नेपालका पर्यटन गन्तव्यहरूले विश्वका पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। त्यति मात्र होइन भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, वातावरणीय तथा यहाँको रहनसहन, रीतिरिवाज चालचलन र भेसभुसाले संसारलाई मात्र होइन आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ।
जसका कारण तराईका युवा हिमाल चढ्न थालेका छन् भने हिमालका शेर्पा तराईका ठाउँहरू घुम्न थालेका छन्। यसले हिमाल र तराई दुवै क्षेत्रको पर्यटनमा योगदान पुराएको छ।
रारा इको रिर्सोट सञ्चालक तथा कर्णाली पर्यटन उद्यमी समाजका अध्यक्ष देवीकृष्ण रोकायले रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या पछिल्लो समय ह्वात्तै बढेको बताए।
‘सार्वजनिक बिदा तथा पर्वको बेलामा त आजकल विदेशी भन्दा नेपालीहरू टन्नै आउँछन्। अरू समयमा पनि नेपालीहरू राम्रै सङ्ख्यामा रारा घुम्न आइरहेका हुन्छन्,’ रोकायाले भने, ‘सिजनमा त यसपालि दैनिक ६/७ सय आएका थिए। अहिले पनि कम्तीमा झन्डै सयको हाराहारीमा आइरहेका छन्।’
रोकायाका अनुसार रारामा सबै सिजनमा आन्तरिक पर्यटक आउने गरेका छन्। ‘सङ्ख्यात्मक हिसाबमा धेरै र थोरै भन्ने मात्र हो, नत्र रारामा अफ सिजन भन्ने त्यति हुन्न,’ उनले भने, ‘रारामा कोही हिउँमा खेल्न आउँछन् भने कोही यस क्षेत्रका फूलहरू फूलेका हेर्न आउँछन्।’
उनले सिजनको समयमा भने रारा जाँदा अगाडी नै होटेलको व्यवस्था तथा जानकारी लिएर जानुपर्ने बताए।
प्याकेज प्रणाली, शैक्षिक तथा अध्ययन भ्रमण, सहकारी/कम्पनी भ्रमण, सामूहिक भ्रमणजस्ता प्याकेजमा रारा घुम्न आउने गरेको रोकायले बताए। यसमा पनि युवा उमेर समूहका बढी आउने गरेको उनले बताए।
‘रारा घुम्न आउनेमा विषेशगरी युवा उमेर समूहका अत्यधिक छन्,’ उनले थपे, ‘तर यसको मतलब यो हैन कि अरू उमेर समूहका नआउने भनने हैन, विद्यार्थी, साना भाइबहिनी तथा पाका उमेरका पनि रारा घुम्न आउँछन्।’
यस्तै तिलिचोमा सिजनको बेला ५० प्रतिशत पर्यटक नेपाली हुने होटेल न्यु तिलिचो बेस क्याम्पका सञ्चालक कर्मा गुरुङले बताए। लामो बिदा भएको समयमा नेपाली पर्यटकहरू धेरै आउने बताउँदै उनले भने, ‘लामो बिदाको समयमा त आजकल नेपालीहरू पनि विदेशी जति नै सङ्ख्यामा आउँछन्।’
उनका अनुसार यदि लामो बिदा परेको छ। सिजन सकिँदै गर्दा पनि अहिले १०/२० जनाको सङ्ख्यामा नेपालीहरू तिलिचो पुगिरहेका छन्। गत सोमबार देखि परेको हिउँले बाटो पुरिदा केही दिन भने पर्यटक नहुने बताउँदै उनले भने, ‘हिजो परेको हिउँले बाटोमा समस्या छ, नत्र नेपाली पर्यटकहरू आइरहेका थिए। अब बाटो खुलेपछि थोरै सङ्ख्यामा आए पनि नेपालीहरू आइरहन्छन्।’
यस्तै चितवनमा पछिल्लो समय आन्तरिक पर्यटक पर्यटनको मुख्य सरोकारवाला भएको जङ्गल सफारी लजका सञ्चालक तथा होटेल संघ चितवनको पूर्व अध्यक्ष सुमन घिमिरेले बताए।
उनले अहिले चितवनमा ४० प्रतिशतको सङ्ख्यामा नेपाली पर्यटकको अकुपेन्सी रहेको बताए। ‘चितवनको पर्यटनलाई ठुलो हिस्सामा नेपाली पर्यटकले योगदान पुछ,’ उनले थपे, ‘विदेशी पर्यटक सिजने बल हुन्छ भने नेपाली पर्यटक अलस जन जस्तै हो।’
अहिले चितवनमा ४०/४० प्रतिशत नेपाली र विदेशी तथा २० प्रतिशत भारतीय पर्यटक भएको घिमिरेले बताए।
कोभिडपछि नेपालको पर्यटन क्षेत्रको मुख्य स्रोत नेपाली पर्यटक भएको उल्लेख गर्दै यसरी नै नेपाली पर्यटक संख्यामा बढ्दै गएमा आन्तरिक पर्यटकले नै चितवन तथा पोखरा जस्ता पर्यटकीय क्षेत्र सर्भाइभ गर्दिने उनले बताए। कोभिडपछि नै नेपालीहरूको घुम्ने बानीको विकास भएको र यो क्रमिक रूपमा वृद्धि हुँदै जाँदा पछिल्लो समय आन्तरिक पर्यटकको घुम्ने सङ्ख्यामा लोभलाग्दो वृद्धि भएको छ।
नेपाली पर्यटकको लोभलाग्दो घुम्ने बानीको विकासलाई समयमै सरकार र सम्बन्धित निकायले उचित प्रयोग गरी राष्ट्रले नै अहिलेको भन्दा धेरै लाभ लिन सक्छ। पछिल्लो समय पर्यटन क्षेत्रमा भएको पूर्वाधारको विकास र मानिसहरूको घुमघाम अभिरुचि बढेकाले यस क्षेत्रको सम्भावनालाई अझ फराकिलो पारेको छ।
प्रकाशित: २० मंसिर २०८० १०:०१ बुधबार