१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बनी नसक्दै भत्कियो निर्माणाधीन पुल, ठेकेदार सम्पर्कविहीन

निर्माण नसकिँदै भत्किएको कटारी हडैयास्थित पक्की पुल। तस्बिर: महेश्वर/नागरिक।

कटारी नगरपालिका-३ हडैया खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल बनी नसक्दै भत्किन थालेको छ।

मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–मिर्चया खण्डको हडैया खोलामा निर्माणाधीन सो पुल निर्माण नसकिँदै भत्किन थालेपछि स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

पुलको स्वल्याब ढलानमा भ्वाङ परेर भत्किएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्। निर्माणाधीनको पुलको दुई स्पान जोड्ने व्वाईन्टमा भत्किएर झण्डै २ मिटर लम्बाइको भ्वाङ परेको छ।

सुरुमा सानो भ्वाङ रहेकोमा अहिले गाडी आउजाउ गर्दै जाँदा बढ्दै गएर ठूलो भएको छ। ज्वाईन्टमा भ्वाङ परेर भत्किएकाले गाडी आउजाउ गर्दा ठूलो आवाज आएर ध्वनि प्रदूषण हुँदा गाउँलेलाई राति सुत्नसम्म समस्या हुने गरेको छ।

विगत ७ वर्षअघि निर्माण सुरु भएको सो पुल ०७५ असार मसान्तभित्र सक्ने गरी सम्झौता गरेर २०७३ देखि थालिएको हो। ढलान गर्दै बिम चर्केको पाइएपछि स्थानीयले त्यति बेलै गुणस्तरहीन काम भएको आशङ्का गर्दै प्रश्न उठाएका थिए। लगभग सकिन लागेको पुल भत्किन थालेपछि निर्माण कार्यमै कैफियत भएको भन्दै ठेकेदारलाई कारबाही गर्न माग गर्न थालेका छन्।

सडक डिभिजन लाहानको ८ करोड ७९ लाख २८ हजार रुपैयाँ लागत मूल्यमा सो पुल बनाउने जिम्मा राजेन्द्र–जगदम्बा गल्या जेवीले लिएको हो।

सम्झौता अवधिभित्र पुल नसकिएपछि पटकपटक म्याद थपिँदै आए पनि अझै निर्माण सम्पन्न हुन बाँकी नै रहेका बेला दोस्रो पटक पुल भत्किन थालेको हो। स्थानीय उपभोक्ताहरुले ७–८ वर्षअघि नै निर्माण थालेको पुल अहिलेसम्म नबनेकोमा गुनासो गर्नुपर्नेमा झन् भत्किन थालेपछि थप दुःखी हुनु परेको बताएका छन्। ढलान गर्दै बिम चर्केर भत्केको पुल फेरि भत्किन थालेपछि हिँड्नै जोखिम भएको उनीहरूको भनाई छ।

निर्माण कार्य सुरुवातमै गुणस्तरहीन काम भएको भन्दै आफुहरुले सचेत गराउँदै आए पनि नियमन निकाय र सरोकारवालाहरुले चासो नदिँदा यस्तो समस्या आएको उनीहरूको गुनासो छ।

कम गुणस्तरीय काम भएको कुराप्रति जति गुनासो गरे पनि सुनुवाइ नभएकाले अहिले यस्तो जोखिम मोल्नुपर्ने अवस्था आएको पनि उनीहरु बताउँछन्। थपिएको म्याद पनि सकिइसकेको र लामो समयदेखि ठेकेदार कम्पनी प्रतिनिधि सम्पर्कविहीन भएको पनि गाउँलेको भनाई छ। 

कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले डिभिजन सडक कार्यालयका इन्जिनियर सञ्जिव दासलाई उद्धृत गर्दै काम गुणस्तरहीन भएको तथा ठेकेदार सम्पर्कविहीन भएको पुष्टि गरे।

पुल भत्किएको भन्दै स्थानीयबाट गुनासो आएपछि ठेकेदारको खोजी गर्दा सम्पर्कविहीन भएको पाइएको हुनाले डिभिजनलाई पत्राचार गरेर काम अघि बढाउन आग्रह गरेको मेयर श्रेष्ठले बताए।

उनका अनुसार डिभिजनका इन्जिनियर दासले पनि ठेकेदारलाई तत्काल हाजिर हुन पत्र काट्ने तयारी गरेको र काम नसकी अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोध्नेदेखि ठेक्का तोड्नेसम्मको कारबाही हुने बताएका छन्।

मेयर श्रेष्ठले पुलको काम अब ८/१० प्रतिशत मात्रै बाँकी रहेको तर, भुक्तानी भने २० प्रतिशत बाँकी रहेको जानकारी आएकाले काम सक्न ठेकेदार छिट्टै सम्पर्कमा आउने विश्वास लिएका छन्।

ठेकेदारलाई बोलाएर भत्किएको पुल मर्मत गर्न, बाँकी काम छिट्टै सक्न इन्जिनियर दासलाई निर्देशन दिएको भन्दै मेयर श्रेष्ठले छिट्टै पुल बन्ने गरी डिभिजनले ताकेता गर्ने बताएका छन्।

प्रकाशित: २० मंसिर २०८० १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App