१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न हुँदैन : प्रजिअ आचार्य

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने बताएका छन। ७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र माहुरीको होमको समन्वय तथा राष्ट्रिय मानव अधिकार लुम्बिनी प्रदेश कार्यालयद्वारा सदरमुकाम तौलिहवामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन।

 उनले नागरिकले आफ्नो अधिकार उपभोग गरिरहँदा अरुको अधिकार हनन भए नभएको कुरा हेक्का राख्नु पर्ने बताए। ‘ आफ्नो अधिकार उपयोग गर्दा अरुको हनन गर्न हुँदैन ’। अहिलेको अवस्थामा अधिकारको मात्र कुरा सिकाइँदा कर्तव्यलाई भने खासै चासो नदिएको बताए। ‘ हरेक कुरामा अधिकारको वकालत गर्न मात्र सिकायौ, कर्तव्यका कुरा सिकाएनौ जसले गर्दा अहिले समस्या आइरहेको छ ’। भ्रूणमा रहेको बच्चा देखि नमरुन्जेल सम्म मानव अधिकार हुन्छ, अधिकार उपयोग कै नाममा भ्रूणमा रहेको बच्चाले समेत आफ्नो अधिकार पाएको अवस्था छैन ’। जुन कुरामा पनि आफू सही भन्दै औला ठड्याउने काम भईरहको भन्दै उनले मानव अधिकार सहित कर्तव्यप्रति सबै सचेत हुनु पर्ने बताए। 

उनले एक जनाको  प्रयासले मात्र मानव अधिकारको संरक्षण हुन नसक्ने भन्दै यस तर्फ सबै एकबद्ध हुनु पर्ने  बताए। सो अवसरमा आयोगका प्रदेश संयोजक सोमनाथ सुबेदीले मानव अधिकारको रक्षाका लागि आयोग प्रयत्नशील रहेको बताए। उनले लुम्बिनी प्रदेशमै कपिलवस्तु मानव अधिकारको अवस्थामा उत्तम रहेको बताए। उनले कपिलवस्तु स्थित माहुरी होमले राम्रो काम गरेकोले आयोगले यस वर्ष उक्त संस्थालाई सम्मानित समेत गरेको बताए। 

सो अवसरमा आयोगका अजीत ठाकुरले मानव अधिकार दिवसको औचित्यबारे जानकारी गराएका थिए। प्रदेश प्रमुख सुबेदीको अध्यक्षतामा भएको  कार्यक्रममा जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनी, मानव अधिकार सञ्जाल लुम्बिनी प्रदेशका संयोजक रबि ठाकुर, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, अधिकारकर्मी रुकैया खातुन, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष पुष्पा रेग्मी लगायतले मानव अधिकारको संरक्षणमा जोड दिएका थिए।  

प्रकाशित: २४ मंसिर २०८० ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App