१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

सरकारी अवकाशपछि हाँस पालनमा मस्त श्रीमान्-श्रीमती

जुम्लाको चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँकी ५५ वर्षकी रीता (बुढ्थापा) चौलागाई बिहानैदेखि बेलुका अबेरसम्म हाँस स्याहारसुसारमा व्यस्त हुन्छिन्। दैनिकी जसो उनी हाँसको दानापानी र रेखदेखमै व्यस्त देखिन्छन्।

रीता प्रावि तहको पूर्वशिक्षिका पनि हुन्। उनले जागिरबाट स्वैच्छिक अवकाश लिएपछि अहिले नियमित हाँस पालनमा सक्रिय छिन्। लोकमणि बहुपंक्षी पालन टर्की फर्म २०७४ सालमा दर्ता गरेर उनले हाँस पालन गरिरहेकी हुन्। उनलाई ६१ वर्षका श्रीमान् नारायण चौलागाईको पनि राम्ररी साथ सपोट छ।

चौलागाई पनि सरकारी जागिरे थिए। २०७६ सालमा सीप विकास कार्यालयको प्रमुख भएर उनले जागिरबाट अवकाश लिए। आजभोलि दुवै श्रीमान् र श्रीमती मिलेर हाँस पालन गरिरहेका छन्।

सरकारी कर्मचारी अवकाशपछि केही गर्दैनन् र बेरोजगार युवा पुस्ताले वैदेशिक रोजगारीमा मात्रै जानुपर्छ भन्ने भ्रमलाई हटाउन पनि आफूहरू यस काममा सक्रिय रहेको उनीहरु बताउँछन्।

नारायण भन्छन् ‘जुम्लामा व्यावसायिक रुपमा थालिएको यो पहिलो हाँस पालन हो। तर, युवा पुस्ताले यो पेसामा रुचाउँदैनन्। दुख्न लाग्छ।’

उनको फर्ममा अमेरिकन पेकिङ जातको हाँस पालिएको छ। अमेरिकन पेकिङ हाँस ४५ दिनदेखि ६० दिनमा दुईदेखि ढाई किलो हुने गर्छ। पेकिङ मासु र अण्डाको लागि उपयुक्त छ यो हाँस।

‘दैनिक तीन क्यारेट अण्डा बिक्री हुन्छ। यसबाट ३ हजार छ सय रुपैयाँ आउँछ। दानामा दुई हजारदेखि २५ सय खर्च हुन्छ, बाँकी त सबै आम्दानी हो।’ उनी भन्छन्।

रीताले चाइनिज चल्ला निकाल्न र मासुको लागि यो प्रजातिको हाँस राम्रो हुने बताइन्।

‘हाँस पालन त्यति सजिलो पनि छैन।’  रीताले भनिन्, ‘दाना सहज रुपमा पाइँदैन। एक बोरा दानाको ३ हजार ५ सय देखि ४ हजार रुपैयाँ पर्छ। तयारी दाना नेपालगन्ज हुँदै ल्याइन्छ। तर हाँस पाल्नुको आनन्द छुट्टै छ। १५ वर्ष शिक्षण पेसामा रहेपनि याे पेसा रोजेपछि छुट्टै आनन्द मिल्छ।’

हाँस पालन करिब १२ लाख बाट सुरु गरेको नारायण बताउँछन्। ‘२ लाख कम्पाउन्ड व्यवस्थापन, साढे ३ लाख जेनेरेटर, १ लाख ५० चल्ला निकाल्ने ह्याचरी ९मेसिन ५ सय १२ क्षमता० को हाँसलाई पौडिन ६० हजारको पोखरी निर्माण र १ लाखको सोलार लगायत गरि १२ लाख लगानी छ।’ उनका अनुसार अहिले फर्ममा दुई सय बढी हाँस र १ सय ५० बढी लोकल कुखुरा छन्।

‘बजारमा मासुको माग बढ्दो छ। चल्लाको माग पनि धेरै नै छ। माग अनुसारको मासु र चल्ला पुर्‍याउन सकिएको छैन।’ उनले भने। 

अहिले उनको गाउँका हरेक घरमा हाँस पाल्न थालिएको छ। तर व्यावसायिक रुपमा हाँस पालन गरिएको उनीहरुको फर्म भने पहिलो हो।

‘फर्म अवलोकन गर्न दैनिक दर्जनौं मानिसहरु आउने गर्छन्। हाँस पालनबारे सोधपुछ गर्छन्। रीता भन्छिन् ‘हाँस पालनको लागि जुम्लाको हावापानी निकै सुहाउँदो छ।’

उनका अनुसार वर्षमा एउटा हाँस ४ केजीसम्म हुर्काउन सकिन्छ। प्रत्येक हाँस न्यूनतम १ हजार ७ सय देखि १ हजार ९ सय रुपैयाँमा बिक्री हुन्छ।’

अहिले यहाँ उत्पादित हाँसका चल्ला छिमेकीको जिल्ला मुगु, कालिकोट र डोल्पा जिल्लासम्म लगिएका छन्। उनीहरुले चार वर्ष पहिले टर्की पालन गरेका थिए। पहिलो पटक दुई सय जोडी ल्याएर परीक्षण गरे। टर्की मासुको लागि उपयुक्त भएपनि वधशाला नहुँदा समस्या देखियो। उनीहरुले बट्टाई पालन पनि गरे। उनीहरुले पालेका टर्की, लौकाट र बट्टाई कर्णालीको कालिकोट, मुगु र डोल्पासम्म पुगेको थियो। अहिले भने उनीहरुहरु हाँस पालनलाई व्यावसायिक तरिकाले पालेको बताउँछन्।

उनीहरुले पहिलो पटक च्याउ खेती देखि मौरी पालन समेत गरेको सुनाए। नारायण भन्छन् ‘म ३२ वर्ष मौरीसँग रमाए। कृषि उत्पादनमा अत्यधिक मात्रामा प्रयोग हुने विषादी आदि कारणले मौरी राम्रो हुन सकेन।’

उनीसँग अहिले पनि १५ घार मौरी छन्। उनले मह प्रशोधन प्रविधिको आविष्कार समेत गरे। फलस्वरुप उनी जनसेवा श्री पदकबाट विभूषित भए। जिल्ला र नगरपालिकाले उनलाई उत्कृष्ट किसानका रुपमा सम्मान तथा पुरस्कृत गरिरहेको छ।

प्रकाशित: १६ मंसिर २०८० १५:०८ शनिबार