१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखको क्षति

सर्लाहीको एक पसलमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरस्थित किराना पसलमा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय चन्देश्वर चौधरी कलवारले संचालन गरेको किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको पीडितले जनाएको छ।  आगलागीबाट घर तथा घरमा रहेको सम्पूर्ण सामग्री, किराना पसल, नगद तथा गरगहना पनि नष्ट भएको इलाका प्रहरी कार्यालय केशरगंज, बयलवासले जनाएको छ।  इप्रका बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले पनि करिब ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी गराएका छन्।

ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष विश्वनाथ सहनीले आगलागीले कलवारको घरमा अकल्पनीय क्षति भएको बताउँदै विद्यार्थी, गाउँले तथा प्रहरी मिलेर बाल्टिन तथा मोटरको पानीले आगो माथि नियन्त्रण लिइएको छ। आगो नियन्त्रणमा आइसकेपछि हरिवन नगरपालिका र मलंगवा नगरपालिकाबाट दमकल आएको गुनासो स्थानीयको रहेको छ।  

आगो निभाउने क्रममा घरधनी कलवारका १४ वर्षीय छोरा रामकुमार चौधरी घाइते भएका छन्। घाइते चौधरीको प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको छ। आगलागीको घटनापछि घरधनी कलवारको अवस्था पनि राम्रो रहेको छैन। घरधनी कलवार आगलागी पछि बेलाबेलामा आफैँ बेहोस भएर लड्न थालेका छन्। कलवारलार्इ पनि उपचारको लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जनाएका छन्।

आगोले कलवारको सम्पूर्ण सम्पत्ति स्वाहा पारेको स्थानीयको भनाइ छ। आगलागी पछि घटनास्थलको निरीक्षण गर्न पुगेका ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले तत्काल आफ्नो तर्फबाट केही व्यक्तिगत राहत सहयोग प्रदान गरेका छन्। नगर प्रमुख आचार्यले नगरपालिकाको तर्फबाट पनि पीडित कलवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रकाशित: १४ मंसिर २०८० १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App