४ वैशाख २०८१ मंगलबार
समाज

निर्माणमा खेलाँची, यात्रुलार्इ सास्ती

चितवन – गत पुस १८ बाट नारायणगढ–मुग्लिन सडक खण्डमा राति १० बजेदेखि बिहान चार बजेसम्म गाडी चलाउन बन्द गरियो । राजधानीको जीवनरेखा अर्थात् लाइफलाइन मानिने यो सडकखण्ड निर्माण चाँडै सक्न राति कामलाई तीव्रता दिने भन्दै गाडी चलाउन रोक लगाइएको हो । तर यस अवधिमा काममा कुनै प्रगति हुन नसकेको पाइएको छ ।

रातमा सडक बन्द भएको १७ दिनपछि शुक्रबार चितवन जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्य समीक्षा बैठकमा अधिकारीहरुले यो अवधिमा खासै कामै हुननसकेको बताए ।

रातमा गाडी चलाउन रोक लगाएर निर्माणलाई तीव्रता दिने योजना विफल भएपछि फेरि दिउँसो ६ घण्टा सडक बन्द गर्ने निर्णय   

नारायणग–मुग्लिन सडक आयोजनाका परामर्शदाता आवासीय इन्जिनियर (आरई) पुष्कर रेग्मीले बैठकमा भने, ‘रातमा गाडी बन्द हुनुअघि शून्य दशमलब २६ प्रतिशतका दरले दैनिक प्रगति भएको थियो । राति गाडी चलाउन रोकिएपछि शून्य दशमलव शून्य ६२ प्रतिशतका हिसाबले मात्रै प्रगति भयो ।’ उनका अनुसार राति गाडी चलाउन रोक लगाएपछि कामको गति झन् चार गुणा कम भयो, लगभग कामै भएनभन्दा पनि हुन्छ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तले राति गाडी चलाउन रोकेपछि पुस १८ र १९ मा राम्रै काम भए पनि त्यसपछि प्रगति नभएको बताए । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले आफू अनुमगनमा जाँदा निर्माण भइरहेको तेस्रो खण्डबाहेक बाँकी दुई खण्डमा राम्रोसँग कामै नभएको बताए ।

३६ किलोमिटर लामो यो सडकको ३३ किलोमिटर खण्डमा विस्तारको काम भइरहेको छ । पहिलो खण्ड नारायणगढ–आँपटारीदेखि दासढुंगासम्म छ । दोस्रो खण्ड त्यहाँदेखि समिल तालसम्म छ । तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्म छ । यी तीन खण्डको निर्माण जिम्मा फरक–फरक कम्पनीले पाएका छन् । 

‘यात्रुलाई पनि दुःख नहोस्, लाइफलाइन पनि चालु होस्, काम पनि नरोकियोस् भनेर राति गाडी चलाउन रोक लगाइएको हो । गाडी चल्न रोक लगाएको समयमा काममा तीव्रता आउने विश्वास थियो । तर मैले अनुगमनमा के देखें भने दुई नम्बर खण्डमा चार–पाँच ठाउँमा काम भएको पाइयो । अरु ठाउँमा उही पुरानै पित्रिपित्रि पारा थियो’, सिडिओ भट्टले भने । निर्माण व्यवसायीले भने रातमा काम गर्न कामदारदेखि अन्य पक्ष पनि अनुकूल नभएकाले प्रगति हुन नसकेको जबाफ दिए । 

दोस्रो खण्डमा निर्माण गरिरहेको कम्पनीका इन्जिनियर प्रवीन कोजूले राति १० बजे गाडी बन्द हुने भने पनि मध्यरातसम्म चल्ने गरेको बताए । ‘मध्यरातसम्म गाडी चलिरहने, त्यसमाथि यो चिसोमा कसले काम गर्न सक्ने’, तेस्रो खण्ड निर्माण व्यवसायी शिशिर कन्दङ्वाले भने । आयोजना प्रमुख चन्द्रनारायण यादवले थपे, ‘यो चिसोमा घरमा बस्न त सकस हुन्छ । राति १२ बजेपछि कामदारलाई काममा कसरी लगाउनु ।’

परामर्शदाता आवासीय इन्जिनियर रेग्मीले पनि राति काम सन्तोषजनक ढंगले अघि बढाउन नसकिएको बताए । उनले भने, ‘राति पनि बाह्र÷एक बजेम्म गाडी ओहरदोहर गर्ने, रोकेका गाडी बिहान भएपछि पार गराउँदा दिनभर पनि काम गर्न नपाउने अवस्था आयो ।’ आयोजना सम्बद्ध अधिकारी र निर्माण व्यवसायीले दिएको तर्क चित्त नबुझेपछि सिडिओ भट्टले भने, ‘हैन यो विशेष परिस्थिति हो । यस्तो बेलामा खास ढंगले काम गर्नु प¥यो नि । गाह्रो हुन्छ भनेर यस्तो बेलामा पनि कामै नगर्ने ।’

 आयोजना प्रमुख यादवले प्रस्ताव गरे, ‘राति पनि दिउँसो पनि काम गर्दा निर्माण व्यवसायीको आर्थिक बोझ बढ्यो । उनीहरूले त्यो बोझ सरकारले बेहोर्नुपर्छ भनेका छन् । काममा प्रगति पनि नभएकाले अब विचार गर्नुपर्ने बेला आएको छ ।’

उनले बरु दिउँसो सडकमा गाडी चलाउन रोक्नुपर्ने विषयमा कुरा राख्न निर्माण व्यवसायीलाई अनुरोध गरे । त्यसपछि निर्माण व्यवसायीले दिनमा कम्तीमा आठ घण्टा बाटो बन्द गरेर काम गर्न पाउनुपर्ने माग राखे । फेरि सिडिओ भट्टले सोधे, ‘हेर्नुस् जाँगर चलाएर काम गर्ने हो भने रातमा बाटो बन्द गरेर काम गर्न जस्तो सजिलो अरु हुँदैन । दिनमा मात्रै काम गर्दा धेरै गर्न सकिन्छ भन्ने आधार के हो भन्नुस् न ?’ तर सिडिओको प्रश्नको चित्तबुझ्दो जबाफ निर्माण व्यवसायीले दिन सकेनन् । आयोजना प्रमुख र परामर्शदाताले नै दिउँसो सडक बन्द गरेर काम गर्दा प्रभावकारी हुने बताए । 

राति सडक बन्द गरेर पहाड काट्ने र दिउँसो कालोपत्रे गर्ने सहमति भएको थियो । तर दिउँसो कालोपत्रेबाहेकका काम पनि भएको र यसले सहज अवस्था ल्याउन नसकेको ट्राफिक प्रहरी निरीक्षक पन्तले बताए ।

आयोजनाका अधिकारी र निर्माण व्यवसायी रातको सट्टा दिउँसो सडक बन्द गरेर काम गर्ने पक्षमा देखिएपछि प्रमुख जिल्ला अधिकारीले भट्टले फेरि प्रश्न गरे, ‘गाडी जाम त दिउँसो पनि हुने होला । फेरि यो मिलेन त्यो मिलेन भन्दै तपाईंहरुले एउटा न एउटा विषय ल्याउनुहुन्छ । यसो गर्दा काम तीव्र गतिमा हुन्छ भन्ने के छ ग्यारेन्टी ?’ त्यसपछि आयोजना प्रमुख यादवले काम गर्ने शैलीबारे तीन दिनभित्र कार्ययोजना बुझाउने बताए ।

निर्माण व्यवसायीका प्रतिनिधि शिशिर कन्दङ्वाले  भने, ‘चाहिने सामग्रीहरु सबै छन् । यन्त्र, उपकरण र कामदार पनि छन् । दिउँसो गाडी बन्द गरे भटाभट काम हुन्छ । आउँदो वर्षाअघि सबै काम सक्नेछौं ।’ आयोजना प्रमुख यादवले पनि लगत्तै थपे, ‘दसैं– तिहारपछि गाडी बन्द गर्ने भनेको चुनावसम्म भनियो । त्यसपछि पनि रातिमा बन्द भयो । काम हुन सकेन । अब दिनमा त्यो पनि कम्तीमा आठ घन्टा सडक बन्द गरौं ।’

निर्माणसँग सम्बद्ध पक्षको धारणा सुनेपछि समीक्षा बैठकले अब बिहान १० बजेदेख दिउँसो ४ बजेसम्म बाटो बन्द गरेर काम गर्ने निर्णय गरेको छ । अहिले यो सडक खण्ड राति १० देखि बिहान ४ बजेसम्म बन्द हुने गरेको छ । प्रजिअ भट्टले दिउँसो सडक बन्द एक महिनाका लागि मात्रै हुने बताए । ‘त्यसपछि फेरि दिउँसो एकतर्फी खोल्ने र राति अहिलेको जस्तै छ घण्टा बन्द गरेर काम गर्नुपर्ने अवस्था पनि आउन सक्नेछ । राजधानीको लाइफलाइन भएका कारण यात्रुलाई असहज हुने गरेर लामो समय बन्द गर्न मिल्दैन । आयोजनाका अधिकारीहरुले यो कुरा ख्याल राख्नु होला’, भट्टले भने।

यो सडक खण्डलाई एसियाली मापदण्ड अनुरुप दुई लेन बनाउन लागिएको हो । गत वैशाखमै सकिनुपर्ने भए पनि अहिलेसम्म ७० प्रतिशत पनि काम भएको छैन । समयमा काम नसकिँदा यो सडक भएर यात्रा गर्ने हजारौं यात्रुले निकै कष्ट बेहोरेका छन्। 

सडक विस्तारको गति हेर्दा यो वर्ष पनि काम सक्न गाह्रै हुने देखिन्छ । तर आयोजनाका अधिकारीहरु आउँदो वर्षाअघि सबै काम सक्ने बताउँछन् । त्यसका लागि पनि म्याद थप गर्नुपर्ने हुन्छ । पछिल्लो थपिएको अवधिअनुसार फागुन आठ गतेभित्र काम सक्नुपर्ने हुन्छ । 

समीक्षा बैठका दिइएको जानकारी अनुसार आठ सय मिटर पहाड काट्न बाँकी छ । साढे १४ किलोमिटर एक तह कालोपत्रे भएको छ भने १४ किलोमिटरभन्दा केही बढी दोस्रो तहको कालोपत्रे गर्ने काम पनि पूरा भएको छ । सडकमा तीन तहको कालोपत्रे हुनेछ । २० किलोमिटरमा ग्राभेल राख्ने काम पनि सकिएको छ । १३ किलोमिटरमा ग्राभेलसम्म हुन सकेको छैन । 

पहाड काट्ने काम दुई महिनाभित्र सकिने र त्यसपछि गाडी ठप्पै गर्न नपर्ने निर्माण व्यवसायीका प्रतिनिधि कन्दङ्वाले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले फरक–फरक समयमा स्थलगत निरीक्षण गरेर काम चाँडै सक्न निर्देशन दिए पनि कार्य शैलीमा खासै सुधार आएको छैन ।

प्रकाशित: ७ माघ २०७४ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App