साहित्यकार तथा अनुसन्धाता बद्रीप्रसाद ढकालकाे जन्मदिनकाे अवसरमा ‘प्रकृति, पर्यावरण र साहित्य’ र ‘देवकाेटाका समग्र निबन्ध’ काे सडक लाेकार्पण गरिएकाे छ।
राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीकाे प्रमुख आतिथ्यमा कृति लाेकार्पण गरिएकाे हाे।
प्रमुख अतिथि प्राडा केसी, साहित्यकारहरू नवराज रिजाल, डा. शंकर गैरे लगायतले ढकालकाे प्रकृति पर्यावरण र साहित्य र महाकवि देवकाेटाका सम्पूर्ण निबन्ध कृति लाेकार्पण गरेका हुन्।
ऋग्वैदिककालदेखि नै लेखिंदै आएकाे प्रकृतिकाे चित्रण र मानव सभ्यताकाे विषयलाई साहित्यमा कसरी प्रयाेग भएकाे छ भन्ने खाेजअनुसन्धान गरिएकाे प्रकृति, पर्यावरण र साहित्यमा वेद, रामायण, महाभारत, संस्कृत साहित्य हुँदै नेपाली साहित्यका विभिन्न ग्रन्थमा भएकाे प्रकृति चित्रणकाे सन्दर्भ र उदाहरण प्रस्तुत गरिएकाे छ।
त्यस्तै महाकवि देवकोटाका सम्पूर्ण निबन्धमा देवकाेटाले लेखेकाे तथा अनुवाद गरिएका चार कृतिका सबै निबन्ध समाविष्ट गरिएकाे छ।
विवश अतृप्तयात्री, सोमराज शर्मा र उपमन्यु नागढुंगे उपनामले परिचित ढकाल अतृप्तयात्रा (खण्डकाव्य,२०६१), यी स्मृतिका छालहरू (उपन्यास, २०६२), बोर्डिङको मास्टर (हाँस्यव्यङ्ग्यसङ्ग्रह, २०६४), अस्विकृत कैदी (कवितासङ्ग्रह, २०६९), मभित्रको मेरो देश (कविताकाव्य, २०७२), नगरबधुसँगको सहयात्रा (२०७७) जस्ता कृति प्रकाशित छन्।
त्यस्तै सिद्धान्त र समालोचना (सहलेखन,२०७३), मिथक सिद्धान्त र प्रयोग (२०७५),साहित्य र समालोचना (२०७५), बुढ्यौली साहित्य, वृद्ध मनोविज्ञान र साहित्य जस्ता उनका समालाेचनात्मक कृति प्रकाशित छन्।
अनुसन्धान विमर्श नेपाल, चन्द्रागिरिका अध्यक्ष, प्राज्ञिक विमर्श (पियर रिभ्यू) अर्धवार्षिक जर्नल सम्पादक जस्ता दर्जनाैं संस्थामा संलग्न उनका बोध, सिर्जना र सम्पादन लेखन कला, हाम्रो पत्रकारिताको हाते पुस्तक, विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक, नेपाली उपन्यासमा विश्वेश्वरप्रसाद कोइराला, पौराणिक सूक्तिहरू, संस्कृतिमा के छ?, साहित्यमा मृत्युचिन्तन, पूर्वीय दर्शन समुच्चय, आधुनिक नेपाली कथामा मिथक, प्रकृति, साहित्य र पर्यावरण जस्ता कृति प्रकाशित छन्।
प्रकाशित: १९ माघ २०८२ ०९:३५ सोमबार





