४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन

बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै भेटी संकलन भएको छ। सोमबार बाला चतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्ने भक्तजनहरूबाट ६ लाख २ हजार २ सय ३२ भेटी संकलन भएको छ। बाला चतुर्दशीका दिन करिब ४० हजारभन्दा बढी भक्तजन मन्दिरमा दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख राम बानियाँ क्षत्रीले बताए।

पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरू आएका थिए।  

मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिको गलेश्वर मन्दिरपरिसरमा पूजापाठका लागि आएका भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए। ‘संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ। ठूला पर्वमा भोलिपल्टै र नियमित महिनाको दुई पटक गन्ने गरिन्छ,’ सचिव खत्रीले भने।

गत वर्ष बालाचतुर्दशीमा साढे ४ लाख र अघिल्लो वर्ष ३ लाख २५ हजार संकलन भ्एको थियो। मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिरपरिसरमा ल्याइएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए।

‘अहिलेसम्मकै धेरै भक्तजनले पूजाआजा गरे, भक्तजनको गुनासो सुन्ने गरी व्यवस्थापन मिलाइएको थियो,’ अध्यक्ष रेग्मीले भने। उनका अनुसार कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा संकलित भेटी गनिएको हो।

‘भक्तजनले समेत चाहना गरेमा सहजै भेटी गन्न पाउँछन्, गन्न आउने बैंकका कर्मचारीको साथमै जम्मा गर्न पठाउँछौँ, ‘दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ,’ अध्यक्ष रेग्मीले भने।

भक्तजनको सहजताका लागि प्रवेशद्वारदेखि मन्दिरका विभिन्न स्थानमा स्वयंसेवक तथा सिसी क्यामेराले समेत निगरानी समेत गरिएकाले भेटी चोरीसमेत रोकिएको छ। गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिंगको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरूबाट ठुलो संख्यामा श्रद्धालु भक्तजन आएका थिए।  

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ। 

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रसिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिंगेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन्। ज्योतिर्लिंग, शालिग्राम, जलकुण्ड, शंखचक्र, नागमणि आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वयं उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ।

प्रकाशित: २७ मंसिर २०८० ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App