गरेको हो।

आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत जिल्लाका सरोकारवाला उपस्थित बैठकमा स्वीकृत उक्त योजनाअनुरूप आआफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायले तत्काल आवश्यक तयारी तथा पूर्वप्रबन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

पालिका विपद् व्यवस्थापन समिति तथा विषयगत क्षेत्रले आआफ्नो शीततलहर पूर्वतयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागु गर्ने निर्णयसमेत भएको छ। स्थानीय तहसँगको समन्वयमा जिल्ला तथा स्थानीय तहमा कार्यरत सबै संघसस्था, निजी क्षेत्र, नेपाल रेडक्रस सोसाइटीले आपसमा समन्वय गरी चिसो तथा शीतलहरबाट हुने क्षति न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने भएका छन्।

यसैगरी स्थानीय तहले चिसो तथा शीतलहरका कारण जोखिममा पर्नसक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने, चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहले डिभिजन वन कार्यालय वा नजिकको सवडिभिजन वन कार्यालय र वन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने, दाउरा उपलब्ध गराउँदा सहुलियत दररेटमा समेत उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए।

स्थानीय संघसंस्था, रेडक्रस उपशाखा र स्थानीय क्लबले विभिन्न समुदाय, विद्यालयमा चिसो तथा शीतलहरबाट बच्ने उपाय सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत शीतलहरबाट बच्ने÷बचाउने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्नेलगायत निर्णय भएको उनले जनाए ।

प्रकाशित: २८ मंसिर २०८० ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App