९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

रामधुनी कोमाबाट आईसीयूमा, अझै ८ जना उपचाररत

स्कुल बस दुर्घटना अपडेट

क्याप्सनः दुर्घटनामा परेको बस। तस्विरः महेश्वर

१० दिनअघि ब्रेक फेल भएर दुर्घटनामा परेको स्कुलबसका घाईतेहरु सबै खतरामुक्त भएका छन्। विराटनगरस्थित न्युरो अस्प्तालमा उपचाररत घाईतेमध्ये बेहोस भएर कोमामा रहेकी १७ वर्षीया रामधुनी चौधरीलाई होस खुलेपछि आइतबारदेखि आईसीयूमा सारिएको छ।

अन्य घाईतेहरुमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् भने उपचाररत ८ जनामध्ये रामधुनी बाहेकको स्वास्थ्य अवस्था सामान्य भईसकेको अस्पालमै रेखदेखमा खटेका आफन्त जयराम पञ्जियारले बताए।

१० दिनदेखि कोमामा रहेकी रामधुनीको अघिल्लो दिन मात्र होस खुलेर ‘आमा’ भनेर बोलेको पञ्जियारले बताए। आईसीयूमै रहेका अर्का गम्भीर सत्यनारायण चौधरीले पनि आईतबारदेखि खाना खान थालेको उनले बताए। ‘सुरुदेखि कोमामा रहेकी रामधुनी बोल्न थालेकी छिन्, उनलाई आज कोमाबाट झिकेर आईसियुमा सारिएको छ’ पञ्जियारले भने ‘सत्यनारायणले पनि आजदेखि खाना खान थालेकोले अव सबै निको हुन लागेका छन् भन्दा हुन्छ।’ 

त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलका बालबालिकासहित ४३ जनाको पिकनिक टोली लिएर गएको देउरीकै अन्नपूर्ण बोर्डिङको ०१–०५–००१ ख ००४४ नं. को स्कुल बस गत ९ गते उदयपुरगढी गाउँपालिका ७ जोगीनीटोलमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी चालक र २ बालबालिकाको ज्यान जानुका साथै ३६ घाईते भएका थिए। बसको ब्रेक फेल भएर दुर्घटना हुँदा चालक ४० वर्षीय भिखन चौधरी तथा एकाघरमा ११ वर्षीय विकास चौधरी र उनकै बहिनी ७ वर्षीया सोनिया चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा निधन भएको थियो।  

रामधुनी र सत्यनारायणबाहेकको अवस्था सामान्य भईसकेको छ। १२ वर्षीया चन्द्रिका चौधरी, १७ वर्षीय नरेश चौधरी, १२ वर्षीय रोहन चौधरी, १२ वर्षकै स्वस्तिका चौधरी, ४० वर्षीय रामचन्द्र चौधरी र १७ वर्षीया चाँदनी चौधरीको उपचार भइरहेको छ।  

उपचार खर्च बोर्डिङले बेहोर्ने

दुर्घट्नाका मृतक र घाईतेहरुको क्षतिपूर्ति तथा उपचारको जिम्मा बस उपलब्ध गराउने बोर्डिङले बेहोरेको छ। विद्यार्थी बोक्ने बस नियमबिपरित गाउँलेलाई पिकनिक खान उपलब्ध गराएको भन्दै कारबाही स्वरुप क्षतिपूर्ति र उपचारमा लाग्ने खर्च स्कुललाई बेहोर्न लगाइएको हो।  

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले विद्यार्थी र शिक्षक सवारी प्रयोजनका लागि सञ्चालित स्कुल बस जथाभावी गाउँलेलाई पिकनिक जान दिनु नियमबिपरित भएको भन्दै  कारबाहीको भागीदार बन्नुपर्ने बताए। त्यसैले मृतक ३ जनालाई बिमावापत पाउने ५ लाख बसको बिमावापत पाउने रकमबाट क्षतिपूर्ति दिलाउने तथा अन्तिम क्रिया खर्च थप १–१ लाख पनि विद्यालयले नै तिर्ने सहमति गराएको मेयर बस्नेतले बताए। 

त्यसैगरी घाईतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च पनि स्कुलले बेहोर्ने सहमतिपत्र बनाइएको छ। घाईतेहरुको स्वास्थ्य अवस्था बुझ्न न्युरो अस्पताल पुगेका बस्नेतले अस्पतालले पनि सामाजिक उत्तरदायित्ववापत मुनाफाको १० प्रतिशत हिस्सा उपचारमा छुट गरिदिन आग्रह गरेको बताएका छन्। दुर्घटनामा पर्ने सबै घाईते बालबालिका गरिव र विपन्न परिवारका भएकाले उपचारमा सहयोग गर्न अस्पतालसँग आग्रह गरेको बस्नेतको भनाइ छ।  

प्रकाशित: १८ मंसिर २०८० ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App