१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

गाई-भैँसीमा बाझोपन हटाउन ‘डोर टु डोर’ उपचार सेवा

गाई-भैँसीमा बाझोपन हटाउन कपिलवस्तुमा ‘डोर टु डोर’ उपचार सेवा संचालन गरिएको छ। 

कृषकहरुलाई प्रोत्साहित गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले गाई भैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा कपिलवस्तु नगरपालिका-२ र र बाणगंगा नगरपालिका २ वडाका गरी पचास गाई भैँसीको उपचार गरिएको हो।

विज्ञ केन्द्रका प्रमुख डा. प्रवेज आलमले कृषकहरुलाई व्यावसायिकरूपमै गाई भैँसी पालनकालागि प्रोत्साहित गर्न यो कार्यक्रम संचालन गरिएको बताए।

उनले जिल्लाका व्यावसायिक रुपमा गाई भैँसी पालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको बताए। दुधालु गाई भैँसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।

‘गाई भैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ’, उनले भने, ‘उपचारपश्चात् प्रजनन हुने र दूध उत्पादन पनि हुनेछ।’

गाई भैँसीको बाँझोपन, जुका, माटे, खनिज तत्त्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु प्राविधिक राजु पौडेलले बताए।

पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको उनले सुनाए।

भैँसी पालन गरिरहेको कपिलवस्तु नगरपालिका वडा नम्बर १० का किसान सुलोचना पराजुलीले घरदैलोमै पशुको उपचार सेवा पाउँदा खुसी लागेको बताइन।

उनले सेवालाई जिल्लाभर बिस्तार गर्नु पर्नेमा जोड दिइन्। आफूले पालेको गाई र भैँसीमा प्रजनन नहुने समस्या रहेको र कार्यालयबाट उपचारसँगै निःशुल्क औषधि पाएको उनले बताइन। उनले प्रत्येक वर्ष एक पटक यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने बताइन्। 

साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाको सहयोग र विज्ञ केन्द्रले यो सेवा प्रदान गरेको हो। संघका प्रबन्धक बसन्त मुराउले व्यावसायिक दुध उत्पादन बढाउन र कृषकहरुलाई प्रोत्साहित गर्न आफूहरूले यो कार्यक्रम हरेक वर्ष सहयोग गर्दे आएको बताए।

प्रकाशित: १६ मंसिर २०८० १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App