१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपा उपसभापति नै कांग्रेसमा फर्किइन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाहीको नेपाली कांग्रेसमा पुनः प्रवेश गरेकी छिन्। रास्वपाको आन्तरिक गतिविधि र राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै शाही कांग्रेसमा फर्किएकी हुन्।

यसले जिल्लाको चुनावी राजनीति नयाँ मोडमा पुगेको चर्चा भइरहेको छ। यसलाई धेरैले केवल दल परिवर्तन मात्र नभई, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलमाथिको प्रश्नका रूपमा समेत हेरिरहेका छन्।

शाहीलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन्। खड्काका अनुसार शाहीको पुनः आगमनले कांग्रेसको संगठनात्मक सशक्तीकरणमा सकारात्मक सन्देश गएको छ।

यता नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले निर्वाचन केन्द्रित छलफलका क्रममा शाहीले रास्वपा परित्याग गर्ने निर्णय सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको हो।

जुम्लाको चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीति गरिरहेकी थिइन्। वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनले केही समयमै जिल्ला उपसभापति भएकी थिइन्। तर अपेक्षित राजनीतिक अभ्यास, स्थानीय एजेन्डामा स्पष्टता र संगठनात्मक स्थायित्व नदेखिएको भन्दै उनले दल परित्याग गरेको बुझिएको छ।

शाहीको फिर्तीलाई रास्वपाभित्र जारी असन्तुष्टिको संकेतका रूपमा व्याख्या गरिएको छ। खासगरी निर्वाचन नजिकिँदै गर्दा अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्ति यस घटनाले उजागर गरेको टिप्पणी हुँदैछ।

जुम्ला कांग्रेसले शाहीलाई ‘घर फर्किएको’ रूपमा व्याख्या गर्दै यस घटनाले चुनावी अभियानमा मनोवैज्ञानिक लाभ पुग्ने अपेक्षा गरेको छ।

प्रकाशित: १९ माघ २०८२ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App